Skip to main content

🎓 New resources added daily! Join over 50,000 students using Padandas

Course Advertisement
Educational Resources Ad

Byabasayik Chitthi


Subject

Byabasayik Chitthi

Learn Byabasayik Chitthi in Nepali with comprehensive educational content from Padandas.

Feb 8, 2026
9,603

Byabasayik Chitthi

Byabasayik Chitthi

शब्दभण्डार 

१. शब्दकोशको सहायता लिई दिइएका शब्दको अर्थ लेख्नुहोस् :

उत्तरः

भुक्तानीः  मूल्य तिर्ने काम

अत्यधिकः  ज्यादै धेरै

उपत्यकाः  चारैतिरबाट पहाडले घेरिएको सम्म ठाउँ

ब्रोकाउलीः  काउली प्रजातिको तरकारी

कृषकः  खेतीपाती गर्ने मानिस

नगदेबालीः  नगद आम्दानी हुने कृषिबाली

तपसिलः  निम्नलिखित

 

२. दिइएका अनुच्छेद पढी मौलिक र आगन्तुक शब्दबारे साथीसँग छलफल गर्नुहोस् :

एक दिनको कुरा हो। संस्कृत भाषाले नेपाली भाषालाई बोलाएर भनेछ, “ए नेपाली भाषा! मबाट तिमीले अश्रु, आश्चय, निद्रा, पंक्षी जस्ता तत्सम शब्द लिएका छौ। तिमीले ती शब्दलाई अलिकति फेरबदल गरेर आँसु, अचम्म, निद, पन्छी जस्ता तद्भव शब्द बनाएका रहेछौ। तिमीले ऊ, उनी जस्ता सर्वनाम, गर्नु, खानु जस्ता क्रिया, राम्ररी, आज, भोलि, फटाफट, गुटुमुटु, मुसुमुसु आदि क्रियायोगी पनि बनाएका रहेछौ। त्यसै गरी ल, त, पो, क्यारे आदि निपात, र, अनि संयोजक, आहा, हे आदि विस्मयादिबोधक जस्ता तद्भव शब्द पनि प्रयोग गरेका रहेछौ। यी तत्सम र तद्भव शब्दकी जननी वा मूल म हुँ। मबाट लिएका अश्रु जस्ता र तिमीले बनाएका आँसु जस्ता शब्द तथा सर्वनाम, क्रियायोगी आदि शब्द संस्कृत मूलबाट बनेका हुँदा मौलिक भयौ। त्यसैलै परम्परागत चलनअनुसार तत्सम र तद्भव शब्द नेपालीका मौलिक शब्द भए।" नेपाली भाषाले संस्कृत भाषालाई भनेछ, “नेपाली भाषामा अहिले नेपालभित्रका अरू विभिन्न भाषाबाट रोदी, पसल, डम्फु, पटुका आदि जस्ता शब्द ल्यायौँ। त्यसैगरी हामीले विदेशी विभिन्न भाषाबाट स्कुल, कलेज, डाक्टर, इन्जिनियर, गरिब, किताब, चाउमिन, कानुन आदि आगन्तुक शब्द ल्यायौँ । यसरी हामी मौलिक र आगन्तुक शब्द एउटै आत्मा भएर बसेका छौँ।"



३. अनुच्छेदबाट कोष्ठकको निर्देशनअनुसार हरेकका दुई दुईओटा शब्द पहिचान गरी लेख्नुहोस् :

(क) झगडाको राम्रो फैसला गर्न सक्ने कृष्ण राय घरबाट बाहिर कम निस्कन्थे। उनी निस्किहाले भने कहीँ झगडा परेछ भन्ने ठानिन्थ्यो। उनलाई सबै मान्छे अदवसाथ अभिवादन गर्थे। (तद्भव र आगन्तुक)

उत्तरः झगडा, घर (तद्भव) फैसला, कम (आगन्तुक)

 

(ख) सवारी दुर्घटना किन र कसरी हुन्छ भन्ने कुरालाई गम्भीरता साथ सोच्नु पर्ने भएको छ। सहरी क्षेत्रका साँघुरा सडक र यातायात साधनको अत्यधिक चाप यसमा बढी जिम्मेवार छन्। (तत्सम र आगन्तुक)

उत्तरः दुर्घटना, गम्भीरता (तत्सम) सवारी, जिम्मेवार (आगन्तुक)

 

(ग) नेपालमा परम्परागत सिँचाइका कुलो, इनार आदिका सहायताले खेती गर्ने चलनका साथै तराई तथा भित्री मधेसमा बढी मात्रामा नहरबाट सिँचाइ गर्ने आधुनिक प्रक्रियाको विकास भएको छ। (तत्सम र तदभव)

उत्तरः परम्परागत, सहायता (तत्सम) खेती, मधेस (तद्भव)

 

(घ) वायुमण्डल विभिन्न ग्याँसले बनेको छ। यसमा आयतनका हिसाबले सबभन्दा बढी नाइट्रोजन र अक्सिजन छन् भने धुलाको कण, जलवाष्प, मिथेन, ओजोन, कार्बन डाइअक्साइड, नाइट्रस आदि नगण्य मात्रामा छन्। (तत्सम र आगन्तुक)

उत्तरः वायुमण्डल, विभिन्न (तत्सम) ग्याँस, नाइट्रोजन (आगन्तुक)

 

४. दिइएका पत्र रचनासँग सम्बन्धित शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तरः

सम्बोधनः आफूभन्दा ठुलालाई आदरणीय भनेर सम्बोधन गर्नुपर्छ। 

निवेदक: निवेदनको अन्तिममा निवेदकको नाम हुनुपर्छ। 

अभिवादनः सम्बोधनको तलपट्टि अभिवादन जनाउनुपर्छ।

प्रेषकः प्रेषकको नाम र ठेगाना खामको देब्रेपट्टि लेखिन्छ।

प्रापकः प्रापकको नाम र ठेगाना स्पष्ट नभएमा चिठी सम्बन्धित ठाउँमा पुग्दैन ।

भवदीयः चिठीका अन्त्यमा आत्मीयता जनाउन भवदीय शब्द प्रयोग गरिन्छ।

विषयः कार्यालयीय र व्यापारिक चिठीमा विषय लेखिन्छ।

 

बोध र अभिव्यक्ति

 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

उपर्युक्त, शीतोष्ण, ट्रान्सपोर्ट, टिस्टुङ, विगत, सामग्री, स्थानीय, पुनश्चः

 

२. व्यावसायिक चिठी पाठ पालैपालो सस्वरवाचन गर्नुहोस् ।

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) चिठी कुन विषयवस्तुमा लेखिएको छ ?

उत्तरः चिठी बिउबिजन उपलब्ध गराइदिने विषयवस्तुमा लेखिएको छ।

 

(ख) चिठीमा सम्बोधनपछि कुन कुरा उल्लेख गरिएको छ ?

उत्तरः चिठीमा सम्बोधनपछि चिठी पाउने संस्थाको ठेगाना उल्लेख गरिएको छ।

 

(ग) चिठी कसले कसलाई लेखेको हो ?

उत्तरः शीतोष्ण बागवानी केन्द्र मकवानपुरका निर्देशक उमाकान्त ठाकुरले शीतोष्ण बागवानी केन्द्र मुस्ताङलाई लेखेको हो।

 

(घ) चिठीको अन्त्य कसरी भएको छ ?

उत्तरः चिठीको अन्त्य भवदीय र चिठी पठाउने व्यक्तिको पद र नाम लेखेर भएको छ।

 

४.घरपझाँङ गाउँपालिका मुस्ताङका तर्फबाट लेखेको माथिको चिठीको प्रत्युत्तर लेख्नुहोस् ।

उत्तरः

 

शीतोष्ण बागवानी केन्द्र 

घरपझोङ गाउँपालिका २ 

मुस्ताङ, गण्डकी प्रदेश ।

 

मिति : २०८०।०५।१४

प.स.

च. न.

श्री शीतोष्ण बागवानी केन्द्र, 

थाहा नगरपालिका - ४ 

मकवानपुर, बाग्मती प्रदेश।

 

विषयः बिउबिजन उपलब्ध गराइएको सम्बन्धमा ।

महोदय,

          उपर्युक्त सम्बन्धमा त्यस शीतोष्ण बागवानी केन्द्रबाट हिमाली क्षेत्रका लागि उपयुक्त विभिन्न बिउबिजनको माग गरी लेख्नुभएको पत्र प्राप्त भयो। वेबसाइटबाट हाम्रो केन्द्रका बारेमा थाहा पाएर पत्र लेख्नुभएको रहेछ, यसबाट हामीलाई धेरै खुसी लाग्यो । मुस्ताङबाट मकवानपुरमा पनि हाम्रा उत्पादन पुऱ्याउन पाउनु हाम्रा लागि गर्वको कुरा हो। त्यस केन्द्रबाट प्राप्त पत्रमा उल्लेख भएबमोजिमका बिउबिजन मुस्ताङ ट्रान्सपोर्टबाट त्यस केन्द्रको ठेगानामा पठाइएको छ। बिउबिजनको विवरण र रकम उल्लेख भएको बिल पत्रसाथ पठाइएको छ । बिल र सामान प्राप्त हुनासाथ यस केन्द्रको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं १२३४५६७८९ मा बिलमा तोकिएअनुसारको रकम उपलब्ध गराइदिनुहुन अनुरोध छ।



 भवदीय

प्रबन्धक

मोहन शेर्पा

 

खामको नमुना

 

पठाउने 

शीतोष्ण बागवानी केन्द्र 

घरपझोङ गाउँपालिका २ 

मुस्ताङ, गण्डकी प्रदेश ।

 

पाउने 

श्री शीतोष्ण बागवानी केन्द्र, 

थाहा नगरपालिका ४ मकवानपुर, 

बाग्मती प्रदेश।

 

६. शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेखिने निवेदनको नमुना तयार पार्नुहोस् ।

उत्तरः

 

मितिः २०८०।०४।२०

श्री प्रधानाध्यापकज्यू, 

जनता माध्यमिक विद्यालय, 

बुटवल, रुपन्देही ।

 

विषयः शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिनुहुन ।

महोदय,

शैक्षिक भ्रमण विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने प्रभावकारी उपाय हो। विद्यार्थीलाई घोकाएरभन्दा प्रत्यक्ष अनुभव गराएर दिइने शिक्षा कहिले पनि भुल्न सक्दैनन् । एउटा भनाइ छ, 'सुने बिर्सन्छु, देखे सम्झन्छु, गरे जान्दछु।' यसबाट पनि शैक्षिक भ्रमणको महत्त्व झल्कन्छ। अझ सामाजिक र नेपाली विषयमा देशका विभिन्न भूभागहरुको प्रत्यक्ष अवलोकन गरेर सिक्नुपर्ने र लेख्नुपर्ने कुराहरु समेटिएका हुन्छन् । शैक्षिक भ्रमणबाट बालबालिकाहरुलाई देशका सम्पदाहरुको विषयमा परिचित हुन पनि सहयोग पुग्छ । फरक ठाउँको सामाजिक, सांस्कृतिक परिवेशका बारेमा बुझ्‌न सकिन्छ। त्यस्ता ठाउँहरुको प्रचारप्रचारमा समेत टेवा पुग्छ ।

शैक्षिक भ्रमणमा जानका लागि हामी कक्षा १० का सम्पूर्ण विद्यार्थीहरु सहमत छौँ। अभिभावकको सहमति पत्र र भ्रमणका लागि शुल्क उठाउन आवश्यक भए, त्यो पनि उठाउन तयार छौँ। तसर्थ अब उपयुक्त रुट, समय र यातायातसहितको सम्पूर्ण आवश्यक प्रबन्ध मिलाइदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

निवेदक

कक्षा १० मा अध्ययनरत सम्पूर्ण छात्रछात्राहरु

 

८. प्र.न. ७ को इमेल लेखन तरिकाका आधारमा शैक्षिक भ्रमणमा सहभागिताको अनुरोध गर्दै प्रधानाध्यापकलाई इमेल लेख्नुहोस् ।

उत्तरः

 

मितिः २०८०।०४।२०

श्री प्रधानाध्यापकज्यू, 

कालिका माध्यमिक विद्यालय, 

बाणगंगा, कपिलवस्तु ।

 

विषयः शैक्षिक भ्रमणमा सहभागी भइदिनुहुन ।

महोदय,

शैक्षिक भ्रमण विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने प्रभावकारी उपाय हो। हामी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु एक दिनका लागि लुम्बिनीका विभिन्न पुरातात्त्विक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेका ठाउँहरुको भ्रमण जाने योजना बनाएका छौँ । शैक्षिक भ्रमणको संयोजन र सहजीकरण कक्षाशिक्षक महेश अधिकारीले गर्नुभएको छ । भ्रमणमा जानका लागि हामीहरुले अभिभावकको सहमति पत्र र भ्रमणका लागि खाजा नास्ताको व्यवस्था गरिसकेका छौँ। यो शैक्षिक भ्रमणमा हजुरको उपस्थिति भयो भने भ्रमण अझ फलदायी रहने छ । त्यसैले हाम्रो शैक्षिक भ्रमणमा हजुरको गरिमामय उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौँ ।

निवेदक

कक्षा १० मा अध्ययनरत सम्पूर्ण छात्रछात्राहरु

 

१०. तपाईंको विद्यालयले कुनै समाजसेवीलाई सम्मान गरेको कार्यक्रमको समाचार लेख्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तरः

 

समाजसेवी सम्मानित

भदौ १२ । कञ्चनपुर- स्थानीय शिक्षाविद् तथा समाजसेवी हेमराज ओझालाई श्री कृष्ण माध्यमिक विद्यालयले मङ्गलबार एक समारोहका बिच सम्मान गरेको छ।

 

जिल्लाकै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको विद्यालयले ५८ औं वार्षिकोत्सव अवसरमा ओझालाई समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याएको भन्दै सम्मान गरिएको हो। ओझाले शैक्षिक क्षेत्रमा गरिब, जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्तिमा सहयोग गर्नुका साथै समाजका अन्य क्षेत्रमासमेत योगदान पुऱ्याएका छन् । ओझाले गत वर्षमात्रै स्वर्गीय दाजु निर्मलकुमार ओझाको स्मृतिमा उक्त विद्यालयमा दस लाखको अक्षयकोष निर्माण गरेका थिए।

 

समारोहमा बोल्दै ओझाले सम्मानले आफूलाई समाजसेवाका क्षेत्रमा लाग्न थप जिम्मेवार बोध गराएको बताए। उनले भने, "यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको यस विद्यालयसँग पछिल्ला दिनमा जोडिएर केही गर्न पाएकोमा खुसी लागेको छ। आगामी दिनमा पनि मेरो सहयोग रहिरहने छ।" त्यस्तै उनले विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नतिमा पुऱ्याएको योगदानको उच्च प्रशंसा गरे।

 

११. दिइएको क को सन्दर्भ र ख को नमुना पढी कविता प्रकाशन गर्न अनुरोध गर्दै सम्पादकलाई लेखिने चिठीको नमुना तयार पार्नुहोस् :

(ख) 

सम्पादकलाई चिठीको नमुना

 

श्री सम्पादकज्यू,

गोरखापत्र राष्ट्रिय दैनिक

धर्मपथ, काठमाडौं।

 

हामी जनजागृति मावि सल्लेरी सोलुखुम्बुका १० कक्षाका विद्यार्थी काठमाडौँ शैक्षिक भ्रमणबाट फर्कंदा सोलुखुम्बु साल्मेमा पहिराले बाटो अवरुद्ध थियो। करिब ४ घन्यसम्म हामी रोकिनुफ्यो। डोजर पनि आउन ढिलो भएर हामीले धेरै दुःख पायौँ। यो पहिराले बसौंदेखि यस्तै दुःख दिइरहेको छ। कि त यो ठाउँमा वैकल्पिक बाटाको व्यवस्था गर्नुफ्यो। कि त यसको दीर्घकालीन समाधान खोज्नुफ्यो। अतः म यस राष्ट्रिय पत्रिकामार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।

 

भवदीय 

सन्दीप कार्की सोलुखुम्बु

उत्तरः

श्री सम्पादकज्यू 

आँकुरा साहित्यिक पत्रिका, 

कल‌ङ्की, काठमाडौँ। 

यस साहित्यिक पत्रिकाको नियमित पाठक हुँ। यही पत्रिकामा विभिन्न साहित्यकारहरूका सिर्जना पढ्न पाउँदा म कविता लेखनतर्फ आकर्षित भएकी छु। मैले कविता लेखेर दुईवटा कापी पनि भरेकी छु। मेरा सिर्जना मेरा साथी र गुरुहरूले मन पराउनुभएको छ। अझ आँकुरा जस्तो राष्ट्रियस्तरको पत्रिकामा कविता प्रकाशन गर्न पाए मलाई कविता लेखनमा थप हौसला मिल्ने थियो। त्यसैले यसै पत्रसाथ संलग्न मेरो कविता प्रकाशन गरी मेरो प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्नुहुने छ भन्ने अपेक्षा राखेकी छु।

भवदीय 

विनिता कुर्मी 

रुपन्देही

१२. दिइएका क को सन्दर्भ र ख को घटना पढ्नुहोस् र पत्रिकामा छाप्नका लागि तयार गरिने रिपोट तयार

गर्नुहोस् :

उत्तरः

दुर्घटनामा एक घाइते

भदौ १२, राजविराज ।

राजविराज चोकमा मङ्गलबार दिउसो २ बजे मोटरसाइकल र कार ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार कार आफ्‌नै गतिमा गुडिरहेको थियो । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल नियन्त्रणबाहिर गई कारसँग ठोकिन पुगेको थियो । मोटरसाइकलले पैदलयात्रीलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकल कारमा ठोक्किएपछि मोटरसाइकल चालक जमिनमा लडेका थिए । मोटरसाइकल चालकले हेल्मेट नलगाएका कारण मोटरसाइकल पल्टेर चालकको टाउकामा चोट लागेको थियो । प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुऱ्याएका थिए । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी गराएको छ।

 

१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(अ) ऱ्याप गीतमा कस्तो भाव पाइन्छ ?

उत्तरः ऱ्याप गीतमा आक्रोश, चेतना र विद्रोहको भाव पाइन्छ।

 

(आ) ऱ्याप गीतको सुरुआत कसरी भएको थियो ?

उत्तरः पश्चिमी देशमा श्वेतहरूले अश्वेतहरुमाथि दमन र शोषण गर्दथे । आफूमाथि भएको शोषणविरुद्ध आक्रोश व्यक्त गर्न अश्वेतहरूले सडक र गल्लीबाट ऱ्याप गायनको आरम्भ गरेका थिए।

 

(इ) अहिलेका ऱ्याप गीतमा कस्ता विषयवस्तु पाइन्छन् ?

उत्तरः अहिलेका ऱ्याप गीतमा सामाजिक, राजनीतिक व्यवस्था, समसामयिक विकृति प्रेम जस्ता थुप्रै विषयवस्तु पाइन्छन् ।

 

(ई) ऱ्याप गीतबाट युवालाई के कुरामा उत्प्रेरित गर्न सकिन्छ ?

उत्तरः ऱ्याप गीतबाट युवालाई रूपान्तरण र परिवर्तनका गीत गाउन उत्प्रेरित गर्न सकिन्छ।

 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

 

(अ) अनुच्छेदबाट कुनै चारओटा करण क्रियापद टिपोट गरी तिनलाई अकरणमा बदल्नुहोस् ।

उत्तरः हो, पाइन्छ, छ, गरेका थिए।

होइन, पाइँदैन, छैन, गरेका थिएनन् ।

 

(आ) अनुच्छेदको अन्तिम वाक्यलाई अकरणमा बदल्नुहोस् ।

उत्तरः यो नै ऱ्याप गीतको अहिलेको मुख्य स्वर हो।

यो नै ऱ्याप गीतको अहिलेको मुख्य स्वर होइन।

 

(इ) अनुच्छेदबाट व लेखेर ब उच्चारण हुने कुनै चारओटा शब्द टिपोट गर्नुहोस् ।

उत्तरः विश्वव्यापी, विधा, युवा, विद्रोह .....।

 

भाषिक संरचना र वर्णविन्यास

 

१.दिइएको अनुच्छेद पढी करण र अकरण क्रियापद छुट्याएर लेख्नुहोस् :

गौरवले गहुँको रोटी खान्छन् भने मैदाको रोटी खाँदैनन् । सलिनाले स्याउ असाध्यै रुचाउँछिन् भने सुन्तला त्यति रुचाउँदिनन् । सुदीक्षा सधैं सबैसँग बोल्छिन् तर तिनै कहिलेकाहीँ सबैसँग बोल्दिनन् । ग‌ङ्गाराम गुरु रायोको साग खुब मिठो मान्नुहुन्छ तर उहाँ फापरको साग खासै मिठो मान्नुहुन्न ।

उत्तरः

करण क्रियापदः खान्छन्, रुचाउँछिन्, बोल्छिन्, मान्नुहुन्छ ।

अकरण क्रियापदः खाँदैनन्, रुचाउँदिनन्, बोल्दिनन्, मान्नुहुन्न ।

 

२. व्यावसायिक चिठी पाठमा प्रयोग भएका सबै क्रियापद टिप्नुहोस् र तिनलाई अकरणमा बदल्नुहोस् ।

उत्तरः

भयो - भएन

गरिरहेका छन् - गरिरहेका छैनन्

आएका छन् - आएका छैनन्

गरेको छ – गरेको छैन,

आइरहेको छ- आइरहेको छैन

छ - छैन

 

३. नखेल्नु, नरुचाउनु, नरमाउनु, नजित्नु, नपाउनु क्रियालाई करणमा परिवर्तन गर्नुहोस् र ती करण क्रियाको प्रयोग गरी आफूलाई मन पर्ने खेलकुदका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।

उत्तरः

नखेल्नु - खेल्नु, नरुचाउनु रुचाउनु, नरमाउनु रमाउनु, नजित्नु जित्नु, नपाउनु पाउनु

 

मलाई मन पर्ने खेल

 

मलाई किकेट अत्यन्तै मन पर्छ। म विद्यालय बिदा भएको दिन साथीहरुसँग किकेट खेल्छु। म ब्याटिङ गर्न रुचाउँछु। मेरो ब्याटबाट चौका छक्का लाग्यो भने म निकै रमाउँछु। हालै पालिकास्तरीय किकेट खेलमा हाम्रो टिमले जितेको थियो। खेलमा जितेपछि हामीले नगद र

मेडल पाएका थियौँ ।

 

४.कोष्ठकमा दिइएका स‌ङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) मलाई कोदोको रोटी मिठो लाग्दैन। (करण)

उत्तरः मलाई कोदोको रोटी मिठो लाग्छ।

 

(ख) उनीहरू क्रिकेट खेल्छन् । (अकरण)

उत्तरः उनीहरू क्रिकेट खेल्दैनन् ।

 

(ग) प्रज्ञान कहिल्यै कक्षामा प्रश्न सोध्दैन। (करण)

उत्तरः प्रज्ञान सधैं कक्षामा प्रश्न सोध्छ।

 

(घ) ऊ छुट्टीमा ऐतिहासिक सिन्धुलीगढी घुम्न जाला। (अकरण)

उत्तरः ऊ छुट्टीमा ऐतिहासिक सिन्धुलीगढी घुम्न नजाला।

 

(ङ) परिश्रम गरे सफल भइन्छ। (अकरण)

उत्तरः परिश्रम नगरे सफल भइँदैन ।

 

(च) जनताले जनप्रतिनिधिसमक्ष आफ्‌ना माग प्रस्तुत गरेनछन् । (करण)

उत्तरः जनताले जनप्रतिनिधिसमक्ष आफ्‌ना माग प्रस्तुत गरेछन् ।

 

५. दिइएको अनुच्छेदबाट ब र व प्रयोग भएका शब्द छुट्याएर लेख्नुहोस् :

वडा अध्यक्ष विजय वर्मा बरबोट गाउँका बडो विचित्रका व्यक्ति हुन् । वडाका बिरामी, बुढाबुढीलाई प्रत्येक महिना उनी अनिवार्य भेटेर मात्र वडा अध्यक्षको कार्यालयमा हाजिर हुन्छन् ।

उत्तरः

ब प्रयोग भएका शब्दः बरबोट, बडो, बिरामी, बुढाबुढी

व प्रयोग भएका शब्दः वडा, विजय, वर्मा, विचित्र, व्यक्ति, अनिवार्य

 

६. पाठबाट ब र व प्रयोग भएका तीन तीनओटा शब्द टिपेर कक्षामा सुनाउनुहोस् ।

उत्तरः

ब प्रयोग भएका शब्दः बागवानी, बिउ, बाग्मती व प्रयोग भएका शब्दः विषय, मकवानपुर, विगत

 

७. ब र व प्रयोगसम्बन्धी अशुद्धि सच्याएर पुनर्लेखन गर्नुहोस् :

वालक बेद पढ्न बेदबिद्याश्रम वनकालीमा भर्ना भएछन् । उनी २० बर्षको उमेरमा बिए बा सोसरहको शास्त्री पढेपछि बेदाचार्य गर्न बाल्मीकि बिद्यापीठमा भर्ना भएछन् । त्यसपछि वनारस हिन्दु बिस्बबिद्यालयमा बिद्याबारिधि पढ्न बनारसतिर गएछन् ।

 

उत्तरः

बालक वेद पढ्न वेदविद्याश्रम वनकालीमा भर्ना भएछन् । उनी २० वर्षको उमेरमा बिए वा सोसरहको शास्त्री पढेपछि वेदाचार्य गर्न बाल्मीकि विद्यापीठमा भर्ना भएछन् । त्यसपछि बनारस हिन्दु विश्वविद्यालयमा विद्यावारिधि पढ्न बनारसतिर गएछन् ।

 

सिर्जना र परियोजना कार्य

 

१. गाउँघरको हालखबर उल्लेख गर्दै सहरमा पढ्न बसेको भाइलाई पठाउने चिठीको नमुना तयार पार्नुहोस् ।

उत्तरः

 

मितिः २०८०।०४।२०

प्यारो भाइ,

शुभाशीर्वाद ।

यहाँ बुबाआमा र म सन्चै छौँ। त्यहाँ तिमी पनि सन्चै छौ होला भन्ने आशा गरेको छु। भाइ तिमीले पठाएको पत्र प्राप्त भयो। तिमीले गाउँघरको हालखबर सोधेका रहेछौ। यहाँ गाउँमा इन्टरनेटको सुबिधा अझै पुगेको छैन नत्र त भिडियो कल गरेर यताको हालखबर अवगत गराउन पाइन्थ्यो। चिठीबाटै भए पनि गाउँको हालखबर लेख्दै छु।

भाइ, गाउँ अहिले सुनसान बन्दै छ । हाम्रा छिमेकीहरु पनि सहरतिर बसाइँ सरेर गए। गाउँमा पहिला जस्तो खेतीपाती पनि हुँदैन। अलिअलि लगाएको अन्न तरकारी पनि बँदेल र बाँदरले सखाप पारिदिन्छ। गाउँमा युवाहरु पनि कोही छैनन्। वृद्ध, महिला र बालबालिका मात्र छन् । तिमीले पाँचसम्म पढेको विद्यालयमा पनि विद्यार्थी सङ्ख्या धेरै कम भएको छ। हुनत गाउँमा मोटरबाटो, बिजुली, खानेपानी आदि धेरै कुराको सुविधा थप भएका छन् तर पनि गाउँ रित्तिने कम पनि रोकिएको छैन। मैले टनेल बनाएर गाउँमै व्यावसायिक तरकारी खेती गर्न सोचेको थिएँ। अपेक्षा गरे जस्तो सफलता मिलेको छैन। धेरै नपढेको मान्छेलाई त गाह्रो हुने रहेछ। त्यसैले म पनि कतारको भिसा लगाउन आँटेको छु। भाइ, तिमी सहरमा बसेर राम्रोसँग पढ्नू । अरु कुरा फोनमा गर्दै गरौंला। आजलाई यत्ति नै।

 

उही तिम्रो दाजु 

Naam

खामको नमुना

 

प्रेषक

पवन ज्ञवाली

धुर्कोट-८, गुल्मी

 

प्रापक

आशिष ज्ञवाली

बुटवल-१४ बेलबास, रुपन्देही

 

२. तपाईं सहभागी भएको कुनै सांस्कृतिक कार्यक्रमका घटना टिपोट गरी रिपोटिङको शैलीमा कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तरः

 

तीज विशेष कार्यक्रम सम्पन्न

 

भदौ १४, पाल्पा ।

तानसेन नगरपालिका पाल्पामा रहेको श्री बाल माध्यमिक विद्यालयमा तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षता र विद्यालयका शिक्षक रमेश अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बालबालिकामा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यकमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरेले बताउनुभएको थियो । कार्यक्रममा तीज विशेष गायन र नृत्य प्रतियोगिताहरु सञ्चालन भएका थिए । स्थानीय कलाकार जिया भुसालले पनि कार्यक्रममा रमाइलो प्रस्तुति दिनुभएको थियो । शिक्षकहरुको समूहले रमाइलो गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्त ओलीले यस्ता कार्यकमले हाम्रा संस्कृतिको संरक्षणमा सहयोग पुग्ने भन्दै कार्यकम आयोजना गरेकामा विद्यालयलाई धन्यवाद दिनुभएको थियो। कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

Related Documents

No specific documents yet

There are no documents specifically linked to this topic yet. Check back soon for updates!

View All Subject Documents

About National Examinations Board

This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.

Frequently Asked Questions

This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.

Yes, once you have access, you can revisit this Byabasayik Chitthi content as many times as you need.

Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Byabasayik Chitthi.

Ready to Master Byabasayik Chitthi?

Continue your learning journey in Nepali and explore more comprehensive educational content.