पाठ ५: साथीलाई चिट्ठी सम्पूर्ण अभ्यास - Sathilai Chitthi - Class 11 Nepali
शब्दभण्डार
१. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस्:
क) मलेसियाको मुद्रा: रिङ्गेट
ख) विदेश: परदेश
ग) नागरिक नभएको अवस्था: अनागरिक
घ) मर्न लागेकालाई बचाउने: मृतसञ्जीवनी
ङ) सफा: कञ्चन
च) उथलपुथल: उद्वेलित
छ) कार्य गर्ने क्षमता भएको: सामर्थ्य
ज) जन्मेको ठाउँ: जन्मथलो
२. दिइएका शब्दहरूको अर्थ चिनेर जोडा मिलाउनुहोस्:
क) रहर: इच्छा, एक किसिमको दाल
ख) काम: कम्प, कार्य
ग) पत्र: चिठी, तह
घ) कडी: सानो कडा वा मुन्द्रो, जुक्ती
ङ) अन्तर: भिन्नता, भित्री हृदय
३. दिइएका अनेकार्थी शब्दहरूको एकभन्दा बढी अर्थ लेख्नुहोस्:
- मास: महिना, एक प्रकारको दाल
- खरी: एक प्रकारको रूख, लेख्न प्रयोग गरिने सेतो पत्थर, मादल/तबला आदिमा लगाउने मसला
- ताल: पोखरी, चाल, बाजाको मात्रा, मौका
- खाग: गैँडाको नाकमाथिको मूल्यवान अङ्ग, अग्राख, जान्ने–सुन्ने
- फेरी: हरिणको सिङको बाजा, प्रदक्षिणा
- साँचो: सत्य, ताल्चा खोल्ने साधन
- कछाड: छोटो धोती, पहाडको तल्लो भाग
- अर्थ: मतलब, प्रयोजन, धन
- चरण: तह, पाउ, श्लोकको एक पङ्क्ति
- काल: समय, मृत्यु
४. दिइएका पदावलीलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्:
- कहाली लाग्नु: भूकम्पको त्रासदी सम्झिँदा मानिसको मनमा अझै कहाली लाग्छ।
- टपाटप टिप्नु: आँधीबेहरीले फलफूलका रूखका स्याउ टपाटप टिपेझैं झारिदियो।
- महिना मर्नु: महिनामर्नासाथ सधैंजसो पसलमा नयाँ सामान आउने गर्छ।
- रोइकराइ गर्नु: बालकले खेलौनाका लागि रोइकराइ गर्दै आमासँग जिद्दी गर्यो।
- वितृष्णा पलाउनु: बारम्बारको असफलताले उसलाई काममा वितृष्णा पलाउन थाल्यो।
- हातमुख जोड्नु: ज्यालादारी काम गरेर हातमुख जोड्न धेरै श्रमिकले संघर्ष गर्छन्।
- उजुरी गर्नु: सडक मर्मत ढिलो भएको भन्दै स्थानीयले नगरपालिकामा उजुरी गरे।
- श्रम स्वीकृति लिनु: खाडी मुलुकमा रोजगारीका लागि जाने सबैले श्रम स्वीकृति लिनुपर्छ।
- अवैधानिक: नक्कली कागजात प्रयोग गरेर पासपोर्ट बनाउनु अवैधानिक मानिन्छ।
- बदला लिनु: चुनावमा पराजय भएपछि उनले बदला लिनका लागि नयाँ रणनीति बनाउने सोच गरे।
- सहारा बन्नु: पढाइ छोडेका बालबालिकालाई पुनः शिक्षामा फर्काउन शिक्षकहरू सहारा बने।
बोध र अभिव्यक्ति
१. पाठ पढी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस्:
क) चिठीमा कति अनुच्छेद रहेका छन्?
चिठीमा सातवटा अनुच्छेद रहेका छन्।
ख) चिठीको आदि, मध्य र अन्त्य भागमा के विषयवस्तु छन्?
चिठीको आदि भागमा वैदेशिक रोजगारीप्रतिको मोह देखाइएको छ। मध्य भागमा वैदेशिक रोजगारीले दिएको क्षणिक सुखको अनुभव र अन्त्य भागमा स्वदेशप्रतिको प्रेम र मोह व्यक्त गरिएको छ।
ग) पूर्णविक्रमले सुरुका दुई–तीन वर्ष विदेशमा कसरी बिताए?
पूर्णविक्रमले विदेशमा सुरुका दुई–तीन वर्ष रमाइलो गर्दै र विलासितामा बिताए।
घ) पूर्णविक्रम कस्तो सपना बोकेर विदेश गएका थिए?
पूर्णविक्रम विदेशमा सुनको बोटबाट पैसा टिपेर चाँडै धनी हुने सपना बोकेर गएका थिए।
ङ) चिठीमा के–के अङ्गहरू हुन्छन्? लेख्नुहोस्।
चिठीमा मिति, ठेगाना, सम्बोधन, शिष्टाचार, विवरण, समापन, र खामको नमुनाजस्ता अङ्गहरू हुन्छन्।
२. चिठीको अंश पढी खाली ठाउँ भर्नुहोस्:
क) दुई महिनापछि काममा फर्कंदा कम्पनीले पनि राखेन।
ख) त्यति बेला मात्र मलाई थाहा भयो, देश र परदेशको अन्तर! नागरिक हुनु र अनागरिक हुनुको अन्तर!
ग) जीवनप्रति वितृष्णा पलाइरहेको थियो।
घ) छिट्टै नेपाल फर्केर आफ्नै माटोमा परिश्रम गरी जीवन निर्वाह गर्ने विचारमा छु।
ङ) अबको तीन महिनाभित्र म आफ्नो जन्मथलो, आफ्ना आमाबुबाको काख र प्रियजनहरूको माझमा हुने छु।
३. चिठीको अंश पढी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस्:
क) नेपालको जलराशिमा कस्तो सामर्थ्य छ?
नेपालको जलराशिमा विश्वभरका मानिसहरूको प्यास मेटाउने क्षमता छ।
ख) हाम्रो देशको विकासले गति लिन नसक्नुको कारण के हो?
जनताको दृढ इच्छाशक्ति र इमानदार प्रयासको कमीले देशको विकासले गति लिन सकेको छैन।
ग) परदेशमा सिकेको सीपले कसरी देश विकास गर्न सकिन्छ?
परदेशमा सिकेको सीपलाई देशमै प्रयोग गरी र अरुलाई पनि सिकाएर स्वरोजगारको वातावरण सिर्जना गरेर देशको विकास गर्न सकिन्छ।
घ) देश विकासको मूल मन्त्र के हो?
देश विकासको मूल मन्त्र सबै जनताले सहकार्य र हातेमालो गर्दै अघि बढ्नु हो।
ङ) म पात्र किन घर फर्कन चाहन्छ?
वैदेशिक रोजगारीको निराशाजनक अनुभवले गर्दा म पात्र स्वदेश फर्कन चाहन्छ।
४. चिठीको अंश पढी प्रश्नहरूको उत्तर लेख्नुहोस्:
क) म पात्रले गरेका सही र गलत निर्णय के–के थिए?
सही निर्णय: वैदेशिक रोजगारी छोडेर आफ्नो गाउँ, परिवार र देश सम्झेर फर्कनु।
गलत निर्णय: पैसा कमाउने मोहमा विदेशिनु, विदेशिएपछि परिवारलाई बिर्सनु, र पैसा बचत नगर्नु।
ख) म पात्रको घर फर्कने निर्णयप्रति तपाईंको धारणा के हो?
म पात्रले घर फर्कने निर्णय गर्दा आफ्नो मातृभूमिप्रतिको माया र युवाहरुलाई स्वदेशमै रहँदै देश विकासमा योगदान पुर्याउन प्रेरणा दिने प्रयासलाई सकारात्मक रूपमा लिन सकिन्छ।
५. पूर्णविक्रमको ठाउँमा तपाईं भएको भए के गर्नुहुन्थ्यो?
यदि म पूर्णविक्रमको ठाउँमा भएको भए, पैसाको लोभमा आफ्नो देश र परिवार छाडेर विदेश जाने थिएन। म आफ्नो शिक्षा पूरा गरेर स्वदेशमै रोजगारी खोज्थे। यदि विदेश जानुपर्ने परिस्थिति आएको भए, केही समयको लागि गएर पैसा कमाएर फर्केर आफ्नै देशमा स्वरोजगार बन्थे। साथै, विदेशमा सिकेका सीप र अनुभवलाई स्वदेशमै प्रयोग गरेर आर्थिक गतिविधि वृद्धि गर्न प्रयास गर्थे। अन्य युवाहरुलाई पनि स्वदेशमै अवसर खोज्न र देश निर्माणमा योगदान दिन प्रेरित गर्थे। विदेशमा अपमान सहनुभन्दा आफ्नै देशमा इमानदारीपूर्वक काम गर्ने प्रयासलाई प्राथमिकता दिन्थे।
६. तपाईँ सुरज हुनुभएको भए चिठीको प्रतिउत्तर कसरि दिनुहुन्थ्यो? लेख्नुहोस:
मिति: २०७७-०१-०७
पोखरा, गण्डकी प्रदेश
नेपाल
प्रिय मित्र पूर्णविक्रम,
धेरै माया र सम्झना!
म यहाँ कुशल छु, तपाईँ पनि कुशल रहनुभएको आशा गर्दछु। तपाईँको पत्र गत महिना प्राप्त भयो। पत्रमा व्यक्त विचारले मलाई अत्यन्त खुसी बनायो। तपाईँको वैदेशिक रोजगारीप्रतिको दृष्टिकोण परिवर्तन र स्वदेश फर्कने निर्णयले मलाई गर्वान्वित बनायो।
तपाईँले विदेशमा सिकेका सिपहरू स्वदेशमा प्रयोग गर्ने योजना राम्रो छ। गाउँका युवाहरूलाई प्रोत्साहित गरेर उनीहरूलाई स्वरोजगार बनाउने योजनामा म तपाईँको साथ दिन तयार छु। म यहाँका युवाहरूलाई नयाँ सीप सिकाउन र रोजगारीको अवसर सिर्जना गर्न प्रयास गर्नेछु। तपाईँ कहिले नेपाल आउनुहुन्छ? प्रतिक्षामा छु।
तपाईँको अनुभवले विदेश र स्वदेशबीचको अन्तरलाई राम्ररी बुझेको देखाउँछ। विदेशमा तपाईँले भोग्नुभएको कठिनाइले धेरै कुरा सिकाएको छ। तपाईँको स्वदेश फर्कने निर्णयलाई म हृदयदेखि स्वागत गर्दछु।
आजलाई यतिमै कलम रोकिन्छ। तपाईँ चाँडै फर्कनुहुने छ भन्ने विश्वासमा छु। भेटमा थप कुरा गरौँला।
उही तपाईंको साथी,
सुरज नेपाल
७. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर:
क) मूल्याङ्कन भनेको के हो?
मूल्याङ्कन भनेको शिक्षण-सिकाइ प्रक्रियामा शैक्षिक उद्देश्यहरू कति हदसम्म प्राप्त भए भन्ने कुरा निर्धारण गर्ने प्रक्रिया हो।
ख) निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनबीच फरक:
- निर्माणात्मक मूल्याङ्कन: सिकाइ प्रक्रियामा सुधार ल्याउन औपचारिक-अनौपचारिक रूपमा गरिन्छ।
- निर्णयात्मक मूल्याङ्कन: सिकाइको अन्त्यमा उपलब्धि निर्धारण गर्दै प्रमाणपत्र प्रदान गरिन्छ।
ग) प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ?
विद्यार्थीले शैक्षिक उद्देश्यअनुरूप सफलता प्राप्त गरेको प्रमाण दिन प्रमाणपत्र दिने परीक्षा आवश्यक हुन्छ।
घ) पाठ्यक्रम´ र पृष्ठपोषण´ को अर्थ:
- पाठ्यक्रम: शिक्षण-सिकाइको लागि तयार गरिने पूर्ण योजना।
- पृष्ठपोषण: सहयोग पुर्याउने कार्य।
८. गाउँको विकासका लागि पर्यावरणमैत्री सडकको आवश्यकता स्पष्ट पार्दै साथीलाई लेखिएको चिठी:
मिति: २०७७-०१-०७
पोखरा, गण्डकी प्रदेश
नेपाल
प्रिय साथी,
आदरपूर्वक अभिवादन!
तिम्रो चिठी हिजो प्राप्त भयो। गाउँको विकासका लागि पर्यावरणमैत्री सडकको आवश्यकता स्पष्ट पार्न लेख्दै छु।
वातावरणले हाम्रो जीवनलाई सन्तुलनमा राख्छ। विकासका नाममा वातावरणलाई असर पुर्याउने कार्य गर्नु हुँदैन। सडक निर्माण गर्दा रुख कटान नगर्ने, धूलो व्यवस्थापन गर्ने, र सडक वरपर हरियाली कायम राख्ने उपायहरू अपनाउनुपर्छ।
यसैगरी, ठूला कारखानाहरू सडकको नजिक निर्माण नगरिनु उपयुक्त हुन्छ। यसले प्रदूषण कम गर्न मद्दत गर्दछ। गाउँको विकास वातावरणमैत्री रूपमा गर्न सकियो भने समाजको दीर्घकालीन उन्नति सम्भव हुन्छ।
आशा छ, पत्र पढेपछि आफ्नो विचार लेखेर पठाउनेछौ।
तिम्रो साथी,
रमेश प्रधान
९. साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई अभिनन्दन पत्र:
अभिनन्दन पत्र
श्री गोपाल मान ज्यू,
तपाईँले नेपाली साहित्यको अध्ययन र सिर्जनामा योगदान पुर्याउँदै देशको गौरव बढाउनुभएको छ। कविता, निबन्ध, कथा, र उपन्यासमार्फत साहित्य क्षेत्रलाई उजागर गर्ने तपाईँको प्रयास प्रशंसनीय छ।
तपाईँको सक्रियता, साधना, र प्रेरणादायी व्यक्तित्व सबैका लागि अनुकरणीय बनोस् भन्ने कामना गर्दै यो अभिनन्दन पत्र प्रदान गरिन्छ।
साहित्य समाज, नेपाल
१०. सामाजिक योगदानलाई कदर गर्दै सम्मान पत्र:
सम्मान पत्र
श्री गोपाल मान ज्यू,
तपाईँले सामाजिक समस्याहरूको समाधान र जनहितका लागि पुर्याउनुभएको योगदान उच्च सम्मानका लागि योग्य छ। सामाजिक सेवामा तपाईँको सक्रिय भूमिका प्रेरणादायी छ।
यस योगदानको कदर गर्दै यो सम्मान पत्र प्रदान गर्दछौँ।
बिराटनगर नगरपालिका, मोरंग
१. दिइएको अनुच्छेद पढी कुन कुन लेख्य चिह्न प्रयोग भएका छन् , पहिचान गर्नुहोस्:
उद्धरण चिह्न ( “ ” )
अर्धविराम चिह्न ( , )
विस्मयसूचक चिह्न ( ! )
अल्पविराम चिह्न ( , )
प्रश्नचिह्न ( ? )
२. दिइएका वाक्यहरुमा आवश्यक ठाउँमा आवश्यक चिह्न प्रयोग गर्नुहोस्:
क) मैले घर बाटो फूल मान्छे र गाडीहरुको चित्र बनाएको छु ।
सुधार: मैले घर, बाटो, फूल, मान्छे र गाडीहरुको चित्र बनाएको छु ।
ख) तिमी यहाँ बस चकचक नगर
सुधार: तिमी यहाँ बस, चकचक नगर ।
ग) हामीले सुखदुःख रातदिन जीवनमरण जस्ता आइरहने गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।
सुधार: हामीले सुख–दुःख, रात–दिन, जीवन–मरणजस्ता आइरहने–गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।
घ) तिमी र उसले के काम गर्यौ ।
सुधार: तिमी र उसले के काम गर्यौ?
ङ) अहा कति सुन्दर जीवन
सुधार: अहा! कति सुन्दर जीवन ।
च) अग्लो होचो टाढा नजिक वर पर आदि विपरीतार्थी शब्द हुन्
सुधार: अग्लो–होचो, टाढा–नजिक, वर–पर आदि विपरीतार्थी शब्द हुन् ।
छ) म तुरुन्तै फर्किहाल्छु उसले भन्यो
सुधार: “म तुरुन्तै फर्किहाल्छु,” उसले भन्यो ।
ज) मेरो देशको नाम हो नेपाल
सुधार: मेरो देशको नाम हो – नेपाल ।
झ) क्रियाहरुलाई कर्मप्रदानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ :
क) सकर्मक
ख) अकर्मक
सुधार: क्रियाहरुलाई कर्मप्रधानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ:
क) सकर्मक
ख) अकर्मक
ञ) उक्ति कथन दुई किसिमका हुन्छन् प्रत्यक्ष र अप्रत्यक्ष कथन
सुधार: उक्ति कथन दुई किसिमका हुन्छन् – प्रत्यक्ष र अप्रत्यक्ष कथन ।
ट) ले बाट द्वारा प्रथम विभक्ति हुन सक्छन्
सुधार: ले, बाट, द्वारा प्रथम विभक्ति हुन सक्छन् ।
ठ) मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन यो सुक्ति देवकोटाको हो
सुधार: “मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन।” यो सुक्ति देवकोटाको हो ।
ड) हरि तिमी के गर्दै छौ
सुधार: हरि! तिमी के गर्दै छौ?
३. उचित लेख्य चिह्नहरु प्रयोग गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस्:
ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन। मेरो जिपिए कति आउने होला? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको। बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो, “पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन्” भनेर। तर त्यतिबेला वास्ता गरिएन। राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो। न त फुटबल नै जितियो, न त पढाइमा नै ध्यान दिन सकियो। तर के नै बिगारेको छु र! (कोल्टे फेर्दै) धत! अब चिन्ता गरेर के फाइदा र? “निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ,” गुरुले भन्नुभएको थियो। त्यस्तै भएजस्तो छ। खैर, जे भयो भयो। अब चाहिँ यस्तो नगर्नुपर्ला। (बत्ती निभाउँछ र सुत्छ)
४. दिइएका चिह्नहरु प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस्:
ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन। मेरो जिपिए कति आउने होला? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको। बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो, “पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन्” भनेर। तर त्यतिबेला वास्ता गरिएन। राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो। न त फुटबल नै जितियो, न त पढाइमा नै ध्यान दिन सकियो। तर के नै बिगारेको छु र! (कोल्टे फेर्दै) धत! अब चिन्ता गरेर के फाइदा र? “निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ,” गुरुले भन्नुभएको थियो। त्यस्तै भएजस्तो छ। खैर, जे भयो भयो। अब चाहिँ यस्तो नगर्नुपर्ला। (बत्ती निभाउँछ र सुत्छ)