Sanskritiko naya yatra
Sanskritiko naya yatra
Learn Sanskritiko naya yatra in Nepali with comprehensive educational content from Padandas.
Sanskritiko naya yatra
शब्दभण्डार
१. उस्तै अर्थ आउने शब्दहरुको जोडा मिलाउनुहोस् ।
प्रतिष्ठा : इज्जत
एकाकार : एकै किसिमको
उत्पीडन : पीडा दिइएको
विद्रोह : ठूलो विरोध
कार्यान्वयन : विधिपूर्वक व्यवहारमा ल्याउने काम
प्रवाहशील : निरन्तर बगिरहने
२. दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस् ।
क) जीवनलाई पवित्र पार्ने काम : जीवनबोध
ख) समुद्रको जहाजमा बसेर यात्रा गर्ने : नाविक यात्रा
ग) एउटै मात्र संस्कृति : एकल संस्कृति
घ) यात्रालाई प्रत्येक्ष हेर्ने दर्शक : यात्राको साक्षी
ङ) सांस्कृतिक हिसाबले प्राप्त गर्ने न्याय : साँस्कृतिक न्याय
च) विचलित नहुने यात्रा : अविचलित यात्रा
छ) सबैको हग लाग्ने सन्तति : साझा सन्तति
३. शब्दकोश हेरेर दिइएका शब्दहरुको अर्थ लेख्नुहोस् ।
स्मृति : स्मरण , सम्झना
जिज्ञासा : कुनै कुरा जान्ने इच्छा
जीववैज्ञानिक : जीव विज्ञानसम्बन्धी अध्ययन गर्ने व्यक्ति
प्रगति : उन्नति , विकास
सामेल : भेला, तोकिएको ठाउँमा उपस्थित हुने काम
दमन : चिचोमिचो, दबदबाउ
मनुष्यत्व : मनुष्य हुनुको भाव, मानवता
दमित : दमन गरिएको, दविएको
बाहिष्कार : खारेजी, निष्कासन
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उदात्त: उनका उदात्त विचारहरूले सबैलाई प्रेरित गर्यो।
अनुभूति: पहाडको सुन्दरता देखेर मनमा अद्भुत अनुभूति भयो।
सुनिश्चितता: यो परियोजनाको सफलता सुनिश्चित गर्न सबैले कठोर परिश्रम गर्नुपर्छ।
दमक: उसको अनुहारमा खुसीको दमक छाएको थियो।
पङ्खफुका: कठिनाइहरूको सामना गर्दा हामीले आफ्नो साहसलाई पङ्खफुका गर्नु हुँदैन।
निर्मित: त्यो पुल आधुनिक प्रविधिको प्रयोग गरेर निर्मित गरिएको हो।
न्यायपूर्ण: समाजमा सबैले न्यायपूर्ण व्यवहार गर्नु आवश्यक छ।
अविचलित: प्रतिकूल परिस्थितिमा पनि ऊ आफ्नो लक्ष्यप्रति अविचलित रह्यो।
५. दिइएका विषयक्षेत्रका शब्दहरु खोजेर लेख्नुहोस् ।
क) नेपाली चाडपर्वहरु
तिज, दसैं, तिहार, पुर्णिामा, ल्होसार, माघी आदि ।
ख) नेपाली नृत्यहरु
साकेला, लाखे, देउडा, सोरठी आदि ।
ग) नेपालका भाषाहरु
नेपाली, मैथिली, भोजपुरी, थारु, कुमाले, माझी, नेवारी आदि ।
घ) नेपालीका पोसाक
दौरा, सुरुवाल, ढाकाटोपी, चोली, पटुका, धोती आदि ।
ङ) नेपाली खानाका स्थानीय परिकार
दाल, भात, रोटी, तरकारी, अचार, खीर आदि।
बोध र अभिव्यक्ति
२. दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) माथिको पाठ कति अनुच्छेदमा संरचित छ ?
माथिको पाठ आठ अनुच्छेदमा संरचित छ ।
ख) पाठको दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ ?
पाठको दोस्रो अनुच्छेदमा जीवनयात्राको क्रममा बहुजातीयतामा फक्रेको नेपाली कला र संस्कृतिको विषयलाई मुख्य भाव बनाइएको छ ।
ग) पाठको छैटौं अनुच्छेदमा कस्ता विषय वस्तुलाई प्रस्तुत गरिएको छ ?
पाठको छैटौं अनुच्छेदमा सांस्कृतिका नाममा आउने विकृतिको अन्त्य हुनुपर्ने कुरालाई प्रस्तुत गरिएको छ ।
घ) निबन्धको पाँचौं अनुच्छेदमा कतिवटा वाक्यहरु छन् ?
उत्तर निबन्धको पाँचौं अनुच्छेदमा २२ ओटा वाक्यहरु छन् ।
३. पाठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस् ।
क) वीरगंजमा कस्तो खालको संस्कृति पाइन्छ?
ख) 'वसुधैव कुटुम्बकम्' को अर्थ के हो?
ग) निबन्धकारको स्मृतिमा के कुरा ताजै छ?
घ) हामी कस्तो संस्कृति निर्माणको समयमा छौँ?
ङ) नयाँ पुस्ताका निबन्धकारले कस्तो उज्यालो ज्योति देखेका छन्?
४. पाठको आधारमा उपयुक्त विकल्प छानी खाली ठाउँ भर्नुहोस् ।
(क) जब म यो नै संस्कृति हो भनेर बुझ्न थालेँ, त्यति बेलासम्म र पनि यी पर्व मेरो जीवन र मनोविज्ञानमा सदैव रहिरहेका छन्।
(ख) नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए?
(ग) मनुष्य जीवनको सार्थकता भन्नु नै चेतना हो।
(घ) मैले यस यात्रामा सामेल भएर आवाज दिएँ।
(ङ) मनुष्यको मनुष्यत्व र मानवको मानवता नै सबैभन्दा ठूलो कुरा हो।
५. ” जीवन एउटा प्रवाहशील ………तरखरमा थिएँ ” निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) जीवनलाई किन यात्रा भनिएको हो?
नेपालको पूर्वी पहाडी भेगमा जन्मेकी सुधा त्रिपाठी द्वारा लेखिएको एक आत्मपरक निबन्ध हो ‘संस्कृतिको नयाँ यात्रा’। उनले यस निबन्धमा जीवनलाई यात्रा भनेकी छन्। जीवन एक नदी हो। जसरी नदी दौडिरहन्छ, त्यसरी नै जीवनको यात्रा पनि दौडिरहेको हुन्छ। जीवन जिउने क्रममा कहिले सुखको यात्रा चल्छ भने कहिले दुःखको यात्रा चल्छ। त्यसैले जीवनलाई यात्रा भनिएको हो।
ख) अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस्।
म पात्र पहाडको एक दुर्गम गाउँमा जन्मिएकी हुन्। उनी पछि आफ्नो शिक्षाका कारणले काठमाडौँ पुगिन्। उनले आफ्नो जीवनलाई विभिन्न यात्राका चरणसँग तुलना गरेकी छिन्। साथै, उनले आफूलाई फुलबारीको विरुवाको रूपमा उभ्याएकी छिन्, जो बिस्तारै फुल्ने र कक्रने तर्खरमा छ।
ग) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङ्लो भनिएको हो?
जीवनमा विभिन्न जातजाती, धर्म, संस्कृति एवम् विविधतामय पहिचानमा एकीकृत भएर बसोवास गरेका नेपालीलाई अनुभव गर्न पाएकाले नेपाली जीवनलाई विविधताको सुन्दर साङ्लो भनिएको हो।
घ) अनुच्छेदमा नेपालमा रहेका कुन-कुन संस्कृति उल्लेखित छन्?
अनुच्छेदमा नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेका सम्पूर्ण साझा संस्कृति उल्लेखित छन्। जस्तै काठमाडौंको नेवार, मुस्ताङको थकाली, पूर्वको किराँत, उत्तरको शेर्पा, तराईको मधेसी, पश्चिमको मगर र थारु साथै दार्चुला, कर्णाली हुँदै काठमाडौँ उपत्यकाको कञ्चनजङ्घाको काखसम्मको संस्कृति उल्लेखित छन्।
६. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
जीवनमा आलोचनात्मक हुन प्रश्न गर्नुपर्छ। प्रश्नबाट नै तथ्य थाहा हुन्छ र तथ्यबाट नै सत्य बोध हुन्छ। प्रश्न गर्ने बानीले मानिसलाई विवेकशील बनाउँछ र बुद्धि दिन्छ। त्यसैले जीवनमा आलोचनात्मक हुन प्रश्न गर्ने बानी बसाल्नुपर्छ।
आ) निबन्धांशमा कस्तो संस्कृतिको परिकल्पना गरिएको छ?
निबन्धांशमा कुनै पनि वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्गका आधारमा विभेद नगरी सबैको मूल्य र मान्यता अटाउन सक्ने विभेदरहित, न्याय र समतामूलक, सुन्दर, शान्त र साझा संस्कृतिको परिकल्पना गरिएको छ।
७. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
अ) संस्कृति भनेको के हो?
संस्कृति भनेको हाम्रो परिचय, पहिचान एवम् अनुभूति हो। संस्कृति हामी नेपाली हौँ भनी हाम्रो मौलिक पहिचान दिने आधार हो।
आ) संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरू के-के हुन्?
संस्कृतिको नाममा वर्ण, रङ, जात, धर्म, वर्ग, लिङ्ग, सम्प्रदायका आधारमा हुने विभेदको अन्त्य हुनुपर्छ। हरेक समुदायले आफ्नो भाषा, लिपी, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्न पाउनुपर्छ भन्ने कुराहरू संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरू हुन्।
८. उत्तर लेख्नुहोस्:
क) नेपालमा के कस्ता सांस्कृतिक विविधता छन्?
नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरूको संगम हो। यहाँ काठमाडौंको नेवार संस्कृति, मुस्ताङको थकाली संस्कृति, पूर्वको लिम्बू संस्कृति, उत्तरको शेर्पा संस्कृति, मधेसको मधेसी संस्कृति, पश्चिमको मगर र थारु संस्कृति, र सुदूरपश्चिमको राउटे संस्कृति जस्ता सांस्कृतिक विविधता पाइन्छ। यी सबै संस्कृतिहरूले मिलेर नेपाललाई एक सुन्दर सांस्कृतिक बगैंचाको रूप दिएका छन्।
ख) श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?
श्रम र संस्कृति एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। श्रमिक वर्गले आफ्नो श्रमबाट जीविका चलाउँछ, र तिनीहरूको संस्कृति श्रमकै माध्यमबाट विकसित हुन्छ। श्रमिकहरूको लोकगीत, लोककथा, र परम्परागत नृत्यहरू श्रमसँग सम्बन्धित छन्। तसर्थ, श्रम र संस्कृति एकअर्कालाई प्रभावित गर्दै अगाडि बढ्छन्।
ग) न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।
न्यायपूर्ण संस्कृतिको निर्माणका लागि वर्ग, जाति, धर्म, लिङ्ग जस्ता आधारमा हुने विभेदलाई समाप्त गर्नुपर्छ। संविधानले महिलाहरू र पुरुषहरूलाई समान अधिकार दिएको छ र यसको प्रभावकारी कार्यान्वयनले न्यायपूर्ण समाजको निर्माण सम्भव छ। सबै व्यक्तिहरूलाई समान अवसर र अधिकार प्रदान गरी, विभेदरहित समाज स्थापना गर्नु नै न्यायपूर्ण संस्कृतिको निर्माणको आधार हो।
९. व्याख्या गर्नुहोस् :
क) नेपालको लामो इतिहास र सभ्यताको निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए, मेरो देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरु एकै फुलबारीका साझा फुलहरु थिए ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने ‘संस्कृतिको नयाँ यात्रा’ नामक निबन्धबाट साभार गरिएको हो। यस निबन्धका लेखक सुधा त्रिपाठी हुन्। यस निबन्धमा, उनले आफूलाई ‘म’ पात्रको रूपमा चित्रण गर्दै जीवनलाई एक गतिशील यात्राको रूपमा व्याख्या गरेकी छन्। निबन्धले सांस्कृतिक विभेदको अन्त्य हुनुपर्ने र सम्पूर्ण संस्कृतिहरूले राष्ट्रको समृद्धिमा योगदान दिने कुरालाई स्पष्ट पार्न खोजेको छ।
माथि दिइएको वाक्यांशले हामीलाई के भन्न खोजेको छ भने प्राचीन कालदेखि नै विभिन्न संस्कृतिहरूले नेपालको जीवन प्रक्रियामा महत्वपूर्ण स्थान ओगट्दै आएका छन्। दार्चुला, कर्णाली हुँदै काठमाडौँ उपत्यका र कञ्चनजङ्घाको काखसम्मका संस्कृतिहरू सम्पूर्ण नेपालीहरूको साझा सम्पत्ति हुन्। यी संस्कृतिहरूले नेपाललाई सांस्कृतिक विविधताले भरिपूर्ण बनाएका छन् र राष्ट्रको गौरवलाई उच्च बनाएका छन्। नेपालमा विभिन्न व्यक्तिहरूका आ-आफ्ना संस्कृतिहरू भए तापनि सबैजना नेपाली हुनुमा गर्व गर्छन् र एकताको छायाँमा बस्छन्।
‘म’ पात्रले नेपाललाई एक फुलबारीको रूपमा तुलना गर्दै विभिन्न संस्कृतिका सप्तरङ्गी फूलहरू मध्ये आफू पनि एक भएको बताएकी छन्। उनले आफ्नो संस्कृति र सम्पत्ति प्रति गर्व व्यक्त गर्दै, सांस्कृतिक विविधतामय एकताको महत्त्वलाई उजागर गरेकी छन्।
अतः सुधा त्रिपाठीले ‘म’ पात्रमार्फत जीवनलाई एक गतिशील यात्रा र नेपाललाई सांस्कृतिक विविधतामय एकता भएको सुन्दर फुलबारीको रूपमा चित्रण गरेकी छन्। उनले सरल र प्रभावशाली शैलीमा नेपाली समाजको विविधता र एकतालाई प्रशंसा गरेकी छन्।
ख) संस्कृतिका नाममा…………………………………..भेद विकृति हुन् ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘संस्कृतिको नयाँ यात्रा’ नामक निबन्धबाट साभार गरिएको हो। यस निबन्धका लेखक सुधा त्रिपाठी हुन्। उनी सम्पूर्ण नेपालीको मनमा बस्न सफल भएकी छन्। मुख्यत: सांस्कृतिक रचना गर्न मन पराउने भएकाले नै धेरैजसो उनका कृतिहरू संस्कृतिसँग सम्बन्धित हुने गर्छन्। उनले यस निबन्धमा पनि ‘म’ पात्रको चित्रण गरी मानवीय जीवनलाई सांस्कृतिक यात्रासँग तुलना गरेर नेपालमा विद्यमान संस्कृतिको महत्त्व र यसमा रहेका विकृतिलाई हटाउनुपर्छ भन्ने कुरालाई स्पष्ट पारेकी छिन्।
माथि दिइएको वाक्यांशले हामीलाई के भन्न खोजेको छ भने जसरी सम्पूर्ण विषयवस्तुको सवल र दुर्बल पक्ष हुन्छ, त्यसरी नै नेपालमा विद्यमान संस्कृतिको पनि केही दुर्बल पक्षहरू रहि आएका पाइन्छन्। अहिलेको यो विकसित समयमा आएतापनि संस्कृतिका नाममा गरिने विभेदहरू दुर्गम गाउँमा अझै व्यापक नै छन्। परम्परागत अवधारणालाई अनुशरण गरेकै कारण ती विभेदको अन्त्य भएको छैन। संस्कृतिका नाममा गरिने विभेदले समाजलाई विकृतिको मार्गमा लगिरहेको छ। उदाहरणका लागि, महिला र पुरुषबीचको भेदभाव, जातीय भेदभाव, र धार्मिक असहिष्णुता अझै पनि हाम्रो समाजमा जरा गाडेर बसेका छन्।
त्यसैले हामी सम्पूर्ण नेपालीहरू एकीकृत भई त्यस्ता विभेद एवम् विकृतिलाई परै पन्छाएर अघि बढ्नुपर्छ। यसरी ‘म’ पात्रको चित्रण गरेर सांस्कृतिक विभेदलाई अन्त्य गर्ने कुरालाई विस्तृत रूपमा वर्णन गरिएको पाइन्छ। साथै, त्रिपाठीले सांस्कृतिक एकता र सहिष्णुताको महत्त्वलाई पनि जोड दिएकी छिन्। उनले समावेशी समाजको निर्माणका लागि सबैलाई आ-आफ्नो ठाउँबाट योगदान गर्न आह्वान गरेकी छिन्।
अतः निबन्धमा धेरै सरल वाक्यको प्रयोग गरी जीवन एक सांस्कृतिक यात्रा हो भन्ने कुरालाई छर्लङ्ग पार्न खोजिएको पाइन्छ। यस निबन्धले नेपाली समाजमा विद्यमान सांस्कृतिक विभेदको अन्त्य गर्न र एक समतामूलक समाज निर्माण गर्न प्रेरित गर्छ।
१०. समीक्षात्मक उत्तर लेख्नुहोस्:
क) नेपालमा विद्यमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।
सुधा त्रिपाठीद्वारा रचित ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धमा मुख्यतया संस्कृतिका सबल पक्षलाई केन्द्रित गरिएको छ। नेपाल एक भौगोलिक, जातीय, धार्मिक, सांस्कृतिक, र लैंगिक विविधता भएको समृद्ध मुलुक हो। यद्यपि, उक्त विविधता बीच पनि सहिष्णुताका साथ जीवन गरेको एकताको स्थितिले प्रष्ट पार्छ कि हामी हाम्रा विविध संस्कृतिका बीच पनि उदार र गुणग्राही रहँदै आएका छौं। लामो समयदेखिको यो विविधतालाई स्वीकार गर्दै यसको महत्त्वलाई बुझ्नु नै नेपाली समाजमा विद्यमान संस्कृतिको एकदम सबल पक्ष हो।
तर, संस्कृतिको आजको अवस्था सम्म आइपुग्ने क्रममा विभिन्न विषमता, विभेद, र बहिष्कारको अवस्था उत्पन्न भएको छ। उदाहरणका लागि, जातीय विभेद, लैंगिक असमानता, र धार्मिक असहिष्णुता अझै पनि हाम्रो समाजमा विद्यमान छन्। यी विषमताहरू नेपाली संस्कृतिको दुर्बल पक्ष हुन्। यद्यपि, यी समस्याहरूका बावजुद नेपाली संस्कृतिका सबल पक्षहरू प्रसस्त रूपमा रहेका छन्, जसले गर्दा नेपाली संस्कृति जीवित र प्रगति गर्दै आएको छ।
ख) 'सांस्कृतिक रूपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ' विवेचना गर्नुहोस्।
दुर्गम ठाउँमा जन्मिएर नेपाली साहित्यिक जगतमा अविस्मरणीय भूमिका निर्वाह गरेकी साहित्यकार सुधा त्रिपाठीले रचेको यस निबन्धमा साहित्यिक यात्राको कुरालाई छर्लङ्ग पारिएको छ। भूगोल, जात, धर्म, भाषा, लिङ्ग, वर्ग, संस्कृति आदिका आधारमा विविधता भएको हाम्रो देशमा विभिन्न प्रकारका विकृतिहरू रहेका छन्।
संस्कृति समाज वा राष्ट्रको धरोहर हो। हरेक मानिसको आ-आफ्नै प्रकारका संस्कृति हुन्छन्। ती संस्कृतिमा समानता र न्याय भएन भने समाजले प्रगति गर्न सक्दैन। उदाहरणका लागि, महिला भएकै कारण अपहेलित हुनु, गरिब भएकै कारण सांस्कृतिक पहुँच नहुनु, ग्रामीण भेगमा बसोबास गर्ने भएकै कारण सांस्कृतिक पहुँच नहुनु समाज विकासका बाधक हुन्। हामी बाँचिरहेको पृथ्वी साझा हो, हाम्रा भावना साझा छन्। तसर्थ, संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ, भूगोल, जाति, धर्मका आधारमा हुने भेदभाव विकृति हुन्। यस्ता विकृतिहरूलाई संविधानले पनि स्थान दिनु हुँदैन। संविधानले कानुन विपरीत मानेका विषयहरूलाई हामीले कार्यान्वयनमा ल्याउन जरुरी छ।
सांस्कृतिक रूपमा सबैलाई न्याय गर्ने परिपाटीले मात्र सबैको सम्मान गर्ने समतामूलक समाजको निर्माण गर्न सक्छ। यसर्थ, समाजमा विद्यमान विभेदहरूलाई अन्त्य गर्दै सबैको समान अवसर र अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता छ। न्यायपूर्ण सांस्कृतिक व्यवस्थाले मात्र एकता, सहिष्णुता, र समृद्धिको आधारमा समाजको निर्माण गर्न सक्छ।
११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) संस्कृतिभित्र के-के लुकेका हुन्छन्?
संस्कृतिभित्र कुनै पनि जातजातिका लवाइखवाइ, विशभूषा, भाषा, दर्शन, मान्यता र विश्वास लुकेका हुन्छन्।
ख) बहुजातीय मुलुकका के कस्ता विशेषता हुन्छन्?
बहुजातीय मुलुकमा सांस्कृतिक विविधता, सांस्कृतिक सम्पन्नता, जातीय पृथकता, जातीय सद्भाव, राष्ट्रिय एकता, धार्मिक तथा सांस्कृतिक मेलजोल जस्ता विशेषता हुन्छन्।
ग) 'संस्कृति मधुरस हो, सभ्यता धार हो' भन्नुको तात्पर्य के हो?
जसरी विनाधार मधुरस भण्डारण हुन सक्दैन, ठीक त्यसैगरी सभ्यता बिना संस्कृति पनि फक्रन सक्दैन। नेपालीहरूको साझा सभ्यता र संस्कृतिको मेलका कारण नेपाल मधुरसले भरिपूर्ण मौरीको घार जस्तै बनेको छ भन्नु नै यसको तात्पर्य हो।
घ) `पृथक्ता´ र `अभ्यागत´को अर्थ लेख्नुहोस् ।
पृथक्ता: अलग हुनु, विभाजित हुनु, फरक हुनु।
अभ्यागत: पाहुना, अतिथि, आगन्तुक।
१२. दिइएको अनुच्छेद पढी चारवटा मुख्य बुँदाहरु टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस् ।
बुँदाहरु:
१. पुर्खाको विगत, हाम्रो वर्तमानको व्यवहार नै भोलिका सन्तानको साँस्कृतिक धरोहर बन्नु,
२. आमाबुबा, गुरु, पाहुना, वनस्पतिलाई देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हुनु,
३. छोराछोरीलाई संस्कारयुक्त शिक्षा दिएमा संस्कार र संस्कृतिको संरक्षण हुने,
४. परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले यसको संरक्षण गर्नुपर्ने ।
एक तृतीयांशमा सारांश:
नेपाली संस्कृति
पुर्खाको विगत र हाम्रो वर्तमान व्यवहार भोलिका सन्तानको साँस्कृतिक धरोहर बन्न जान्छ। आमाबुबा, गुरु, पाहुना र वनस्पतिलाई देवत्वकरण गरी आदर गर्ने संस्कृति हाम्रो अमूल्य निधि हो। छोराछोरीलाई संस्कारयुक्त शिक्षा दिएमा संस्कार र संस्कृतिको संरक्षण हुन्छ। परोपकारी बनाउने संस्कार र संस्कृति हाम्रो प्राण भएकाले यसको संरक्षण गर्नुपर्छ।
व्याकरण अभ्यास
पदवर्ग: नाम
१. दिइएको अनुच्छेद पढी नाम वर्गका शब्दको पहिचान गर्नुहोस् ।
हुल, भिक्षु , स्तूप, परिक्रमा, सहर, भीमसेन, स्तम्भ, मन्जु, स्वयम्भू, प्राङ्गण, वुवा, खुशी, व्यक्त, नारायणहिटी, दरबार, सिंहदरबार, हनुमानढोका, एयरपोर्ट, कीर्तिपुर,महिमा, काठमाडौं, दृश्य, हात, प्रसाद, झोला, बाँदर ।
२. दिइएका शब्दहरुबाट एउटै उपवर्गमा पर्ने नामहरुको सुची बनाउनु होस् ।
क) व्यक्तिवाचक नाम
गोपाल, काठमाडौं, कर्नाली, रामायण, मुनामदन, तिहार, होली, तिज, धरमपुर, दसैँ
ख) जतिवाचक नाम
फूल, गाई, माछो, किताब, घर, विद्यालय, जुत्ता, औंठी, टोपी, साइकल, कार
ग) समूहवाचक नाम
वथान, लहर, चाङ, खात, फौज, झुप्पो
घ) द्रव्यवाचक नाम
रगत, कुहिरो, ढुङ्गा, माटो, सुन, चाँदी, चामल, पानी, शोभिता, तेल
ङ) भाववाचक नाम
रिस, बसाइ, चोरी, युद्ध, मुर्ख्याइँ, प्रेम, घृणा, मानवता, शिक्षा, पढाई, जवानी, गरिबी, बाल्यावस्था
३. दिइएको अनुच्छेदबाट बिसओटा नाम शब्द टिप्नुहोस् ।
नेपाल, पर्व, नारी, रुप, गौरा, महिला, व्रत, भगवान्, शिव, पार्वती, पुजा, सुख, समृद्धि, कामना, नदी, घर, पोखरी, चना, गहुँ, मकै ।
४. पाठको पहिलो अनुच्छेदमा रहेका नाम शब्दहरु टिप्नुहोस् ।
वाल्यकाल, दसैँ, स्मृति, हृदय, नेपाल, पहाड, गाउँ, संस्कृत, महिना, बुबा, आमा, झरना, कोसी, नदी, लेखनाथ, बाढी, झरी, पहिरो, हिलो, धर्ती, पुर्खा, लुगा, पिङ, खाना, केरा, कुराउनी, मासु, चिउरा, परिकार, दक्षिणा, बालिका, तिहार, खुशी, जीवन आदि ।
पदवर्ग: सर्वनाम
१. दिइएको अनुच्छेदमा नामको सट्टामा उपयुक्त सर्वनाम पद प्रयोग गरि पुनर्लेखन गर्नुहोस् ।
क) आमाबुबाले छोराछोरीलाई पढ्नका लागि धनगढी पठाए । उनीहरु त्यहाँ बसी धेरै पढे । छोरी पढीसकेपछी गाउँ फर्की । उसले गाउँमा एउटा विद्यालय खोली । केही वर्षपछि छोरो पनि गाउँमै फर्क्यो । उसले पनि त्यस विद्यालयमा पढाउन थाल्यो । आमाबुबा खुशी हुनुभयो ।
ख) मेरी छोरी ज्ञानुले व्यवस्थापनामा स्नातक गरिन् । उनी आफ्नो गाउँमा गइन् । उनले गाउँमा उद्योग खोलिन् । उद्योगमा धेरै मानिसले जागिर पाए । उनीहरुको आर्थिक स्थिति सुध्रियो ।
२. दिइएका सर्वनामलाई मिल्दाजुल्दा उपवर्गमा सूचीकृत गर्नुहोस् ।
क) पुरुषवाचक सर्वनाम
अ) प्रथम पुरुषवाचक : म, हामी
आ) द्वितीय पुरुषवाचक : तँ ,तिमी, तपाई ,तपाईंहरु
इ) तृतीय पुरुषवाचक : ऊ, त्यो, उनी, उनीहरु, उहाँ, उहाँहरु
ख) दर्शकवाचक सर्वनाम
यो, यी, यिनीहरु, त्यो, ती, तिनीहरु
ग) सम्बन्धवाचक सर्वनाम
जो, जे, जुन, जेसुकै, जोसुकै, जुनसुकै
घ) प्रश्नवाचक सर्वनाम
को, के, कुन, केही, कोही, कुनै
ङ) निजवाचक सर्वनाम
आफू, आफैं, स्वयम्, निज, अरु
३. दिइएको गद्यांश पढी दशवटा सर्वनाम टिप्नुहोस् ।
म, हामी, तिमी, उनीहरु, तपाईं, को को, ऊ, जोसुकै, तँ, यस, आफै ।
४. दिइएका सर्वनामलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
त्यो
त्यो किताब मैले हिजो बजारमा देखेँ।
तिनीहरू
तिमीले तिनीहरूलाई बेलुका पार्टीमा बोलाएको छौ?
यी
यी फूलहरू धेरै सुन्दर छन्।
स्वयम्
उसले यो कठिनाइलाई स्वयम् पार गर्यो।
जे
तिमीले जे भनेका थियौ, मैले त्यही गरें।
को
त्यो मान्छे को हो, मलाई थाहा छैन।
के
तिमीले के किन्न चाहन्छौ?
आफू
उसले आफूले गरेको कामको गर्व गर्छ।
उहाँ
उहाँ हाम्रा स्कूलका प्रधानाध्यापक हुनुहुन्छ।
कोही
कोही मानिसले यो कार्य सहजै गर्न सक्दैन।
प्रत्येक
प्रत्येक विद्यार्थीले परीक्षा राम्रोसँग दिनुपर्छ।
अरु
तिमी अरु मानिसहरू जस्तै देखिन्छौ।
सबै
सबैले मिलेर काम गर्दा सजिलो हुन्छ।
केही
उसले केही पैसा बचत गरेको छ।
हजुर
हजुर यहाँ के गर्दै हुनुहुन्छ?
पदवर्ग – विशेषण
१. दिइएको गद्यांशबाट विशेषण शब्द पहिचान गरी लेख्नुहोस् ।
एक, दुइटा, त्यस, एउटा, ठुलो, चलाख, कमजोर, धुर्त, मेरा, यो, धमिलो, प्रिय, सफा, सानो ।
२. दिइएका पदावलीबाट विशेषण शब्द छानी तिनलाई उपवर्गमा वर्गीकरण गर्नुहोस् ।
क) गुणबोधक विशेषण
सेतो, बलियो, गतिलो, बुझक्कड, चड्दो, शीतल, सांस्कृतिक, नैतिक, मलिलो
ख) सङ्ख्याबोधक विशेषण
लाखौं, पाँच, सयौं, सप्त
ग) परिमाणबोधक विशेषण
प्रशस्त, अलिकति, थोरै, सबै
घ) सार्वनामिक विशेषण
यो, त्यो, यी, ती
ङ) भेदक विशेषण
उसको, मेरो, तिम्रो
३. दिइएको अनुच्छेदबाट दशओटा विशेषण शब्द पहिचान गरि टिपोट गर्नुहोस् ।
मेरो, सेता, हरियो, उर्वरशील, विविध, अनेक, सयौं ,मेहनती, यस, वीर, स्वच्छ, प्राकृतिक, नेपालको ।
४. ` संस्कृतको नयाँ यात्रा´ निबन्धबाट पाँचवटा विशेषण शब्दहरु टिप्नुहोस् ।
मेरो, एक,निलो, मीठो, यी, दुर्गम, गतिशील, साझा, सबै, वास्तविक, हाम्रो, नयाँ ।
पदवर्ग – क्रिया
१. दिइएको गद्यांशबाट क्रियापद पहिचान गरी लेख्नुहोस् ।
झुके, वने, सकेनन्, सजिए, बनेनन् , सकेनौँ, पोलिए, बद्लिए, बहकिए, मिसिए, लरबरियो, रह्यो ।
२. दिइएका क्रियापद प्रयोग गरी आफूलाई मनपर्ने विषयमा छोटो अनुच्छेद लेख्नुहोस् ।
मेरो भाइले सरकारी स्कुलमा पढेर सरकारी जागिर खान सफल भएकोमा म गर्व गर्दछु। अहिले उसले विद्यालयमा शिक्षण पेशा अपनाएको छ। म उसको उज्ज्वल भविष्यको कामना गर्छु र उसको असल शिक्षक बनेर नाम कमाउने चाहना राख्छु। प्रत्येक दिन भाइ विद्यालयबाट कतिखेर फर्किन्छ भनेर पर्खंदा म उत्साहित हुन्छु। श्यामले "भाइ विद्यार्थीहरूसँगै बाटोमा हिँड्दै थियो" भन्न नपाउँदै भाइ आँगनीमा टुप्लुक्क आइपुग्छ। श्यामको झुटो कुरा सुनेर भाइले रिसाएको जस्तो देखाउँदा श्याम डराएर जुरुक्कै उठ्छ। भाइको यो चञ्चलता र उसकी प्रतिभाले हामी सबैलाई गर्वान्वित बनाएको छ।
३.दिइएका क्रियापदलाई मिल्दो उपवर्गमा वर्गीकरण गर्नुहोस् ।
१. अर्थप्रधानताका आधारमा
क) मुख्य क्रिया
सुन्छ, पढ्छ,हाँस्छ, भयो, रुदैँ, हुन्छ, ल्याउँछ, बनाउँछ, आइ, गएको, हुनु, उम्रँदै, वाङ्गिन्छ, भुतभुताउनु, छापेको, फरफरायो, कलकलाउँछ, लेख्छ, दियो, पढ्ने, भएको, भिजाउँदै, गर्दछौं, सुनिन्छ ।
ख) सहायक क्रिया
छ, हाल्छ, सक्यो, पगे, हो, थियो, छन् , सकेछ ।
२. बनोटका आधारमा
क) सरल क्रिया
सुन्छ, पढ्यो, ल्याउँछ, सक्यो, बनाउँछ, भयो, खोज्यौँ, वाङ्गिन्छ, फरफरायो, कलकलाउँछ, लेख्छ,दियो, गर्दछौ, सुनिन्छ ।
ख) जटिल क्रिया
भनिहाल्छ, रुदै छ, आइसक्यो, आइपुगे, गएको हुने छ, उम्रँदै छ, भुतभुताएको छ, छापेको थियो, पढ्ने छ, भएको छ, भिजाउँदै छ, लेखिसकेछ ।
३. कर्मका आधारमा
क) सकर्मक क्रिया
सुन्छ, पढ्यो, ल्याउँछ, बनाउँछ, खोज्यौ, लेख्छ, दियो, पढ्ने छ, भिजाउँदै छ, गर्दछौ ।
ख) अकर्मक क्रिया
हाँस्छे, दगुर्छन्, रुँदै छ, आइसक्यो, छ, हो, उम्रँदै छ, फरफरायो, कलकलाउँछ, भएको छ, सुनिन्छ ।
४. दिइएको अनुच्छेदबाट बाह्रओटा क्रिया टिप्नुहोस् ।
पर्दै छ, भएको छ, ल्यायो, हरायो, वगायो, पुर्यो, आएछ, सुन्छु, हेर्छु, छुन्छ, रुवाउँछ, पर्छन्, बन्दछ ।
५. `संस्कृतिको नयाँ यात्रा´ निबन्धको दोस्रो अनुच्छेदबाट पन्ध्रओटा क्रियापद टिप्नुहोस् ।
हो, रहेछौ, रहेछ, पुगेँ, भयो, थालेँ, पाएँ, मनाउँथ्यौ, मनाउँथे, गाउँथे, गर्थे, बताउँथे, भएँ, बुझेँ, गरेँ, थिए ।
Related Documents
No specific documents yet
There are no documents specifically linked to this topic yet. Check back soon for updates!
View All Subject DocumentsAbout National Examinations Board
This content is part of Nepali offered by National Examinations Board. This institution is committed to providing high-quality educational resources.
Frequently Asked Questions
This content is carefully structured to build understanding progressively, starting with fundamentals and advancing to more complex concepts.
Yes, once you have access, you can revisit this Sanskritiko naya yatra content as many times as you need.
Practice exercises and examples are integrated throughout the content to reinforce your understanding of Sanskritiko naya yatra.
Ready to Master Sanskritiko naya yatra?
Continue your learning journey in Nepali and explore more comprehensive educational content.