Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Gorkhe


Subject

Gorkhe

Learn Gorkhe in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
12,510

Gorkhe

Gorkhe

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :


प्रविधिज्ञ
विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति

भाइरस
कम्प्युटरको कार्यक्षमतालाई कमजोर पार्ने वा अवरुद्ध गर्ने प्रोग्राम, रोग सार्ने जीवाणु

नामोनिसान
नाम र त्यसलाई जनाउने लक्षण वा चिह्न

सङ्क्रमण
एक वस्तुबाट अर्को वस्तुमा फिंजिनु

अत्यधिक
एकदमै धेरै

सान्त्वना
आश्वासन

महाविकराल
अत्यन्त डरलाग्दो

दाह्रा
मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत

भावभङ्गी
मनका भाव ब्यक्त गर्ने शारीरिक चेष्टा वा मुद्रा

परीक्षण
रोग लागेको छ कि छैन भनी जाँच गर्ने काम

विलक्षण
सामान्यभन्दा भिन्न खालको अचम्मको

२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :


(क) मन बहलाउन वा समय काट्नका निम्ति कुनै पनि मनोरञ्जक काम कुरा वा खेलमा तल्लीन भएको
क्रिडामग्न

(ख) कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अंगालिने खास विधि वा प्रक्रिया
परीक्षण, चेकजाँच

(ग) कम्प्युटरमा कृत्रिम फोल्डर बनाउने र सक्कली फोल्डरलाई लुकाइदिने भाइरस
ब्रोन्टक भाइरस

(घ) कम्प्युटर खुल्नेबित्तिकै याममा गएर बस्ने र विन्डोज खुल्न थालेपछि पछाडि फर्काइदिने भाइरस
बुट सेक्टर भाइरस

(ङ) मेमोरीमा रहेका एक्सटेन्सन फाइललाई बिगार्ने भाइरस
मेमोरी भाइरस

 
 

३. दिइएका टुक्काको अर्थ पहिल्याउनुहोस् र वाक्यमा प्रयोग गर्नुहोस् :


इन्तु न चिन्तु हुनु : पीडाले रन्थनिनु
रामको मृत्युले उसको प्रेमिका इन्तु त चिन्तु भइन ।

दाँत गाड्नु : अति लोभ गर्नु
घनश्यामले अर्काको सम्पत्तिमा दाँत गाड्नु बाहेक अरू केही जानेको छैन ।

टाप कस्नु : भाग्नु
प्रहरीलाई देख्न साथ चोरले टाप कस्यो

ढड्रङ्ग लड्नु : ठुलो आवाजसहित पछारिनु
घरमुनिको लप्सीको बुढो रूख आज दोबाटोमा डङ्ग लड्यो ।

टाउको खानु : दिक्क बनाउनु
मेरो भाइले आजभोलि कम्प्युटर किनिदिनुहोस् भनेर मेरो टाउको खानै लाग्यो ।

सुइँकुच्चा ठोक्नु : भाग्नु
कुकुर देख्ने बित्तिकै स्यालले सुइँकुच्चा ठोकेछ ।

बाटो हेर्नु : प्रतीक्षा गर्नु
चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्‍छ।

काँध हाल्नु : समर्थन गर्नु
यस्ता स्तरै नभए का मान्छे लाई काँध हाल्नु पर्ने ओली लाई के वाध्यता छ कुन्नी ?

तातो लाग्नु : उत्सुकता जाग्नु
हाम्रो सरकार कोरोनाको बहाड आएपछि मात्र तातो लाग्छ ।

४. दिइएका उखानको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् :

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझै दशा लागि आर्थिक रूपमा टाट पल्टेका मानिसलाई सामान्य अवस्थाका मानिसले पनि हेप्ने गर्दछन् । कोरोनाका कारण यस्ता वेक्तीको जीवनमा झन् दु:ख कस्ट निम्तिएको छ । इन्टरनेट नभएकाहरूलाई अनलाइन कक्षा आकाशको फल, आँखा तरी मर भनेझैँ भैराखेको छ । नेपाली समाजमा आलु खाएर पेडाको धाक लगाउने ठालुहरू प्रशस्तै पाइन्छन् । अकबरी सुनलाई के लगाउनु र कसी भनेझै गरिबका छोराछोरी पनि अकबरी सुन झै हुन्छन् । बाल्यकाल देखि नै दु:ख कस्ट सहेर हुर्कने उनीहरुले पछि गएर सफल जीवन जिउन सक्छन् ।

बोध र अभिव्यक्ति

 

१. ‘गोर्खे’ कथा पढी यसको पहिलो र अन्तिम अनुच्छेदका घटना भन्नुहोस् ।


पहिलो अनुच्छेदका घटनाहरू :
पेशललाई विज्ञान र प्रविधिको क्षेत्रमा केही गरेर देखाऊँ भन्ने लागेको र उसले गोर्खे नामक कम्प्युटर एन्टिभाइरस बनाएको ।

अन्तिम अनुच्छेदका घटनाहरू :
पेशलले कम्प्युटर रिस्टार्ट गरी चेकजाँच गरेपछि कम्प्युटरले राम्ररी काम गर्न थालेको र उसले पेश कम्युटरलाई सतपालको जिम्मा लगाएको ।

२. ‘गोर्खे’ कथा पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :

 

(क) पेशल कसरी जीवन निर्वाह गर्छ ?

पेशल एक कम्प्युटर प्रविधिज्ञ भएकाले उसले कम्प्युटर सफ्ट्वेयर प्रोग्राम निर्माण गर्नुका साथै अरूका बिग्रेका कम्प्युटरहरू मर्मत गरी प्राप्त आम्दानीबाट जीवन निर्वाह गर्छ ।

(ख) सतपालले पेशललाई किन आफ्नो घरमा आउन अनुरोध गरेको हो ?

सतपालले आफ्नो कम्प्युटर बिग्रेकाले पेशललाई आफ्नो घरमा आउन अनुरोध गरेको हो ।

(ग) पेशलले सतपालको कम्प्युटरलाई कसरी मर्मत गयो ?

पेशलले सतपालको कम्प्युटर भाइरसले सङ्क्रमित बनाएको पत्ता लगाई आफूले निर्माण गरेको गोर्खे नामक एन्टीभाइरस सफ्वेयर प्रोग्रामको सहायताले भाइरस स्क्यानिङ गरी मर्मत गर्यो ।

(घ) कम्प्युटरको डाइलग बक्समा देखा परेको गोर्खे एन्टिभाइरस कस्तो पहिरनमा थियो ?

कम्प्युटरको डाइलग बक्समा देखा परेको गोर्खे एन्टिभाइरस टाउकामा सिङ भएको, दाहा कटकटाइरहेको, महाविकराल अनुहारका साथै रूखका बोक्राको पहिरनमा थियो ।

(ङ) ब्रोन्टक भाइरसले कम्प्युटरलाई कसरी बिगार्छ ?

ब्रोन्टक भाइरसले कम्प्युटरमा रहेको सक्कली फोल्डरलाई लुकाएर अत्यधिक मात्रामा डुब्लिकेट फाइल बनाएर ओभरलोड गरी कम्प्युटरलाई कामै गर्न नसक्ने गरी बिगार्छ ।

३. कम्प्युटरलाई सुरक्षित राख्न वा भाइरसमुक्त बनाउन त्यसमा एन्टिभाइरस इन्स्टल गर्नुपरे झैँ मानिसलाई भाइरसको सङ्क्रमण हुन नदिन र सङ्क्रमित भइसकेको अवस्थामा त्यसबाट मुक्त बनाउन के गर्नुपर्ला, छलफल गरी उत्तर दिनुहोस् ।

कम्प्युटरलाई सुरक्षित राख्न वा भाइरसमुक्त बनाउन त्यसमा एन्टिभाइरस इन्स्टल गर्नुपरे झैँ मानिसलाई भाइरसको सङ्क्रमण हुन नदिन उपयुक्त आहार विहार, स्वस्थ जीवनशैली एवं सकारात्मक चिन्तन र सत्सङ्ग गर्नुपर्छ । खानाले कीटाणुहरू बोक्न सक्छ । कुनै पनि खाना, विशेष गरी काँचो तरकारी तयार गर्दा हात, भाँडा र सतहहरू प्राय: धुनु पर्दछ । फलफूल धोएर मात्र खानु पर्दछ । खाना अघि र पछि साबुन पानीले हात धुनु पर्दछ । कीटाणुहरू सतहहरूमा बस्न सक्छन् । साबुन र पानी सग सफाई सामान्यतया पर्याप्त छ । आफ्नो बाथरूम र भान्छालाई नियमित रूपमा कीटाणुरहित गर्नुपर्छ । कीटाणुरहित हुन नसक्ने व्यक्तिगत वस्तुहरु जस्तै टूथब्रस, रेजर र तौलियाहरू एक आपसमा प्रयोग गर्नु हुदैन । यद्यपि भाइरसरूपि कुपात्रका कारण कुलत र दुर्व्यसनीमा फसी भाइरस सङ्क्रमित भएमा एन्टिभाइरसरूपि मनोचिकित्सकको परामर्श लिनुका साथै आवश्यक औषधीहरू सेवन गर्नुपर्छ । यसरी भाइरस सङ्क्रमित भइसकेको अवस्थामा पनि त्यसबाट मुक्त बन्न सकिन्छ ।

४. ‘गोर्खे’ कथा पढी दिइएका घटनालाई क्रम मिलाई लेख्नुहोस् :


(क) कम्प्युटर प्रविधिज्ञ पेशललाई केही नयाँ काम गरुँ भन्ने विचार मनमा आउनु

(ख) पेशलले गोर्खे नामक एन्टिभाइरस बनाउनु

(ग) सतपालले पेशललाई कम्प्युटर बनाइदिन अनुरोध गर्नु

(घ) पेशल कम्प्युटर मर्मत गर्न सतपालको घर जानु

(ङ) सामान्य चेकजाँचपछि पेशलले कम्प्युटर भाइरसले ग्रस्त भएको बताउनु

(च) पेशलले आफैले बनाएको एन्टिभाइरस गोर्खेको सिडी निकालेर कम्प्युटरमा इन्स्टल गर्नु

(छ) पाँच मिनेटमा इन्स्टल भएको एन्टिभाइरस गोर्खेले आफ्नो काम गर्न थाल्नु

(ज) एन्टिभाइरस गोर्खेले कम्प्युटर स्क्यान गर्दा पाँच थरीका भाइरस भेट्नु र भाइरस सङ्क्रमित केही फाइललाई मर्मत गर्नु

(झ) भाइरस सङ्क्रमणबाट मर्मत हुन नसकेका फाइल र फोल्डरलाई एन्टिभाइरस गोर्खेले प्रविधिज्ञलाई डिलिट गर्न सुझाव

(ञ) बुट सेक्टर नामको भाइरसबाट पराजित हुन खोज्दा एन्टिभाइरसले प्रविधिज्ञलाई अपडेट गर्न अनुरोध गर्नु

(ट) अपडेट पूरा भएपछि प्रविधिज्ञलाई कम्प्युटर स्क्यान गर्न अनुरोध गर्नु

(ठ) स्क्यान गरेर सबै भाइरसलाई हटाइसकेपछि गुड लक’ भन्ने सङ्केतमा बुढीऔँला देखाउँदै एन्टिभाइरस बिदा हुनु

(ड) मर्मतपछि कम्प्युटरले सही किसिमले काम गर्न थाल्नु

 
 

५. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

(क) ‘भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचायो’ भन्नुको तात्पर्य के हो ?

यस कथाका रचयिता बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुमा भावनाका बुट्टा भरेर रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । कम्प्युटर प्रविधिज्ञ पेशलद्वारा निर्मित एन्टिभाइरसले भाइरसलाई आफ्नो नियन्त्रणमा राख्न तान्त्रिक मन्त्रसहित खरानीलाई फुकेर भाइरस भाग्न नसकोस् भनी खरानीको नियन्त्रण रेखा कोरेर भाइरसलाई खरानीको घेराभित्र थेचारेर आफ्नो नियन्त्रणमा लिएको छ । कुनै पनि वस्तु बलिसकेपछि बाँकी रहने धुलो वा खरानीमा धार्मिक, आयुर्वेदिक, जैविक एवं तान्त्रिक दृष्टिकोणले खराब तत्व हुन्छ । त्यसैले यहाँ ‘भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचायो’ भन्नुको तात्पर्य भाइरसलाई धार्मिक एवं तान्त्रिक शक्तिसहितको भस्मीभूतमा वशीभूत बनाउन खोज्नु भन्ने हो ।

(ख) गोर्खेले कम्प्युटरलाई भाइरस मुक्त बनाउनका लागि गरेका क्रियाकलाप के के हुन् ?

यस ‘गोर्खे’ कथाका कथाकार बखतबहादुर थापाले यस कथामा कम्प्युटरको कार्यक्षमतालाई कमजोर पार्ने वा अवरुद्ध गर्ने प्रोग्राम कम्प्युटर भाइरस र भाइरस स्क्यानिङ गर्ने गोर्खे नामक एन्टिभाइरसको कम्प्युटर स्क्यानसम्बन्धी ज्ञानवर्द्धक विषयवस्तुलाई रोचक प्रस्तुति गरेका छन् । गोर्खेले कम्प्युटरलाई भाइरसमुक्त बनाउन विभिन्न क्रियाकलाप गरेको छ । गोर्खेले हार्डडिस्कका सबै फाइलहरू झिकेर पत्रिकामा खन्याएपछि फाइलहरू हेर्दै हार्डडिस्कमा राख्ने क्रममा भाइरस भेटिएपछि खरानी फुकेर घेरा हाली भाइरसलाई त्यहीं थेचार्छ । यसरी गोर्खेले कम्प्युटरलाई भाइरस मुक्त बनाउछ ।

६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्का माथि विजय प्राप्त गर्न के के गरेका छन् ?

यस ‘गोर्खे’ कथाका कथाकार बखतबहादुर थापाले यस कथामा कम्प्युटरको कार्यक्षमतालाई कमजोर पार्ने वा अवरुद्ध गर्ने प्रोग्राम कम्प्युटर भाइरस र भाइरस स्क्यानिङ गर्ने गोर्खे नामक एन्टिभाइरसको कम्प्युटर स्क्यानसम्बन्धी ज्ञानवर्द्धक विषयवस्तुलाई रोचक प्रस्तुति गरेका छन् । सतपालको भाइरसग्रसित कम्प्युटर मर्मत गर्न गएको पेशलले एन्टिभाइरस गोर्खेको सिडी सतपालको कम्प्युटरमा इन्स्टल गरी कम्प्युटर स्क्यान गर्छ । यस क्रममा एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त गर्न घनिभूत सङ्घर्ष गरेका छन् । एन्टिभाइरस गोर्खे जुरुक्क उठेर भाइरसको मुखमा खुट्टोले थिच्न खोज्दा भाइरसले खुट्टै टोकिदियो । दुखेर इन्तु न चिन्तु भएपछि गोर्खेले दाहा किटेर कुहिनाले भाइरसको टाउकामा हान्यो । टाउकोमा हिर्काएपछि भने भाइरस मन्यो । यो देखेर अर्को भाइरस त्यसै डराएर बोल्न थाल्यो । यसरी एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त गर्न आफ्ना भएभरका बल प्रयोग गरेका छन्, जुन सङ्घर्षमा एन्टिभाइरस गोर्खेले नै विजय प्राप्त गरेको छ ।

(ख) अन्य भाइरस नामको तेस्रो भाइरसले गर्ने गतिविधि र कम्प्युटरलाई पुयाउनें असर के के हुन् ?

यस कथाका रचयिता बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुमा भावनाका बुट्टा भरेर रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । यस कथामा विभिन्न प्रकारका भाइरसहरूको चर्चा गरिएको छ । अन्य भाइरस कम्प्युटरको टेम्पोररी फोल्डरमा गएर बस्ने गर्दछ । टेम्पोररी फोल्डरमा भएका फाइलहरुले खुलिरहेको प्रोग्राम चल्नमा मद्दत गरेका हुन्छन् । यस भाइरसले टेम्पोररी फोल्डरमा बसेर फाइललाई न्याम, सी.पी.यु., हार्डडिस्कमा दौडाएर चलिरहेको फाइल अचानक बन्द गराइदिने, पेज तलमाथि बनाइदिने र कम्प्युटर अनावश्यक रुपमा ब्यस्त भइराख्ने जस्ता असरहरू देखा पर्दछन् ।

७. कथाकारले कम्प्युटर स्क्यानसम्बन्धी विषयवस्तुको प्रस्तुतिका लागि अवलम्बन गरेको कथाशैली तपाईंलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस् ।

यस कथाका रचयिता सामाजिक यथार्थवादी प्रगतिवादी एवं समसामयिक कथाकार बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुलाई समेटी रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । थापाले आफ्ना कथामा ग्रामीण तथा सहरी सामाजिक एवं पारिवारिक वातावरण र परिवेशमा समकालीन युगचेतना र युगीन यथार्थको अभिव्यक्ति दिनुका साथै न्याय र समतामूलक समाज निर्माणको चाहना राखेको पाइन्छ । यस कथामा कथाकारले सिर्जनशील सोचाइ भएको कथाको प्रमुख पात्र पेशलले आफूले निर्माण गरेको गोर्खे नामक कम्प्युटर एन्टिभाइरसद्वारा सतपालको भाइरस सङ्क्रमित कम्प्युटरलाई भाइरसमुक्त बनाउन गरेको प्रयासलाई रोचक शैलीमा चित्रण गरेका छन् ।

कथाकारले कम्प्युटर स्क्यानसम्बन्धी विषयवस्तुको प्रस्तुतिका लागि अवलम्बन गरेको कथाशैली रैखिक शैलीमा सरल, सरस अनि सहज भाषाशैलीमा तृतीय पुरूष दृष्टिबिन्दुलाई अवलम्बन गरिएको रोचक कथाशैली मलाई अत्यन्तै राम्रो साथै ज्ञानबर्द्धक लाग्यो । कथामा कथाकारले थोरै पात्रको संयोजन गरेका छन् । त्यस्तै कयालाई अनावश्यक लामो पनि बनाइएको छैन । भाइरस स्क्यान गरेर हटाउन प्रयोग गरिने एन्टिभाइरसका गतिविधिलाई मानवीय गतिविधि जस्तै देखाएर कथाकारले कथालाई रोचक बनाएका छन् । भाइरसहरूलाई मानवले जस्तै बोल्न लगाएर गरिएको मानवीकरण उत्कृष्ट छ । कम्प्युटर इन्जिनियर पेशलले बनाएको गोर्खे नामक एन्टिभाइरसको प्रयोग गरी सतपालको भाइरसग्रस्त कम्प्युटर स्क्यान गर्ने क्रममा एन्टिभाइरस इन्स्टल गरेपछि टाउकोमा सिङ भएको, आङमा रुखका बोक्रा लगाएको दाहा कटकटाएको महाविकराल अनुहार भएको मान्छेको स्वरूपको भनी एन्टिभाइरसको अनौठो देह र विचित्र कथाकार थापाले मानवीकरण गरेका छन् । समग्रमा कथारोचक त छदै छ यसका साथै प्राविधिक विषयवस्तुका कारण कथा शिक्षाप्रद पनि उत्तिकै छ । कथाले प्रभावकारी शैलीमा कम्प्युटरमा देखिने भाइरस, त्यसको प्रकार, असर र त्यसबाट कम्प्युटरलाई बचाउने उपायको प्रस्तुति दिन सफल भएको छ । अतः थापाको रोचक कथाशैली मलाई अत्यन्तै राम्रो लाग्यो ।

 
 

८. कथामा पेशल र सतपालमध्ये कसको मुख्य भूमिका रहेको छ, तर्कसहित आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

यस कथाका रचयिता सामाजिक यथार्थवादी प्रगतिवादी एवं समसामयिक कथाकार बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुलाई समेटी रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । यस कथामा कथाकारले सिर्जनशील सोचाइ भएको कथाको प्रमुख पात्र पेशलले आफूले निर्माण गरेको गोर्खे नामक कम्प्युटर एन्टिभाइरसद्वारा सतपालको भाइरस सङ्क्रमित कम्प्युटरलाई भाइरसमुक्त बनाउन गरेको प्रयासलाई रोचक शैलीमा चित्रण गरेका छन् ।

यस कथाको प्रमुख पात्र पेशल कम्प्युटर प्रविधिज्ञ तथा कम्प्युटर इन्जिनियर हो । केही गरेर देखाऊ भन्ने सिर्जनशील स्वभाव भएकाले नै उसले गोर्खे नामक एन्टिभाइरस बनाएको छ । सतपालको भाइरसले ग्रसित कम्प्युटर मर्मत गर्न गएको पेशलले आफैले बनाएको एन्टिभाइरस गोर्खेको सिडी निकालेर इन्स्टल गरी कम्प्युटर स्क्यान गर्छ । हार्डडिस्कका सबै फाइलहरू स्क्यान गरी केलाउने क्रममा पाँच थरीका भाइरस भेटी भाइरस सङ्क्रमित केही फाइलहरू मर्मत गर्दछ अनि मर्मत हुन नसकेका फाइल र फोल्डरलाई एन्टिभाइरस गोर्खेले प्रविधिज्ञलाई डिलिट गर्न सुझाव दिन्छ । कथाकारले कम्प्युटर प्रविधिज्ञ पेशलका माध्यमबाट भाइरस भनेको के हो ? यो कति प्रकारको हुन्छ ? विभिन्न भाइरसहरूले कम्प्युटरमा के कस्तो असर पार्दछन् ? कम्प्युटरलाई भाइरसमुक्त बनाउन एन्टिभाइरसको कस्तो भूमिका रहन्छ ? भन्ने जस्ता प्राविधिक कुराहरुको ज्ञान कथामार्फत रोचक शैलीमा दिन खोजिएको छ ।

९. समीक्षात्मक उत्तर लेख्नुहोस् :

 

(क) ‘मानिस सिर्जनशील प्राणी हो । यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस् :

प्राविधिक विषयलाई साहित्यमा कलात्मक स्वरूप दिई भावनाले रङ्ग्याएर उत्कृष्ट कथा रचना गर्ने कथाकार यस कथाका रचयिता सामाजिक यथार्थवादी प्रगतिवादी एवं समसामयिक कथाकार बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुलाई समेटी रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । यस कथामा कम्प्युटर स्क्यानसम्बन्धी विषयवस्तुलाई प्रस्तुतिको क्रममा भावात्मक एवं काल्पनिक बुट्टा भरी आख्यानीकरण गर्दै रोचक शैलीलाई अङ्गालिएको पाइन्छ । कथाकारले पेशलको सिर्जनशील कार्यका आधारमा मानिस सिर्जनशील प्राणी हो भन्ने भनाइलाई कथामा पुष्टि गरेका छन् ।

मानिस एक सिर्जनशील प्राणी हो । उसले आफ्नो प्रतिभालाई प्रस्फुटन गरी रचनात्मक कार्य गरी ख्याति कमाउन चाहन्छ । साथै आफ्नो ज्ञान, बुद्धि र विवेकको प्रयोग गरेर पनि केही नवीनतम सिर्जनात्मक कार्य गरी आफ्नो जीवनलाई सार्थक पार्न चाहन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गरी मानवीय जीवनलाई सुख सुविधायुक्त बनाउन चाहन्छ । मानव समाजलाई ठोस योगदान दिएर आफ्नो नाम राख्न चाहन्छ । यस कथामा पनि सिर्जनशील स्वभाव भएको पेशल नामक पत्र छन् । उ एक प्रविधिज्ञ तथा कम्प्युटर इन्जिनियर हो । उसले केही गरेर देखाऊँ भन्ने उद्देश्यले गोर्खे नामक एन्टिभाइरस बनाएको छ । सतपालको भाइरसग्रसित कम्प्युटर मर्मतको सन्दर्भमा पेशलले आफूले बनाएको गोर्खे नामक एन्टिभाइरसद्वारा कम्प्युटर स्क्यानिङ गर्छ । हार्डडिस्कका सबै फाइलहरू स्क्यान गरी केलाउने क्रममा पाँच थरीका भाइरस भेटी भाइरस सङ्क्रमित केही फाइलहरू मर्मत गर्दछ अनि मर्मत हुन नसकेका फाइल र फोल्डरलाई एन्टिभाइरस गोर्खेले प्रविधिज्ञलाई डिलिट गर्न सुझाव दिन्छ । यस क्रममा पेशलले बनाएको एन्टिभाइरसले कम्प्युटरलाई भाइरसमुक्त बनाउन निकै सङ्घर्ष गरेको छ । यसरी कथाकार बखतबहादुर थापाले पेशल पात्रका माध्यमबाट प्रविधिसम्बन्धी विषयवस्तुका माध्यमबाट मानिसलाई सिर्जनशील प्राणी रूपमा पुष्टि गरेका छन् ।

(ख) कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि प्रविधिज्ञ पेशल र एन्टिभाइरस गोर्खेले गरेका काम के के हुन् ?

यस कथाका रचयिता सामाजिक यथार्थवादी प्रगतिवादी एवं समसामयिक कथाकार बखतबहादुर थापा, नेपाली साहित्यको आख्यान विधामा कम्प्युटर एवं प्राविधिक क्षेत्रका विषयवस्तुलाई समेटी रमाइला ज्ञानवर्द्धक कथाहरू सिर्जना गर्ने कथाकार हुन् । यस कथामा कथाकारले सिर्जनशील सोचाइ भएको कथाको प्रमुख पात्र पेशलले आफूले निर्माण गरेको गोर्खे नामक कम्प्युटर एन्टिभाइरसद्वारा सतपालको भाइरस सङ्क्रमित कम्प्युटरलाई भाइरसमुक्त बनाउन गरेको प्रयासलाई रोचक शैलीमा चित्रण गरेका छन् ।

यस कथाको प्रमुख पात्र पेशल कम्प्युटर प्रविधिज्ञ तथा कम्प्युटर इन्जिनियर हो । केही गरेर देखाऊ भन्ने सिर्जनशील स्वभाव भएकाले नै उसले गोर्खे नामक एन्टिभाइरस बनाएको छ । सतपालको भाइरसले ग्रसित कम्प्युटर मर्मत गर्न गएको पेशलले आफैले बनाएको एन्टिभाइरस गोर्खेको सिडी निकालेर इन्स्टल गरी कम्प्युटर स्क्यान गर्छ । हार्डडिस्कका सबै फाइलहरू स्क्यान गरी केलाउने क्रममा पाँच थरीका भाइरस भेटी भाइरस सङ्क्रमित केही फाइलहरू मर्मत गर्दछ अनि मर्मत हुन नसकेका फाइल र फोल्डरलाई एन्टिभाइरस गोर्खेले प्रविधिज्ञलाई डिलिट गर्न सुझाव दिन्छ । यस क्रममा एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त गर्न घनिभूत सङ्घर्ष गरेका छन् । एन्टिभाइरस गोर्खे जुरुक्क उठेर भाइरसको मुखमा खुट्टोले थिच्न खोज्दा भाइरसले खुट्टै टोकिदियो । दुखेर इन्तु न चिन्तु भएपछि गोर्खेले दाहा किटेर कुहिनाले भाइरसको टाउकामा हान्यो । टाउकोमा हिर्काएपछि भने भाइरस मन्यो । यो देखेर अर्को भाइरस त्यसै डराएर बोल्न थाल्यो । यसरी एन्टिभाइरस गोर्खे र भाइरसले एकअर्कामाथि विजय प्राप्त गर्न आफ्ना भएभरका बल प्रयोग गरेका छन् । अतः कम्प्युटरलाई भाइरसमुक्त बनाउनका लागि प्रविधिज्ञ पेशल र एन्टिभाइरस गोर्खेले सशक्त रूपमा धेरै कामहरू गरेका छन् ।

१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

(क) कथा भनेको के हो ?

कथा भनेको जीवनको एउटा महत्त्वपूर्ण अंशलाई समेट्ने विशिष्ट घटनाको सिलसिलेवार प्रस्तुति हो ।

(ख) कथामा कति किसिमका पात्र हुन्छन् ।

कथामा मानवीय र मानवेत्तर गरी दुई किसिमका पात्रहरू हुन्छन् ।

(ग) प्रथम पुरुष दृष्टिबिन्दु भएका कथामा कस्ता पदको प्रयोग गरिएको हुन्छ ?

प्रथम पुरुष दृष्टिबिन्दु भएका कथामा ‘म’ र ‘हामी’ जस्ता पदको प्रयोग गरिएको हुन्छ ।

(घ) कथाका तत्त्व के के हुन् ?

कथाका तत्त्व कथानक पात्र, परिवेश, दृष्टिबिन्दु भाषाशैली र सारवस्तु हुन् ।

११. दिइएको अनुच्छेद पढी चारओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस् :


बुँदाहरु:
– जीवनमा सफल हुन असफलतालाई पनि स्वीकार गर्नुपर्ने,

– निरन्तरको साधना र सुझबुझको विकास असफलताबाटै हुनु,

– सेठ गोडिन सयौं पुस्तकहरूको असफलता पछि अठार पटक विश्वकै सर्वोत्कृष्ट लेखक बननेका,

– थोमस एल्भा एडिसनले हजारौँ पटक असफल हुँदा पनि हार नमानि विद्युतीय चिमको आविष्कार गरेका ।

सारांश:

असफलता नै सफलताको प्रेरक

जीवनमा सफल हुनका लागि असफलतालाई पनि स्वीकार गर्न सक्नुपर्छ । सफल जीवनका लागि चाहिने निरन्तरको साधना र सुझबुझको विकास असफलताबाट नै हुन्छ । सेठ गोडिन, सयौं पुस्तकहरू प्रकाशन गर्दा पनि असफल भएपनि उनको निरन्तर साधना र सुझबुझसहित क्रियाशील कारण अठार पटकसम्म विश्वकै सर्वोत्कृष्ट लेखक बन्न सफल भएका थिए । हजारौँ पटक असफल हुँदा पनि हार नमानेका महान् वैज्ञानिक थोमस एल्भा एडिसन विद्युतीय चिमको आविष्कार गर्न सफल भएका थिए । तसर्थ असफलता नै सफलताको प्रेरक भएकाले कहिल्यै हिम्मत हार्नु हुँदैन ।

अनुच्छेदमा भएको शब्दसङ्ख्या : २२८
एक तृतीयांशमा हुनु पर्ने शब्दसङ्ख्या : ७६
एक तृतीयांशमा भएको शब्दसङ्ख्या : ७५

 
 
 

व्याकरण

 

१. दिइएको अनुच्छेदमा प्रयुक्त प्रत्येक कारकका एक एकओटा उदाहरण टिप्नुहोस् र ती कारकलाई सङ्केत गर्ने विभक्ति पनि टिप्नुहोस् :

उदाहरण कारक विभक्ति
सबैले सबै – कर्ता ले – प्रथमा
सदस्यलाई सदस्य – कर्म लाई – द्वितीया
हातले हात – करण ले – तृतीया
अरुलाई अरू – सम्प्रदान लाई – चतुर्थी
रूखबाट रूख – अपादान बाट – पञ्चमी
कापीमा कापी – अधिकरण मा – सप्तमी

 

२. तल तालिकामा दिइएका वाक्यमा कारकका सरल र तिर्यक् रूप उदाहरणका रुपमा गाढा अक्षरमा दिइँएका छन् । मूल पाठबाट कारकका सरल र तिर्यक् रुपका अन्य पाँच पाँचओटा उदाहरण टिप्नुहोस् :

कारकका सरल रूप कारकका तिर्यक रूप
पेशल कम्प्युटर प्रविधिज्ञ हो । उसलाई केही गरेर देखाऊँ भन्ने लाग्यो ।
भाइरस भनेको सानो प्रोग्राम हो । यसले कम्प्युटर प्रयोगकर्तालाई सबैभन्दा बढी दुःख दिन्छ ।
एक दिन सतपाल आएर भन्यो, “पेशल भाइ ! मेरो कम्प्युटर बनाइदिनुपयो ।” सतपालले पेशललाई आउनुहोस् भन्ने सङ्केत गरे ।
ती कम्प्युटर भएको कोठामा पुगे । ती कम्प्युटर भएको कोठामा पुगे ।
पेशलले कम्प्युटर एन्टिभाइरस सिडी झिके । उसले काँधको झोला निकालेर भुइँमा राख्यो ।
एउटा डाइलग बक्स खुल्यो । अर्कोतिरबाट कम्प्युटर तान्यो र त्यसबाट हार्डडिस्क निकाल्यो ।
 
 

४. पाठको पहिलो अनुच्छेद पढी कर्ता, कर्म र सम्प्रदान कारक जनाउने पद टिप्नुहोस् ।


कर्ता कारक : पेशल, उस, यस

कर्म कारक : एन्टिभाइरस, प्रयोगकर्ता

सम्प्रदान कारक : त्यसका निम्ति

५. उपयुक्त विभक्तिको प्रयोग गरी खाली ठाउँ भर्नुहोस् :

हर्कमान बिहान पाँच बजे उठ्यो । उसले बहिनीलाई पनि उठायो । उसले आफ्नै हातले चिया पकाएर बहिनीलाई दियो । बहिनीले पनि दाइले पकाएको चिया मिठो मानेर खाई । हर्कमानले झोलाबाट किताब झिक्यो । ऊ आफूले गृहकार्य गर्न थाल्यो । उसले बहिनीलाई पनि गृहकार्य गर्न भन्यो । उसले बहिनीलाई नआएको कुरा सिकाइदियो । बहिनीले पनि दाइले सिकाइदिएपछि आफ्नो सबै गृहकार्य पूरा गरी । यसपछि भाइबहिनी दुवै जना भान्सामा गए । उनीहरूले आमालाई काममा सघाए । उनीहरूले सघाएपछि आमा पनि धेरै खुसी हुनुभयो । आमाले दुवै जनालाई थालमा खाना पस्किदिनुभयो । सुकुलमाथि बसी दुवै जनाले मिठो मानेर खाना खाए । दुवै जनाले झोलामा किताब र कापी राखे । आमाको अनुमति लिएर उनीहरू घरबाट विद्यालय प्रस्थान गरे ।

७. दिइएको अनुच्छेद शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

समाज विकासका क्रममा मानिसले प्रगति त गर्यो तर ऊ शान्त भएर बस्न सकेको चाहिँ छैन । समाजमा सामूहिक भावनाको साटो व्यक्तिवादी सोच हाबी भैरहेको छ । कवि लेखनाथले भने जस्तै ‘म खाऊँ, मै लाऊँ, सुखसयल वा मोज म गरुँ, म बाचूँ, मै नाचूँ, अरू सब मरुन् दुर्बलहरू’ भन्ने विचारले समाज ग्रस्त छ । यो मानवले लिने इच्छा होइन । यस्तो नकारात्मक सोचलाई परित्याग गरेर सकारात्मक सोचका साथ आफ्नो कर्तव्य पालन गर्ने हो भने मानिसको प्रगति हुनुको साथै उसले जीवनमा सुखशान्ति पनि प्राप्त गर्छ ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Gorkhe content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Gorkhe.

Ready to Master Gorkhe?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.