Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Mero Deshko Shiksha


Subject

Mero Deshko Shiksha

Learn Mero Deshko Shiksha in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
10,523

Mero Deshko Shiksha

Mero Deshko Shiksha

शब्दभण्डार
१. दिइएका अर्थ बुझाउने शब्द मेरो देशको शिक्षा निबन्धबाट खोजेर लेख्नुहोस्ः
उत्तरः
(क) नयाँ कुराको खोजी = आविष्कार
(ख) खास विषयको गुण दोष आदिको मूल्याङ्कन = समालोचना
(ग) जीवन निर्वाहका लागि गरिने काम = व्यवसाय
(घ) महत्त्वपूर्ण मानिएका ठूला आकारका पठनीय सामग्री = ग्रन्थ
(ङ) शिष्ट या सभ्य मानिसको आचरण = शिष्टाचार

२. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्ः
उत्तरः
शब्द        अर्थ
मुहान = उद्गमस्थल
तीर्थाटन = तीर्थयात्रा
परिश्रम गर्दा शरीरबाट निस्कने पानी = पसिना
मार्ग = बाटो
त्रुटि = गल्ती
खानी = धेरै चिज उत्पन्न भएको ठाउँ
पुरातन = प्राचीन




३. दिइएको अनुच्छेद पढ्नुहोस् र प्राविधिक पारिभाषिक शब्द पहिचान गरी लेख्नुहोस्ः
शिक्षण सिकाइको महत्त्वपूर्ण पक्ष शिक्षक हो। शिक्षकले पाठ्यक्रमअनुसार विषयवस्तुमा आधारित भएर शिक्षण गर्नु अपरिहार्य हुन्छ । शिक्षणलाई प्रभावकारी बनाउन पाठयोजना बनाउनसमेत अनिवार्य हुन्छ। पाठयोजनाभित्र विशिष्ट उद्देश्य, पाठ्यवस्तु, शैक्षणिक सामग्री, सिकाइ सहजीकरण क्रियाकलाप, मूल्याङ्कन र गृहकार्य रहन्छन् ।
उत्तरः
प्राविधिक पारिभाषिक शब्दहरुः शिक्षण, शिक्षक, पाठ्यक्रम, पाठयोजना, पाठ्यवस्तु, शैक्षणिक, सिकाइ, सहजीकरण, क्रियाकलाप, मूल्याङ्कन र गृहकार्य।

४. मेरो देशको शिक्षा निबन्धबाट कुनै पाँचओटय पारिभाषिक शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः
समालोचनात्मक : हामी सबैमा समालोचनात्मक दृष्टि हुनुपर्छ।
विज्ञान : यो युग विज्ञानको युग हो।
प्रविधि : प्रविधिले हाम्रो जीवन सहज भएको छ।
परिष्कृत : हाम्रा बानीव्यवहार परिष्कृत गर्नुपर्छ।
इतिहास : नेपालको इतिहास गर्व गर्न लायक छ।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्ः
ज्ञानचक्षु, संस्कृति, सृष्टि, सङ्गम, आकुलव्याकुल, सिद्धार्थ, ओतप्रोत, बौद्धिक

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्ः
(क) मेरो देशको शिक्षा निबन्ध आत्मपरक वा वस्तुपरक कुन हो ?
उत्तरः मेरो देशको शिक्षा निबन्ध आत्मपरक निबन्ध हो।

(ख) व्यवसायमूलक शिक्षाका .  बन्नु हो अनुच्छेदको शीर्ष वाक्य कुन हो ?
उत्तरः व्यवसायमूलक शिक्षाका लागि हाम्रो परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजानु बढी सान्दर्भिक देख्छु ।

(ग) वाक्य संरचनाका दृष्टिले सबभन्दा लामो अनुच्छेद कुन हो ?
उत्तरः वाक्य संरचनाका दृष्टिले सबभन्दा लामो अनुच्छेद छैटौँ अनुच्छेद हो।


(घ)प्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित कुरा कुन अनुच्छेदमा आएको छ ?
उत्तरः प्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित कुरा दोस्रो अनुच्छेदमा आएको छ।

४. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) दीक्षित व्यक्तिमा कस्तो क्षमता हुनुपर्छ ?
उत्तरः दीक्षित व्यक्तिमा समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गर्न सक्ने क्षमता हुनुपर्छ ।

(ख) स्वस्थ चिन्तनमा कुन कुरा पर्छ ?
उत्तरः स्वस्थ चिन्तनमा हरेक कुरालाई पूर्वाग्रह नराखेर अरूका भरमा मात्र नपरी आफ्नै विवेकका आँखाले हेर्नुपर्ने कुरा पर्छ।

(ग) समालोचनात्मक चिन्तन शिक्षाको एउटा पाटो हो भन्नुको आशय के हो ?
उत्तरः समालोचनात्मक चिन्तनले व्यक्तिमा विवेकी, तार्किक र चेतनशील बनाउने हुनाले यसलाई शिक्षाको एउटा पाटो भनिएको हो।

(घ) निबन्धको अंशको भनाइप्रति तपाईं सहमत या असहमत के हुनुहुन्छ, तर्क दिनुहोस् ।
उत्तरः निबन्धको अंशको भनाइप्रति म सहमत छु। हामीमा समालोचनात्मक सोच हुनु आवश्यक छ। यस्तो सोच राख्न सके हामी सही गलत
छुट्याउने चेतनाको विकास गर्न सक्छौँ। हरेक विषय र वस्तुका बारेमा आफ्नो धारणा बनाउन सक्छौँ ।

५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्ः

(क) मेरो देशको शिक्षा निबन्धमा कस्तो व्यवसायमूलक शिक्षाको अपेक्षा गरिएको छ ?
उत्तरः निबन्धमा भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक शिक्षाको अपेक्षा गरिएको छ। जुन ठाउँमा जे कुराको उत्पादन सम्भव छ, त्यसैको उत्पादन र प्रशोधनसम्बन्धी शिक्षा दिनुपर्छ। हाम्रो परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजाने शिक्षा सान्दर्भिक हुन्छ । कृषिमा आधुनिक प्रविधि तथा अत्याधुनिक औजारको प्रयोग गर्ने व्यावसायिक शिक्षा आवश्यक छ । विज्ञान र प्रविधियुक्त शिक्षाको खाँचो छ। समग्रमा विद्यार्थीलाई स्वरोजगार बनाउने सिपयुक्त शिक्षाको अपेक्षा यसमा गरिएको छ।

(ख) शिक्षाले मानव जीवनका कुन कुन कुरामा सुधार ल्याउँछ ?
उत्तरःशिक्षाले हरेक काममा सहजता ल्याउँछ। हामी मोबाइल एप्सबाट अनलाइन टिकट काट्ने, बैङ्क खाता खोल्ने र घरमै सामान मगाउने जस्ता कामहरु गर्न सक्छौँ। अनलाइनबाट जागिर र व्यापार व्यवसाय गर्न सक्छौँ। शिक्षाबाट समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गर्न सकिन्छ । परिवर्तनलाई आत्मसात गर्न सक्ने बनाउँछ । शिक्षाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउँछ । शिक्षाले मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्छ। यसरी शिक्षाले व्यक्तिमा सकारात्मक गुण भरिदिन्छ र आत्मनिर्भर बनाउँछ ।

(ग) विज्ञान र प्रविधिमा आधारित शिक्षाको महत्त्व लेख्नुहोस् ।
उत्तरः आजको युग सूचना र प्रविधिको युग हो। विज्ञान र प्रविधियुक्त शिक्षाले हरेक काममा सहजता ल्याएको छ। हामी मोबाइल एप्सबाट अनलाइन टिकट काट्ने, बैङ्क खाता खोल्ने र घरमै सामान मगाउने जस्ता कामहरु गर्न सक्छौँ। अनलाइनबाट जागिर र व्यापार व्यवसाय गर्न सक्छौँ। घरमा उत्पादन गरेका कृषिजन्य वस्तु अनलाइनबाटै बजारीकरण गरी आय बुद्धिमा सघाउ पुऱ्याउन सकिन्छ। विश्वभरिको सूचना र जानकारीको अजस्र स्रोत इन्टरनेटभित्रै छ। मेरो देशको शिक्षाले विद्यार्थीलाई यी र यस्ता कुरामा दक्ष बनाउँदै युगीन आवश्यकता र आविष्कारसँग जोड्न सक्नुपर्छ। शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउन ज्ञान र सिप प्रदान गर्छ।
(घ) निबन्धको मुख्य सन्देश के हो ?
उत्तरः


मेरो देशको शिक्षा सन्देशमूलक निबन्ध हो। यस निबन्धले वैज्ञानिक एवम् व्यावसायिक शिक्षामा जोड दिएको छ। नेपालमा विज्ञान, सूचना, प्रविधि लगायत युग सुहाउँदो शिक्षाको आवश्यकता रहेको छ। जे जति नवीन प्रयोग र मान्यता स्थापित भएका छन्, तिनलाई आत्मासात् गर्दै समयानुकुल परिष्कृत गर्दै लैजाने काम गर्नुपर्छ। हाम्रो देशको शिक्षालाई यहाँको भूगोल र पर्यायवरण अनुकूल बनाउनुपर्छ । सिपयुक्त व्यवसायमूलक शिक्षाले आत्मनिर्भर बनाउँछ र रोजगारी सिर्जना गर्न सहयोग पुग्छ । शिक्षाका माध्यमबाट व्यक्तिमा समालोचनात्मक चिन्तनको विकास गरी जीवनलाई सहज र स्तरीय बनाउन सकिन्छ । यसरी यहाँको परम्परागत ज्ञानलाई समेट्दै आधुनिक र प्रविधि सुहाउँदो ज्ञानका रुपमा शिक्षाको विकास गर्ने सके देश समृद्धितर्फ लाग्नेछ भन्नु नै निबन्धको मुख्य सन्देश हो।

६. व्याख्या गर्नुहोस्ः

(क) आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो।
उत्तरः प्रस्तुत निबन्धांश 'मेरो देशको शिक्षा' बाट साभार गरिएको हो। यो निबन्ध पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन्। यस निबन्धमा व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइएको छ । शिक्षाले मानिसलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने कुरा बुझाउने सन्दर्भमा प्रस्तुत निबन्धांश आएको हो ।

शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ। शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्छ। यसका लागि समयसापेक्ष सिप प्रदान गर्ने शिक्षा चाहिन्छ । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि श्रमलाई आधुनिक प्रविधिसँग जोड्ने शिक्षा आजको आवश्यकता हो। सिपयुक्त शिक्षालाई प्राथमिकतासाथ अगि बढाउनुपर्छ। यसो भयो भने मात्र मानिस आफ्नो अनुकूलको व्यवसाय गर्न सक्छन् । स्वरोजगार बनेर आफ्नै देशमा पसिना बगाउने अवसर पाउँछन् । व्यवसायमूलक शिक्षा, प्राविधिक ज्ञान र सिप प्राप्त गरेका विद्यार्थी व्यवसाय सञ्चालन गर्न सक्छन्। उनीहरु आत्मनिर्भर हुन उत्प्रेरित हुन्छन् । आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो। यसरी निबन्धांशमा हाम्रो शिक्षाको मूल उद्देश्य विद्यार्थीलाई आत्मनिर्भर बनाउने हुनुपर्छ भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ।

(ख) शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ।
उत्तरः प्रस्तुत निबन्धांश 'मेरो देशको शिक्षा' बाट साभार गरिएको हो । यो निबन्ध पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन् । यस निबन्धमा व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइएको छ । शिक्षाले मानिसलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने कुरा बुझाउने सन्दर्भमा प्रस्तुत निबन्धांश आएको हो।
शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ । शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउँछ । यसले मानिसलाई नैतिकवान, सहिष्णु, दक्ष र विवेकशील बनाउनु पर्छ। हाम्रो शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ। प्रमाणपत्र थुपार्ने शिक्षा मात्र भएर हुँदैन। हाम्रो शिक्षा सैद्धान्तिकभन्दा व्यावहारिक हुनुपर्छ। शिक्षा मान्छेको व्यवहारमा झल्किनुपर्छ। कक्षा दसमा पढ्ने मान्छेलाई आफूभन्दा ठुलो मान्छेसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने पनि थाहा छैन भने त्यो शिक्षाको केही औचित्य हुँदैन । शिक्षाले त अनुशासित, सभ्य र भद्र बनाउनुपर्छ। यसरी हाम्रो शिक्षाले हामीमा असल बानीको विकास गर्न सक्नुपर्छ भन्ने कुरालाई निबन्धांशमा स्पष्ट पार्न खोजिएको छ।

९. शिक्षालाई भूगोल पाउने छन् निबन्धको अंश मौन पठन गर्नुहोस् र चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।
उत्तरः
बुँदा टिपोटः
शिक्षालाई भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक शिक्षाका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको,
देशमा रोजगारी सिर्जनामा व्यावसायिक ज्ञान र सिपयुक्त शिक्षा आवश्यक हुनु,
ठाउँ र त्यहाँको विशेषताअनुसार शिक्षा दिँदा स्वरोजगारका अनन्त सम्भावना खोज्न सकिने,
प्राविधिक र व्यावसायिक सिपयुक्त शिक्षालाई प्राथमिकतासाथ अगि बढाए अवसरको सदुपयोग गर्दै विद्याथीले देशमै पसिना बगाउने अवसर पाउने ।

व्यावसायिक शिक्षाको महत्त्व

शिक्षालाई भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक शिक्षाका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ । देशमा रोजगारी सिर्जनामा पनि व्यावसायिक ज्ञान र सिपयुक्त शिक्षा आवश्यक हुन्छ। ठाउँ र त्यहाँको विशेषताअनुसार शिक्षा दिँदा स्वरोजगारका अनन्त सम्भावना खोज्न सकिन्छ । प्राविधिक र व्यावसायिक सिपयुक्त शिक्षालाई प्राथमिकतासाथ अगि बढाए अवसरको सदुपयोग गर्दै विद्याथीले देशमै पसिना बगाउने अवसर पाउने छन् ।

अनुच्छेदमा दिइएको शब्द सङ्ख्याः १७१
सारांशमा हुनुपर्ने शब्द सङ्ख्याः ५७
सारांशमा भएको शब्द सङ्ख्याः ५७

१०. तपाईंलाई नेपालको भावी शिक्षा कस्तो हुनुपर्छ भन्ने लाग्छ, मेरो देशको शिक्षा निबन्धका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।
उत्तरः 'मेरो देशको शिक्षा' सन्देशमूलक निबन्ध हो। पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेको यो निबन्ध आत्मपरक शैलीमा लेखिएको छ। यस निबन्धले प्राचीन ज्ञान र आधुनिक विज्ञानसहितको व्यावसायिक शिक्षामा जोड दिएको छ। शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ। शिक्षाले मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्नुपर्छ। यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आँखाले हेर्ने र तिनका बारे समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्नुपर्छ । देशको शिक्षा युगानुकूल, विज्ञान प्रविधियुक्त र देशलाई समृद्ध बनाउने दिशामा प्रवृत्त हुनुपर्छ । देशलाई पूर्वीय ज्ञान तथा पाश्चात्य विज्ञान र प्रविधिसँग हातेमालो गर्दै अझै अगि बढाउने शिक्षा जरुरी छ। सिपले सुसम्पन्न समयसापेक्ष शिक्षा हुनुपर्छ । बदलिँदो युगसँगै आफूलाई समायोजन गर्न सक्ने शिक्षा चाहिन्छ । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि श्रमलाई आधुनिक प्रविधिसँग जोड्ने शिक्षा आजको आवश्यकता हो। शिक्षा भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक हुनुपर्छ। यसो भयो भने मात्र आफ्नो अनुकूलको व्यवसाय गरेर आफ्नै देशमा स्वरोजगारका अवसरको सदुपयोग गर्दै विद्याथीले यो देशमा पसिना बगाउने अवसर पाउने छन्। शिक्षाको मूल उद्देश्य आत्मनिर्भर शिक्षामा जोड दिने हुनुपर्छ।

देशको शिक्षामा सर्वसुलभ हुनुपर्छ । सबैमा सूचना प्रविधिको पहुँच पुग्नुपर्छ । आजका शिक्षित विद्यार्थी सूचना प्रविधिसँग पूर्ण रूपमा परिचित पोख्त र दक्ष हुनुपर्छ। नेपालमा परिवर्तनलाई आत्मसात गर्न सक्ने नागरिक उत्पादनमा जोड दिने शिक्षाको खाँचो छ। शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ। शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउनुपर्छ। शिक्षाले मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्नुपर्छ। देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ। शिक्षाबाट
दीक्षित व्यक्ति समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गन सक्ने हुनुपर्छ।

समग्रमा नेपालमा आफ्नो मौलिकतासहितको युग सुहाउँदो व्यावसायिक, प्राविधिक र आधुनिक शिक्षा हुनुपर्छ। यहाँको परम्परागत ज्ञानलाई समेट्दै आधुनिक र प्रविधि सुहाउँदो ज्ञानका रुपमा शिक्षाको विकास गर्ने सके रोजगारीको अवसर सिर्जना भई देश समृद्धितर्फ लाग्नेछ भन्ने
विचार निबन्धले प्रस्तुत गरेको छ।

११. मेरो सोच : मेरो भविष्य शीर्षकमा आत्मपरक अनुच्छेद लेख्नुहोस् ।
उत्तरः
मेरो सोच : मेरो भविष्य
भनिन्छ, मानिसले जस्तो सोच राख्छ, त्यस्तै बन्छ। असल बन्ने सोच छ भने भविष्यमा असल बन्न सकिन्छ। एउटा सकारात्मक मानसिकताले जहिले पनि आनन्द, खुसी र स्वस्थ अनुभव गराउँछ । मानिसका आआफ्ना सोचहरु हुन्छन् । हामी जस्तो छौँ भविष्य त्यस्तै सिर्जना गछौँ । अभावको सोचले अभाव सिर्जना गर्छ । समस्याहरूको सोचले समस्याले भरिएको जीवन सिर्जना गर्दछ । सम्भावना र समाधानका सोचहरूले नयाँ विचार, ऊर्जा, सम्भावना र समाधानहरू सिर्जना गर्दछ । म मनमा सधैं सकारात्मक सोच राख्ने छु । अध्ययनलाई लगनशील भएर पूरा गर्ने छु । मेरो विचारमा पद र पेसा ठुलो सानो भन्ने हुँदैन । अहिले कक्षा १० मा अध्ययन गर्दै गरेको हुनाले भविष्यमा यही नै बन्छु भन्ने निर्णय गरेको छैन तर जे बने पनि जुन क्षेत्रमा लागे पनि बस असल बन्ने छु । म कहिल्यै कुलतमा फस्ने छैन, कसैलाई जानी जानी दुःख दिने छैन । म आफ्ना मातापिता र देश छोडेर विदेश जाने छैन । मनमा अठोट र जाँगर हुने हो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्ने कुरामा म दृढ छु । सबै कुरा योजनाअनुसार बन्दै गयो भने भविष्यमा म एउटा असल र सफल मान्छे बन्ने छु।

१२. दिइएको अनुच्छेद पढ्नुहोस र सोधिएका प्रश्नको उत्तर गनुहोस्ः
(अ) कानुन भन्नाले के बुझिन्छ ?
उत्तरः


 राज्यको शासन सञ्चालन गर्ने कार्य विधि, पद्धति एवम् नियमको समष्टिलाई कानुन भन्ने बुझिन्छ ।

(आ) कानुनका स्रोत के के हुन् ?
उत्तरः विधायन, नजिर, प्रथा तथा परम्परा, संप्रतिज्ञा, अन्तर्राष्ट्रिय अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, कानुनविद्का राय र संहिताकरण कानुनका स्रोतहरु हुन् ।

(इ) कानुनलाई किन बाध्यकारी शक्ति मानिन्छ ?
उत्तरः कानुनको अवज्ञा दण्डनीय त्यसैले यो बाध्यकारी शक्ति हो।

(ई) कानुनको महत्त्व लेख्नुहोस् ।
उत्तरः शासन व्यवस्थालाई निरङ्कुश हुनबाट रोक्न, नागरिकलाई अधिकार दिन, असीमित अधिकारलाई नियन्त्रण गर्न, सामाजिक सदाचार र नैतिकता कायम गर्न, समतामूलक समाज निर्माण गर्न, न्याय प्रशासनलाई चुस्त र दुरुस्त बनाउन कानूनको महत्त्व रहेको हुन्छ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् ।

(अ) अनुच्छेदबाट कर्तृवाच्यका दुईवटा वाक्य टिप्नुहोस् ।
उत्तरः यसले सत्य, न्याय, अधिकार र सुरक्षाको सुनिश्चितता खोजी गर्छ। यसले समाजमा शान्ति सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गर्छ।

(आ) यसले समाजमा शान्ति सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गर्छ वाक्यलाई कर्मवाच्यमा रूपान्तरण गर्नुहोस् ।
उत्तरः यसद्वारा समाजमा शान्ति सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गरिन्छ।

(इ) अनुच्छेदबाट य प्रयोग भएका दुईओटा र ए प्रयोग भएका दुईओटा शब्द पहिचान गरी अर्थ लेख्नुहोस् ।
उत्तरः य प्रयोग भएका शब्दः अपरिहार्य (नभई नहुने), सभ्य (शिष्ट)
ए प्रयोग भएका शब्दः एवम् (र) भएका (रहेका, गरिएका)

१३. दिइएको सन्दर्भ पढनुहोस र तोकिएको काम गर्नुहोस्
एक जना मान्छे प्रसिद्ध चिकित्सक कहाँ पुगेछन् । उनले आफ्नो सानो छोरालाई गुलियो कम खान भन्दिनु पर्यो भनेर ती चिकित्सकलाई आग्रह गरेछन् । चिकित्सकले त्यसो भन्ने मान्छेलाई भोलि आउन भनेछन् । भोलि छोरासँगै चिकित्सककहाँ पुगेपछि चिकित्सकले सानो बालकलाई गुलियो कम खानुका फाइदा बताउँदै गुलियो कम खान भनेछन्। त्यति कुरा भन्न किन भोलि पर्खेको त भनेर ती मान्छेले चिकित्सकसँग जिज्ञासा राखेछन् । चिकित्सकले भनेछन्, हिजोसम्म म आफै चिनी धेरै खान्थें। आफैँ गुलियो बढी खाने गरेको मैले अरुलाई कसरी गुलियो कम खान सल्लाह दिन सक्छु र ?  अरुलाई उपदेश दिन आफू उदाहरण बन्नुपर्ने यो प्रेरक प्रसङ्गले एउटा असल मानिसमा हुनुपर्ने गुण देखाउँछ। हामी ती चिकित्सक जस्तै हुन नसकिएला तर कमसेकम त्यो मार्गमा चल्ने प्रयास गर्न सक्छौँ। अरुलाई सल्लाह दिन पहिला आफू दृष्टयन्त बन्नुपर्छ।

चिकित्सकको दृष्यन्तबाट तपाईंले पनि अरुलाई कुनै विषयको सुधारका लागि सल्लाह दिनुपर्यो भने कसरी सल्लाह दिनुहुन्छ आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहोस् ।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएका अनुच्छेद पढ्नुहोस् र विषयवस्तुबारे कक्षामा छलफल गर्नुहोस्ः
(क) म निबन्ध लेख्छु। म कविता लेख्छु। म गजल पनि लेख्छु। म प्रज्ञा प्रतिष्ठानमा जान्छु। साझा प्रकाशनमा पनि पुग्छु। थुप्रै किताब किनेर ल्याउँछु अनि ती किताब पढ्छु र राम्रो लेखक बन्ने प्रयास गर्छु। राम्रो लेखक हुन्छु।
(ख)
(अ) आफू त निबन्ध लेखिन्छ। कविता लेखिन्छ। गजल पनि लेखिन्छ। थुप्रै किताब किनेर ल्याइन्छ अनि ती किताब पढिन्छ र राम्रो लेखक बन्ने प्रयास गरिन्छ।
(आ) प्रज्ञा प्रतिष्ठान गइन्छ। साझा प्रकाशनमा पनि पुगिन्छ। राम्रो लेखक भइन्छ।

माथिका क मा दिएका वाक्य कर्तृवाच्यका क्रिया हुन् भने ख को (अ) मा दिइएका वाक्यका कियापद कर्मवाच्य र (आ) मा दिइएका वाक्यका कियापद
भाववाच्यका हुन् । कर्मवाच्य बन्नका लागि सकर्मक क्रिया र भाववाच्य बन्न अकर्मक क्रिया आवश्यक हुन्छ। सकर्मक र अकर्मक दुवै कियाबाट कर्तृवाच्य बन्छन् । लेख्नु, ल्याउनु, पढ्नु, गर्नु जस्ता सकर्मक क्रियाबाट वाच्य परिवर्तन हुँदा कर्मवाच्यका क्रियापद बन्छन्। जानु, हुनु, बस्नु, उठ्नु, नाच्नु, रुनु जस्ता अकर्मक क्रियाबाट वाच्य परिवर्तन हुँदा भाववाच्यका क्रियापद हुन्छन् ।

२. दिइएका कर्तृवाच्यका वाक्यलाई कर्मवाच्यमा बदल्नुहोस्ः
(क) विविषा कम्प्युटर किन्थिन् ।
 विविषाद्वारा कम्प्युटर किनिन्थ्यो ।
(ख) दर्शन लेखाशास्त्र पढ्दै छन् ।
 दर्शनद्वारा लेखाशास्त्र पदिँदै छ ।
(ग) समीक्षाले गीत गाइन् ।
 समीक्षाद्वारा गीत गाइयो।
(घ) विद्यार्थीले शिक्षक भेटे।
 विद्यार्थीद्वारा शिक्षक भेटिनुभयो ।
(ङ) भाइले फुटबल किन्यो।
 भाइद्वारा फुटबल किनियो।
(च) उसले थुप्रै किताब खोजेको छ।
 ऊद्वारा थुप्रै किताब खोजिएका छन् ।
(छ) मामाले भान्जीलाई बोलाउनुभयो ।
 मामाद्वारा भान्जी बोलाइइन् ।
३. दिइएका कर्मवाच्यका वाक्यलाई कर्तृवाच्यमा बदल्नुहोस्ः
(क) मेनुकाद्वारा नेपाली पढाइन्छ।
 मेनुकाले नेपाली पढाउँछिन् ।
(ख) आफू त लेख लेखिँदै छ।
 म त लेख लेख्दै छु।
(ग) भोलि त गीत गाइएला।
 उसले भोलि गीत गाउला।
(घ) मद्वारा अनुस्का पुस्तकालयमा भेटिइन् ।
 मैले अनुस्कालाई पुस्तकालयमा भेटें।
(ङ) हामीद्वारा खेलकुदमा सहभागी भइयो ।
 हामी खेलकुदमा सहभागी भयौँ।
(च) विश्वकप फुटबल खुब हेरियो ।
 मैले विश्वकप फुटबल खुब हेरें।

४. दिइएका कर्तृवाच्यका वाक्यलाई भाववाच्यमा बदल्नुहोस्ः
(क) म बिहान उठ्छु ।
 आफू बिहान उठिन्छ।
(ख) उनीहरू घरबाट हिँडेछन् ।
 उनीहरुद्वारा घरबाट हिँडिएछ ।
(ग) हामी पोखरातिर घुम्न जान्छौँ ।
 हामीद्वारा पोखरा घुम्न गइन्छ।
(घ) उनीहरू यहीं बसे ।
 उनीहरुद्वारा यहीँ बसियो
(ङ) साथीहरू मस्तसँग हाँस्थे ।
 साथीहरुद्वारा मस्तसँग हाँसिन्थ्यो ।
(च) म दिक्तेल बजार घुम्ने छ।
 आफू त दिक्तेल रघुमिने छ।

५. दिइएका भाववाच्यका वाक्यलाई कर्तृवाच्यमा बदल्नुहोस्ः
(क) तिजमा मस्तसँग नाचिन्छ ।
 दिदी तिजमा मस्तसँग नाच्नुहुन्छ ।
(ख) कहाँबाट आइँदै छ ?
 तिमी कहाँबाट आउँदै छौ ?
(ग) मैदानमा कुदियो ।
 म मैदानमा कुदें।
(घ) सानो हुँदा कुरै नबुझी रोइन्थ्यो।
 म सानो हुँदा कुरै नबुझी रुन्थें ।
(ङ) पढ्दा पढ्दै निदाइएछ ।
 भाइ पढ्दापढ्दै निदाएछ।
(च) पर्सि साफेबगर पुगिने छ।
 हामी पर्सि साफेबगर पुग्ने छौँ।

६. मेरो देशको शिक्षा निबन्धको पहिलो र दोस्रो अनुच्छेदबाट पाँचओटा क्रियापद टिप्नुहोस् र तिनको वाच्य परिवर्तन गरी पाठको भन्दा अलग वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः गरिन्छ - हामीद्वारा गृहकार्य गरिन्छ।
सुन्छौँः  सुनिन्छ - मद्वारा गीत सुनिन्छ ।
फिँजाए:  फिँजाइयो - ऋषिद्वारा वेदको ज्ञान फिँजाइयो।
दिएका छन्ः  दिइएको छ - शिक्षकद्वारा विद्यार्थीलाई काम दिइएको छ।
पारेको छः  पारिएको छ - पाठ कण्ठ पारिएको छ।
7. मेरो देशको शिक्षा निबन्धबाट य र ए प्रयोग भएका तीन तीनओटा शब्द टिपेर कक्षामा सुनाउनहोस् ।
उत्तरः
य प्रयोग भएका शब्दः यस, हृदय , नयन
ए प्रयोग भएका शब्दः फिँजाए, गरिएको , भएको


८.दिइएको अनुच्छेदका य र ए प्रयोगसम्बन्धी अशुद्धि सच्याएर लेख्नुहोस्ः
यउटा विद्यार्थी पढ्न विद्यालए गयछ। उसलाई प्रशासनिक कार्यालए खोज्न समए लागेछ। एसरी खोज्ने क्रममा साथीले सहयोग गरेछन् । उसले साथीलाई धन्यवाद दियछ।
उत्तरः एउटा विद्यार्थी पढ्न विद्यालय गएछ। उसलाई प्रशासनिक कार्यालय खोज्न समय लागेछ। यसरी खोज्ने क्रममा साथीले सहयोग गरेछन् । उसले साथीलाई धन्यवाद दिएछ ।
सिर्जना र परियोजना कार्य

१.दिइएका शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस्ः

उत्तरः
नेपालको आर्थिक विकासमा कृषिको भूमिका

नेपाल कृषि प्रधान देश हो। खेतीपाती, पशुपालन, बाली उत्पादन, मत्स्य पालन र अन्य जीव जन्तुको पालन कृषिअन्तर्गत पर्दछन् । नेपालमा करिब ६० प्रतिशत नेपाली कृषि पेसामा निर्भर छन् । देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगटेको छ। नेपालको भौगोलिक, प्राकृतिक विविधताका कारण ठाउँअनुसार फरक फरक किसिमको हावापानी पाइन्छ। त्यसैले नेपाल कृषि क्षेत्रमा धेरै सम्भाव्यताको देश हो। जहाँ उच्च हिमाली भेगमा पशुपालन, पहाडी भेगमा फलफूल खेती र तराईमा खाद्यान्न उत्पादन गर्न सकिन्छ।

कृषि गाँस, वास, कपास, कच्चा पदार्थ र औषधीको स्रोत हो। जसबिना प्राणीहरूको अस्तित्व हुन सक्दैन । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने खाद्य तत्त्व, पौष्टिक तत्त्व सम्पूर्ण हामीले कृषिको सहायताले उत्पादन गर्न सक्छौँ । खण्डीकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिँदै आएको र कृषि विकासका लागि भएका सरकारी प्रयासहरु सीमित स्रोत र साधनहरुका कारण नेपालको कृषि प्रतिफलमुखी हुन सकेको छैन। विगत केही वर्ष यता केही कृषकले यस पेसालाई आधुनिक र व्यावसायिक रुपमा लैजाने अनुकरणीय प्रयास गरेका छन्। मुलुकमा औद्योगिकिकरणको विकासको लागि मुख्य आधार कृषि हो। कृषिमा उत्पादन बढाउन सकेमा मात्र कृषिमा आधारित उद्योगलाई आवश्यक कच्चा पदार्थको अभाव हुँदैन । यसबाट औद्योगिकिकरणको विकासले पनि गति लिन सक्ने थियो। हामीले कृषिलाई व्यवसायका रुपमा विस्तार गरी आफ्नो उपभोगको लागि मात्र नभएर बढीभन्दा बढी उत्पादन गरेर आयआर्जन गर्न सक्ने वातावरण बनाउनु पर्दछ। हाम्रो देशमा कृषि क्षेत्रको उन्नतिको लागि किसानहरूलाई हौसला दिनु जरुरी छ। राज्यले कृषि नीति बनाउँदा दुर्गम तथा ग्रामिण क्षेत्रमा कृषि सहकारीका माध्यमबाट स्थानीय निकायको परिचालन गरी सामूहिक खेती प्रणालीको अवधारणा अगाडि बढाउन सके गरिबी तथा बेरोजगारी हटाउन सहयोग पुग्न सक्छ।

नेपालको आर्थिक विकासमा कृषिको महत्त्व निकै नै धेरै छ। कृषि भनेको विकासको एक प्रमुख माध्यम हो। हाम्रो देश नेपालमा कृषिको सम्भावना पनि त्यतिकै प्रचुर मात्रामा रहेको छ। हामीले स्रोत साधन पाएको खण्डमा कृषिको मदतले देशको मुहार फेर्न सक्छौँ । देशलाई प्रगतिको दिशातिर लम्काउन सक्छौँ।

उत्तरः
अभिभावकप्रति मेरो जिम्मेवारी


मानिसको जीवनमा सबैभन्दा पहिले त उसको परिवार नै जोडिएको हुन्छ। मेरो बुबाआमा जसले मलाई यो सुन्दर संसार देखाउनुभयो, उहाँहरुप्रति मेरो विशेष जिम्मेवारी छ। एउटी आमाले सन्तानलाई जन्म दिन धेरै कष्ट सहन्छिन्, त्यसपछि आफ्नो मायाले हुर्काउँछिन् । आमाबाबुको सहयोग, प्रेरणा, माया र स्नेहबाट नै बालक हुर्कदै जान्छ। यदि कोही डाक्टर, इन्जिनियर र उच्च पदस्थ व्यक्ति बन्छ भने उसको पछाडि मातापिताको बलिदान र प्रेरणाको शक्ति निहित हुन्छ। हाम्रो सुख र समृद्धिको पछाडि आमाबुवाको अनगिन्ती खुसीको त्याग छ।

मेरा बुबाआमा अर्थात् मेरा अभिभावक मेरा संसार हुन्। बुबाआमालाई किन्न पाउँदैनौँ। आमाबुबाले देखाउनुभएको बाटोमा हिँड्नु, उहाँहरुको सपना पूरा गर्नु मेरो मुख्य कर्तव्य हो । बुबाआमाका अपेक्षा पूरा गर्न सके मात्र मेरो जीवन अवश्य सार्थक बन्ने छ । बुबाआमासँगै परिवारका अन्य सदस्यहरुलाई उपयुक्त आचरण गर्नु पनि मेरो कर्तव्य हो। आफ्नो सन्तानले ठुलो भएर आफ्नो नाम गौरवान्वित गरोस् भन्ने सबै अभिभावकहरूको इच्छा रहन्छ। म सधैँ यो ख्याल राख्ने छु कि मबाट कुनै गलत कार्य नहोस्, जसले गर्दा उहाँहरूलाई लज्जित तुल्याओस् । मलाई थाहा छ, मेरो अभिभावक आफ्नो सफलतामा भन्दा मेरो सफलतालाई विशेष मान्नुहुन्छ। सन्तानको सफलतालाई ठुलो जित ठान्नुहुन्छ र असफलतालाई आफ्नो हार ठान्नुहुन्छ। यस्ता महान् व्यक्तिलाई खुसी तुल्याउनु नै मेरो जिम्मेवारी हो। आजको भौतिकवादी पुस्तामा अभिाभावलाई छोडेर विदेश पलायन हुने, विवाहपछि युवायुवतीहरू आफ्नो व्यक्तिगत स्वार्थमा मात्र डुब्ने गरेका हुन्छन् । मबाट यो भुल हुने छैन। मेरो विचारमा अभिभावकबिनाको अर्थको केही अर्थ छैन । उहाँहरुकै छत्रछाँयामा रहेर अध्ययन पूरा गर्ने छु, आमाले पकाएको खाएर कार्यालय जाने छु, उहाँहरुकै सेवा गर्ने छु । मातापिताको सेवाबाट प्राप्त हुने आत्मसन्तुष्टिभन्दा ठुलो अर्थोक केही छैन । सन्तानका लागि अभिभावकले जुन कष्ट सहन्छन्, त्यसको बदला सन्तानले चुकाउन सक्दैन। मेरो विचारमा आफ्ना वृद्ध आमाबुबाको सेवा नगर्ने सन्तान असल सन्तान होइनन् ।

'मातृदेवो भव, पितृदेवो भव' अर्थात् मातापिता देवता हुन्। श्रवणकुमार बनेर होस् वा रामचन्द्र बनेर होस्, उहाँहरुलाई पूर्ण सम्मान दिनु र सकेसम्म खुसी दिने प्रयास गर्नु मेरो परम जिम्मेवारी हो।
त्यसैले जीवनभर उहाँहरुको सहारा बनेर उहाँहरुको इच्छा पूरा गर्नु नै मेरो जिम्मेवारी हो।

उत्तरः
सिकाइमा प्रविधिको उपयोग

सिकाइमा प्रविधिको उपयोग आजको युग विज्ञान र प्रविधिको युग हो। प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ, शिक्षकको क्षमता विकास र विद्यालयको व्यवस्थापन प्रक्रियालाई सहज र प्रभावकारी बनाएको छ। रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, डिजिटल क्यामेराजस्ता साधनहरु प्रविधिका रुपमा सिकाइमा बढी प्रयोग हुने गर्दछन् । यस्ता प्रविधिलाई परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त एवं प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ।

प्रविधिले सिकाइलाई प्रभावकारी र दिगो बनाउनु तथा नवीनतम ज्ञानको संसारमा सहज प्रवेश गराउन सक्दछ । विद्यार्थीहरुले आवश्यक पाठ्यसामग्री कुनै पनि बेला उनीहरूले डाउनलोड गर्न सक्छन् । जुन विद्यार्थीले आफ्ना मोबाइल ल्यापटप आदिमार्फत सहजै प्रयोग गर्न सक्छन् । कक्षामा नबुझेका कुराहरु इन्टरनेटको प्रयोगबाट खोज्न सक्छन् । यसले विद्यार्थीलाई आत्मविश्वास र खोजी गर्ने बानीको विकास हुन्छ। यो विधि शिक्षक केन्द्रितभन्दा प्रविधि केन्द्रित हुन्छ, जसले विद्यार्थीलाई आफैँ सिक्न प्रोत्साहन गर्दछ। प्रविधि प्रयोगको यो अवस्थाले शिक्षकको परम्परागत भूमिकामा परिवर्तनको अपेक्षा गर्न सकिन्छ । विद्यार्थीले आवश्यकताअनुसार एकल अथवा समूहमा शैक्षिक क्रियाकलाप गर्दछन् जसले गर्दा उनीहरूलाई बढी सामाजिकीकरण हुन सघाउँछ। यस अवस्थामा शिक्षक र विद्यार्थीको प्रत्यक्ष भेटघाटको आवश्यकता पनि पर्दैन। विकसित राष्ट्रमा यस्तो प्रविधिको प्रयोग भइसकेको र यसबाट धेरै फाइदा पनि प्राप्त भएका उदाहरण छन्। यसका साथै प्रविधिको प्रयोगले शैक्षिक व्यवस्थापनमा
प्रभावकारिता ल्याउने, मूल्याङ्कन प्रणालीमा सुधार गर्ने, शैक्षिक सुशासनको प्रत्याभूति गर्नुका साथै शैक्षिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ । कोरोनाको बन्दाबन्दीका समयमा यसको महत्त्व अझ बढेर गयो। प्रविधिका माध्यमबाट आफ्नै घरमा बसेर नयाँ प्रविधिको प्रयोग गर्दै सिकाइलाई निरन्तरता दिन सम्भव भयो। प्रविधि प्रयोगले शिक्षकले आफूलाई पायक पर्ने कुनै पनि ठाउँबाट पढाउन र विद्यार्थीले पनि आफूले चाहेको स्थानबाट शिक्षा ग्रहण गर्न सक्छन् ।

प्रविधिको सहज पहुँच र दक्ष प्राविधिक जनशक्ति अभावले सिकाइमा प्रविधिको प्रयोगमा केही चुनौती छन् । त्यसैले यस्ता प्रविधिको सदुपयोग गर्नतर्फ जोड दिनुपर्छ। त्यस्तै यसबाट लाभ लिनका लागि हरेक शैक्षिक संस्थामा द्रुत गतिमा चल्ने इन्टरनेट र प्रत्येक विद्यार्थीका हातमा अत्यधिक नयाँ उपकरण जस्तै आइप्याड, मोबाइल, ल्यापटपजस्ता सामग्रीबाट शिक्षण सिकाइमा आमूल परिवर्तन ल्याउन सक्ने अनुमान गर्न सकिन्छ।


Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Mero Deshko Shiksha content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Mero Deshko Shiksha.

Ready to Master Mero Deshko Shiksha?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.