Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

घरझगडा


Subject

घरझगडा

Learn घरझगडा in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
5,288

घरझगडा

घरझगडा

अभ्यास

शब्दभण्डार

१. शब्दकोश प्रयोग गरी दइएका शब्दको अर्थ लेख्नुहोस

पाताल  - पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबैभन्दा तल्लो लोक,
       पुराणअनुसार सात लोकमध्ये एक लोक, नागलोक

टीका - निधारमा लगाइने चन्दन, कुनै पद, पदावली, वाक्य,
     अनुच्छेद र ग्रन्थहरूको अर्थ स्पष्ट गरी लेखिएको व्याख्या, अर्थ

अतीत - बितेको समय बितेको समय, उहिलेको काल

किल्ला - प्रतिरक्षाका लागि चारैतिरबाट घेरिएको सुरक्षित ठाउँ, गढी

घनघोर - भयङ्कर, ज्यादै घना, डरलाग्दो

शपथ - कुनै काम हो होइन भनी गर्ने वचनबद्धता, किरिया, प्रतिज्ञा

अवतार - जन्म लिने काम, शरीर धारण गर्ने काम

राँको - आगोको मुस्लो

हालत - अवस्था, हबिगत


२. ‘घरझगडा’ कथामा प्रयोग भएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

कानमा तेल हाल्नु (चुपचाप बस्नु) -> आफुलाई थाह नभयेको कुरामा कानमा तेल हालेर बस्नु नै राम्रो हो |

आँखामा बिउनु (नराम्रो देख्नु) - धेरै बेरसम्म एउटै कुरालाई हेरिरहँदा आँखा बिझउनु थाल्छ ।

कम्मर कस्नु  (आँट गर्नु ) – यो पटक गाऊमा एउटा विधालय खोल्न सबैले कम्मर कसेका छन् ।

आगो खेलाउनु - नेपाली सेनासँग जिस्कनु भनेको आगो खेलाउनु सरह हो ।

वाल्ल पर्नु - छोरो दिनहुँ विद्यालय जान्छ भनेर मक्ख परेका दोर्जेका बुबा छोरो पाँच दिनदेखि विद्यालय नगएको भन्ने शिक्षकको कुरा सुनेर वाल्ल परे ।

तेल घस्नु (चिप्लो घस्नु ) – आफनो काम पर्यो कि राज तेल घस्न थाल्छ ।

भासमा फस्नु - आफ्नो खराब बानी छ भने मानिस अवनतिको भासमा फस्दै जान्छ । उन्नति देख्न नसकेपछि आफ्नैले आफ्नालाई भासमा फसाउँछन् ।

चोचोमोचो मिलाउनु - आफ्नो अनुकूल हेरेर चोचोमोचो मिलाउने मान्छे स्वार्थी हो ।


३. दिइएका उखान र तिनको अर्थ पहिचान गरी पाँचओटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस् :

अकबरी सुनलाई कसी लाउनु पर्दैन :
अकबरी सुनलाई कसी लाउनु पर्दैन भन्ने थाहा नहुनेले मात्र नेपालीको वीरता जाँच्न खोज्छ ।

इन्द्रका अगाडि स्वर्गको बयान :
त्रिभुवन विश्वविद्यालयका नेपाली प्राध्यापकका अगाडि कक्षा १० मा पढ्ने विद्यार्थीले नेपाली कथाका बारेमा बखान छाँट्नु भनेको इन्द्रका अगाडि स्वर्गको बयान जस्तै त हो नि ।

जसले मह काढ्छ उसले हात चाट्छ :
जसले मह काढ्छ उसले हात चाट्छ भनेझैँ रियान्सले सानैदेखि पढाइमा मिहिनेत गरेकाले अहिले अधिकृत भयो ।

नाच्न नजान्ने आँगन टेढो :
ऊ हलो जोत्न जान्दैन अनि गोरुलाई पिट्छ । यो त नाच्न नजान्ने आँगन टेढो भनेझैँ भएन र!

हुने बिरुवाको चिल्लो पात :
सिर्जना पढाइमा अब्बल भए जस्तै घरको काममा पनि सिपालु छिन् । यही त हो नि हुने बिरुवाको चिल्लो पात भनेको ।


४. दिइएको अनुच्छेबाट अनुकरणात्मक शब्द पहिचान गरी लेख्नुहोस् ।

विश्वास आँगनको छेउमा बसेर लटरम्म फलेका सुन्तला हेर्दै थिए । एउटा यात्रुवाहक यस घरनजिकै आएर घ्याच्च रोकियो । उनी हस्याङफस्याङ गर्दै त्यहाँ पुगे । चिटिक्क परेर आएका साथीलाई देखेर उनी छक्क परे । साथीले विदेशलाई चटक्क छोडेर स्वदेश आएकामा उनी गद्गद भए ।
उत्तर : लटरम्म, घ्याच्च, हस्याङफस्याङ, छक्क, चटक्क, गद्गद् ।


५. कोशको प्रयोग गरी दिइएका शब्दलाई क्रम मिलाएर लेख्नुहोस् :

सिर्जना, आँसु, त्याग, क्षमा, ज्वाला, गुलाफ, थुनुवा, अंश, कक्ष, ज्ञानी, त्रिलोचन, ऋण

उत्तर : अंश, आँसु, ऋण, कक्ष, क्षमा, गुलाफ, ज्वाला, ज्ञानी, त्याग, त्रिलोचन, थुनुवा, सिर्जना


बोध र अभिव्यक्ति

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) 'घरझगडा' कथा कति अनुच्छेदमा संरचित छ ? उत्तर : 'घरझगडा' कथा १० अनुच्छेदमा संरचित छ ।
(ख) कथाको प्रारम्भ कुन घटनाबाट भएको छ ?
उत्तर : कथाको प्रारम्भ राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ ।
(ग) कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ ? 
उत्तर : कथामा बहादुर शाह र राजेन्द्रलक्ष्मीको प्रत्यक्ष भूमिका देखिएको छ ।
(घ) बहादुर शाह वाल्ल परेको घटना कुन अनुच्छेदमा छ ?
उत्तर : बहादुर शाह वाल्ल परेको घटना चौथो अनुच्छेदमा छ ।


४. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

(क) माथिको कथांश कुन सन्दर्भमा आएको हो ?
उत्तर : माथिको कथांश राजेन्द्रलक्ष्मीको बहादुर शाहप्रतिको धारणा बताउने सन्दर्भमा आएको हो ।
(ख) म पात्र उनका आँखामा बिझाउनुको कारण के हो ?
उत्तर : भारदारहरुको कुराका आधारमा एक अर्कालाई शङ्का गरेको कारण म पात्र उनका आँखामा बिझाएको बुझ्न सकिन्छ ।
(ग) अमृतको कणमा विष देख्नुको तात्पर्य के हो ?
उत्तर : अमृतको कणमा विष देख्नुको तात्पर्य सकारात्मक व्यक्ति र अवस्थालाई पनि नकारात्मक ठान्नु हो ।
(घ) कथांशमा घात प्रतिघात किन चल्दै गयो ?
उत्तर : एक अर्काप्रतिको अविश्वासका कारण कथांशमा घात प्रतिघात चल्दै गयो ।


५. कथाअनुसार दिइएका घटनालाई कम मिलाएर लेख्नुहोस् :

उत्तर:
(घ) राजेन्द्रलक्ष्मी नजरबन्दबाट छुट्नु
(झ) नाग बनेर आए पनि यिनीसँग म डराउन्न भन्नु
(च) हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ भन्नु (छ) चौबिसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खवर सुन्नु
(ञ) आपसी फुट नै जातिको पतनकी चिह्न हो भन्नु
(ङ) बहादुर शाहले कुरौटेले वैमनस्य बढाइदिएको बताउनु
(ख) बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भने झैँ उनका आँखामा म बिझाउन थाल्नु 
(ज) शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन् भन्नु 
(क) राजेन्द्रलक्ष्मीले बहादुर शाहको सकारात्मक भूमिकाको वर्णन गर्नु
(ग) गोरखामा हमला गर्न लागेको खबर आउनु


६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) 'घरभगडा' कथाका पात्र राजेन्द्रलक्ष्मी र बहादुर शाहका चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।
उत्तर :
राजेन्द्रलक्ष्मी र बहादुर शाह दुवैले प्रतापसिंह शाहको मृत्युपछि नायब भएर शासन चलाए ।
दरबारिया षड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन् । कथाका आधारमा यिनीहरुको नियतमा खोट भने भेटिन्न तर दुवै शङ्कालु भने देखिएका छन् । स्वविवेकको प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए । भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो । यसरी हेर्दा उनीहरु दुबै शङ्कालु र सत्ताको लोभ रहेका पात्र देखिन्छन् ।

(ख) कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक परिवेश वर्णन गर्नुहोस् ।
उत्तर :
कथामा वर्णन गरिए अनुसार त्यतिबेला नेपालको एकीकरण तुहाउन विदेशीले अनेकौं षड्यन्त्र गरिरहेका थिए । दरबारभित्रै पनि अनेकौं षड्यन्त्र रचियो । भारदारहरु कुरौटे थिए । सानोतिनो मनमुटावलाई अतिरञ्जित गरी तिलको पहाड बनाइन्थ्यो । दरबारका कुरौटे, भरौटे भारदारले नेतृत्वबिचमा फाटो ल्याउने अनेकौं षड्यन्त्र गरिरहेका हुन्थे । यस्तो दरबारिया खटपटले एकीकरण अभियानमा पनि धक्का लागेको थियो । सत्तामा पुग्न अनेकौं जालझेल हुन्थे । यसरी विकृत राजनीतिक परिवेशको चित्रण कथामा पाइन्छ ।

(ग) बहादुर शाह बेतिया पुगेपछि राजेन्द्रलक्ष्मी किन आत्तिइन् ?
उत्तर :
बहादुर शाह बेतिया पुगेको खबरबाट बहादुर शाह कुनै जाल रच्नलाई उनी गएका हुन् कि भन्ने पनि लाग्यो । अर्कोतिर उनलाई आफ्नो हातको ढाल तरबार मैले गुमाए जस्तो महसुस भयो । बहादुर शाहको सदुपयोग गर्न नजान्नु ठुलो भुल महसुस भयो । भारदारहरूले रचेको षड्यन्त्रको भेउ पाउन नसक्दा निःसहाय महसुस भयो । आफू कमजोर हुँदा अन्य राज्यहरुले पनि आक्रमण गर्ने शङ्का पनि भयो । यसरी केही पश्चाताप र केही भारदारहरुबाट हुन सक्ने षड्यन्त्र सम्झेर राजेन्द्रलक्ष्मी आत्तिइन् ।

(घ) कथाको मुख्य सन्देश लेख्नुहोस् ।
उत्तर :
राज्य चलाउने काम सजिलो होइन । राज्य चलाउने व्यक्ति बाह्य र आन्तरिक चलखेल र षड्यन्त्रप्रति हरदम चनाखो बन्नुपर्छ । राज्यमा नेतृत्वकर्ताहरुका बिच आपसी सहमति र समझदारी भयो भने राज्य बलियो हुन्छ । आपसी बैमनस्य र कलहले राज्यमा अस्थिरता सिर्जना गर्छ । यस्तो अवस्थामा शत्रुहरुले पनि फाइदा उठाउन खोज्छन् । जसरी राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिचमा आपसी समझदारी हुन नसक्दा एकीकरणको अभियानमा पनि धक्का लाग्यो । त्यसैले सबैभन्दा पहिले घर बलियो बनाउनुपर्छ तब मात्र शत्रुलाई पराजित गर्न सकिन्छ भन्ने सन्देश कथाले दिएको छ ।


७. कथाको 'राजेन्द्रलक्ष्मीले गर्नुहोस्' कथांशबाट चारओटा प्रश्न बनाई तिनको उत्तर साथीसँग छलफल गर्नुहोस् ।

उत्तर :
(क) राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई डाकेर के भनिन् ? 
(ख) 'सुतेको सिंहको टाउकामा टेक्नु' को तात्पर्य के हो ? 
(ग) कम्मर कसेर लागे के के गर्न सकिन्छ ?
(घ) कथांशका अनुसार महाकाली, महालक्ष्मी, महासरस्वती किन पुजिएका हुन् ?

(राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई डाकेर भनिन्, "क्या हो राजकुमार, मिलेर काम गर्छु भनी शपथ गरेको कहाँ गयो ? नायवीमा राल काढेर सोझी भाउज्यूलाई छक्याउनु के राजनीति हो । शाही कुलमा ऐरेल बन्नुहुन्छ भने तितो अनुभव आफैँ भोग्नुहोला । सुतेकी सिंहको टाउकामा टेक्नु के बुद्धिमानी हो । कमलपित्त भएको दृष्टिले आइमाई भनेर तपाईंले हेप्नुभएको होला तर यो तपाईंको भुल हो । डोरीले हात्तीलाई हलचल गर्न दिँदैन भन्ने तपाईंलाई थाहा छैन ? कम्मर कस्यौं भने छहरा, पहरा, ढाल, तरवार अनि हिउँ र ज्वाला पनि बन्न सक्छौं । आँधी भएर उड़ाउन सक्छौं अनि व्याधि भएर पछार्न पनि, नागिनी बनेर पातालमा पस्न सक्छौं अनि गरुडनी भएर आकाशमा उड्न पनि । शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन् । खेलौना सम्झी आगो खेलाउनेको कुन गति हुन्छ आफैं विचार गर्नुहोस् । " )


८. राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिच कुराकानी भइरहेको समयमा तपाईं पुग्नुभएको भए के सल्लाह दिनुहुन्थ्यो, कारणसहित वर्णन गर्नुहोस् ।

उत्तर :
राजेन्द्रलक्ष्मी र बहादुर शाह 'घरझगडा' ऐतिहासिक कथाका मुख्य पात्रहरु हुन् । नाताले भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो । यही कारणले एकीकरणको अभियानमा पनि धक्का लागेको थियो भने बैरीहरुले पनि चलखेल गर्ने अवसर पाएका थिए । एउटा सामान्य परिवारका नेतृत्वकर्तामा मनमुटाब हुँदा घरमा त भाँडभैलो हुन्छ भने राज्यका नेतृत्वमा हुने यस्तो मनमुटावले झनै ठुला समस्या सिर्जना गर्छ । एकतामा नै ठुलो तागत हुन्छ भन्ने विचार राख्ने मेरो पहिलो प्राथमिकता त दुबैलाई मिलाउने नै हुन्थ्यो । कथाका आधारमा हेर्दा दुबै पात्र नियत खराब भएका पात्र होइनन् । आफ्ना ससुरा र बुबाले थालेको एकीकरणको अभियानलाई दुबैले प्राथमिकतामा राखेका थिए । यस्तो अवस्थामा पनि यिनीहरुले कैयौं राज्यलाई अधीनमा पारेका थिए । दुवै मिलेर काम गरेका भए अझ द्रुत गतिमा काम हुन्थ्यो । मेरो विचारमा यिनीहरुको कमजोरी भनेको भारदारहरुको चलखेलको भेउ पाउन नसक्नु मात्र हो । दुबैले स्वविवेक प्रयोग नगरेर भारदारहरुको दलदलमा फसेको देखिन्छ । यस्तो अवस्थामा मैले दुबैलाई मिलेर अघि बढ्न सल्लाह दिन्थें । दुबैलाई भारदारहरुको कुराको लहैलहैमा नलागी छातीमा हात राखेर एक अर्काको मूल्याङ्कन गर्न लगाउँथेँ । फुट्दा र जुद्दाका परिणाम स्मरण गराउँथेँ । जुटेर अघि बढ्दा हुन सक्ने सम्भावनाहरु देखाएर पृथ्वीनारायण शाहले देखाएको बाटोमा लाग्न आग्रह गर्थे । यसरी म उनीहरुबिच कुराकानी भइरहेको समयमा पुगेको भए एउटा असल मध्यस्थकर्ता बनेर दुबैलाई फुटेर होइन जुटेर अगाडि बढ्न प्रेरित गर्थे ।


९. व्याख्या गर्नुहोस्ः

(क) बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो ।
उत्तर :
प्रस्तुत कथांश बदरीनाथ भट्टराईद्वारा लिखित ऐतिहासिक कथा 'घरझगडा' बाट साभार गरिएको हो । फुट र गुटबन्दीले राष्ट्रलाई फाइदा गर्दैन, एकजुट भएर अगाडि बढे सबैको हित हुने भाव कथामा जोडिएको छ । परिवारभित्रको गुटबन्दीले नै बाहिरी शत्रुलाई बलियो बनाउनेतर्फ सचेत बनाउने सन्दर्भमा प्रस्तुत कथांश आएको हो ।

बहादुर शाह र राजेन्द्रलक्ष्मीको संयुक्त नायबी काल केही समय राम्ररी चल्यो तर राज्य सञ्चालनको विषयलाई लिएर देवर भाउजूको मनमुटाव भएपछि भारदारहरूले तिललाई पहाड बनाउने काम गरे । यी दुई बिच झनै खटपट बढाउन मद्दत गरे । यिनीहरुबिचमा अविश्वास बढ्दै गयो, जसका कारणले दुबै जना एक अर्कालाई हत्याउन उद्यत भए । यी देवर भाउजूमा जति मनमुटाव बढ्यो त्यति भारदारहरुलाई चलखेल गर्न सहज भयो । साना कुरालाई अतिरञ्जित गरेर कान भर्न थाले । बहादुर शाह र राजेन्द्रलक्ष्मीबिच सामान्य मनमुटाव त थियो, त्यसमा आगोमा घिउ थप्ने काम भारदारहरुले गरे । यिनीहरुबिच अविश्वास बढाउँदै लगे र दरबारमा अस्थिरता कायम गर्न सफल बने । यदि बहादुर शाह र राजेन्द्रलक्ष्मी मिलेर शासन चलाएका भए आसेपासेहरुले चलखेल गर्न पाउने थिएनन् । इतिहास पानाहरु पल्टाएर हेर्ने हो भने घरभित्र झगडा हुँदा छिमेकीले फाइदा लिएका धेरै घटनाहरु भेटिन्छन् । घरका सदस्यलाई लडाएर धमिलो पानीमा माछा मार्न खोज्ने धेरै भेटिन्छन् । घरका सदस्य मिल्दा घर बलियो हुन्छ ।

यसरी प्रस्तुत कथांशमा घरमा एकता नहुँदा बैरीहरुले पनि चलखेल गर्ने अवसर पाउँछन् । एकताले नै शत्रुहरुलाई पराजित गर्न सकिन्छ त्यसैले घरका सदस्य मिलेर अगाडि बढ्नुपर्छ भन्ने भावलाई स्पष्ट पार्न खोजिएको छ ।


(ख) शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो ।
उत्तर :
प्रस्तुत कथांश 'घरझगडा' कथाबाट साभार गरिएको हो । यस कथाका लेखक कथाकार बदरीनाथ भट्टराई हुन् । ऐतिहासिक विषयवस्तुलाई समेटेर लेखिएको यस कथामा तत्कालीन समयमा दरबारभित्र हुने खटपटलाई समावेश गरिएको छ । यो भनाइ नजरबन्दबाट छुटेपछि राजेन्द्रलक्ष्मीले भनेकी हुन् ।

शङ्का गर्नु मूर्खता हो । शङ्काले लङ्का जलाउँछ । यही शङ्काकै कारण राजेन्द्रलक्ष्मी र बहादुर शाहले एकअर्कालाई शत्रु ठाने । शङ्काकै भरमा एक अर्कालाई नजरबन्दमा राखेका थिए । एकअर्कालाई सत्ताबाट गलहत्याउने र नजरबन्दमा राख्ने काम भयो । शङ्काले अमृत पनि विष लाग्छ । भारदारहरुको कुरौटे प्रवृत्तिको रहस्य बुझ्न नसकी राजेन्द्रलक्ष्मीले बहादुर शाहमाथि शङ्का गरेकी छिन् । यसरी शङ्काकै भरमा व्यवहार गर्नु बुद्धिमानी नभएको महसुस राजेन्द्रलक्ष्मीलाई भएको छ । देशभक्त भएर पनि बहादुर शाहले नजरबन्दमा बस्नुपर्नाको कारण शङ्का नै हो । शङ्काकै कारण दरबारमा अविश्वास बढ्यो र अस्थिरता जन्म्यो । नेपाल एकीकरणको अभियानमा धक्का लाग्यो । अङ्ग्रेजलाई नेपालमाथि आक्रमण गर्न सहज भयो । शङ्काले घरझगडा निम्त्यो । घरझगडाले गर्दा भारदारहरुले पनि चलखेल गर्ने अवसर पाए । शङ्काकै भरमा देशमा यस्ता धेरै काण्डहरु घटेका छन् । त्यसैले शङ्काका भरमा नभई स्वविवेकको प्रयोग गरेर सही गलत छुट्याउनुपर्छ ।

यसरी प्रस्तुत कथांशमा घरझगडाको कारक शङ्का रहेकोमा जोड दिँदै अनावश्यक शङ्काको परिणामतर्फ हामीलाई सचेत गराउन खोजिएको छ ।


१०. घरझगडा' कथाको सार एक अनुच्छेदमा लेख्नुहोस् ।

'घरझगडा' इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो । राज्य चलाउने काम सजिलो होइन । राज्य चलाउने व्यक्ति वाह्य र आन्तरिक चलखेल र षड्यन्वप्रति हरदम चनाखो बन्नुपर्छ । राज्यमा नेतृत्वकर्ताहरुका विच आपसी सहमति र समझदारी भयो भने राज्य बलियो हुन्छ । आपसी बैमनस्य र कलहले राज्यमा अस्थिरता सिर्जना गर्छ । यस्तो अवस्थामा शत्रुहरुले पनि फाइदा उठाउन खोज्छन् । जसरी राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिचमा आपसी समझदारी हुन नसक्दा एकीकरणको अभियानमा पनि धक्का लाग्यो । यसरी 'भाइ फुटे गवार लुटे' भन्ने उखानलाई कथामा चरितार्थ गरिएको छ ।


११. राजेन्द्रलक्ष्मीले गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनताका लागि मात्र छन् त कथाका आधारमा तर्क दिनुहोस् ।
 
उत्तर :
'घरझगडा' इतिहासको कालखण्डमा दरवारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक सत्य कथा हो । राजेन्द्रलक्ष्मी यस कथाकी मुख्य पात्र हुन् । आफ्ना ससुराले थालेको नेपाल एकीकरणको अभियानलाई उनले अगाडि बढाएकी थिइन् । भारदारहरुको षड्यन्त्रको सामु अलि चुकेको देखिन्छ ।
 
इतिहासमा राजेन्द्रलक्ष्मी एउटी वीराङ्गना र राष्ट्रमाता भनेर चिनिएकी छिन् । आफ्ना पति प्रतापसिंह शाहको निधन हुँदा उनी दुधे बालक रणबहादुर र राष्ट्रको रक्षाका लागि भनेर सती गइनन् । छोरा रणबहादुर शाहको नायब बनेर उनले शासन चलाइन् । पृथ्वीनारायण शाहले आफ्नो राज्यभित्र पार्न नसकेका लमजुङ, तनहुँ कास्की, पर्वत, प्युठान राज्यहरु नेपालअन्तर्गत पार्न राजेन्द्रलक्ष्मीको महत्त्वपूर्ण योगदान छ । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहपछि उनको नाम पनि अगाडि आउँछ यी कामहरुको मूल्याड्कन गर्दा उनले गरेका कार्य अवश्य राष्ट्रियता र स्वाधीनताका लागि देखिएका छन् । यति हुँदाहुँदै पनि भारदारहरूको षड्यन्त्रको दलदलमा भने उनी चुर्लुम्म डुबेकी छन् । बहादुर शाहलाई शव' मानेर नरबन्दमा राखेकी छन् । कथामा उनी आफै पनि बहादुर शाहलाई सदुपयोग गर्न नसक्दा पश्चातापमा परेकी छिन् । उनीमा केही व्यक्तिगत स्वार्थ पनि हावी भएको पाइन्छ । बहादुर शाहले एकीकरणको अभियानलाई तीव्र बनाउन खोज्दा, यही कुरालाई लिएर देवर भाउजूको खटपट सरु भएको मानिन्छ । उनले बहादुर शाहलाई पनि साथमा लिएर अगाडि बढ्न सकेकी भए देशको राष्ट्रियता र स्वाधीनता अझ मजबुत हुने देखिन्छ । हुनत उनले भनेजस्तै 'एउटा व्यक्तिले सधैँ सबै कुरामा गुन लाउन कल्ले सक्छ र' लाई आधार मान्ने हो भने समग्रमा उनका काम राष्ट्रियता र स्वाधीनताका लागि मात्र भएको मान्न सकिन्छ ।
 
 
१२. सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई कथाले कुन रूपमा देखाएको छ, समीक्षा गर्नुहोस् ।
 
उत्तर : 'घरझगडा' इतिहासको कालखण्डमा दरबारभित्र हुने खटपटलाई समावेश गरी लेखिएको ऐतिहासिक कथा हो यो कथा कथाकार । बदरीनाथ भट्टराईले लेखेका हुन् । यस कथामा तत्कालीन समयमा राज्यका नेतृत्वकर्ताहरुका बिच हुने आपसी षड्यन्त्र, बैमनस्य, कलह आदिका कारण र परिणामलाई प्रस्तुत गरिएको छ । शक्ति सङ्घर्षको विषयलाई समावेश गरी कथामा 'भाइ फुटे गवार लुटे' भन्ने उखानलाई चरितार्थ गरिएको छ ।
 
राजेन्द्रलक्ष्मी र बहादुर शाह दुबैले प्रतापसिंह शाहको मृत्युपछि नायब भएर शासन चलाए । दरबारिया षड्यन्त्रका कारण दुवैले एकअर्कालाई विश्वास गर्न सकेका थिएनन् । शङ्कालु प्रवृत्ति दुबैमा हाबी छ । स्वविवेकको प्रयोग नगरी भारदारका कुरा सुनेर षड्यन्त्रको दलदलमा फसेका थिए । भाउजू देवरमा कहिले मेलमिलाप हुन्थ्यो, कहिले भने परस्परमा झगडा पर्दथ्यो र एकले अर्कालाई थुनामा राख्ने काम पनि भएको थियो । उसै बेलादेखि राजा र भाइ भारदारहरुबीच राजदरबारभित्र अविश्वास र आशङ्काको वीजारोपण भएको मानिन्छ । यही दरबारिया षड्यन्त्रको चक्रव्यूहमा असङ्ख्य भारदारहरुको उत्थान र पतन हुन पुग्यो । भारदारहरु आफ्नो स्वार्थ जोसँग पुरा गर्न सकिन्छ, उसैको पछि लाग्थे । राष्ट्रियता र स्वाधीनताका कुरा गौण रहन्थे । विरोधीहरुको देशनिकाला, नजरबन्द र हत्यासमेत हुन्थ्यो । शक्ति सङ्घर्षको दौरानमा बहादुर शाह पटक पटक नजरबन्द र निर्वासित हुनु पर्यो भने राजेन्द्रलक्ष्मी पनि दरबारभित्रै कैद हुनु पयो । दुवै मिलेर काम गरेका भए अझ द्रुत गतिमा । काम हुन्थ्यो तर उनीहरु नेतृत्वको हानथापमा बढी केन्द्रित रहे ।
 
यो कथा वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक छ । सत्ता प्राप्ति र नेतृत्वको भोक अहिलेका नेताहरुमा अझ विकृत देखिन्छ । सत्ता प्राप्तिका लागि हुने तत्कालीन सङ्घर्षलाई वर्तमान सन्दर्भमा बुझ्न अझ सहज देखिन्छ । राष्ट्रियता र स्वाधीनताका कुरा नारामा मात्र सीमित रहने र सत्तामा पुग्नका लागि जस्तोसुकै हत्कण्डा पनि अपनाउन तयार रहने मानसिकताले बढी काम गरेको देखिन्छ । समग्रमा यस कथामा पनि सत्ता प्राप्ति एउटा 'फोहरी खेल रहेको र सत्ता प्राप्तिका लागि जस्तोसुकै मार्गमा लाग्न तयार हुने शासकहरुको मनोविज्ञान कथामा प्रस्तुत गरिएको छ ।
 
 
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
क) प्रश्नहरु
(अ) व्यक्तिका मनमा कुन कुन गुण रहेका हुन्छन् ?
उत्तर : व्यक्तिका मनमा सत्व, रज तम गरी तीन प्राकृतिक गुण रहेका हुन्छन् ।
 
(आ) मन र इन्द्रियविचको सम्बन्ध देखाउनुहोस् ।
उत्तर : मन अत्यन्त तीव्र र गतिवान् हुन्छ र यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ ।
 
(इ) राजस र तामस मनको तुलना गर्नुहोस् ।
उत्तर : रागयुक्त, सचेत र चञ्चल मन राजस मन हो भने क्रोधी र अज्ञानी मन तामस मन हो ।
 
(ई) व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदा रहेछन् ?
उत्तर : व्यक्तिका व्यवहार मन, इन्द्रिय र गुणका आधारमा निर्धारण हुँदा रहेछन् ।
 
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस
 
(अ) अनुच्छेदका 'गर्छ' र ' मानिन्छ' क्रियापदको धातु पहिचान गर्नुहोस् ।
उत्तर : गर, मान् ।
 
(आ) अनुच्छेदबाट सकर्मक किया भएका कुनै दुई धातु टिपी अनुच्छेदमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्।
उत्तर : हुन्छ, गर्छ (जेठमा गर्मी हुन्छ । विवेकले कक्षाकार्य गर्छ ।)
 
(इ) अनुच्छेदबाट दीर्घ ईकार प्रयोग भएका चारओटा शब्द पहिचान गर्नुहोस् ।
उत्तर : जीव, तीव्र, तीन ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this घरझगडा content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of घरझगडा.

Ready to Master घरझगडा?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.