पाठ: ८ - आधुनिक कालको अर्थतन्त्र, कानून, संस्कृत र कलाकौशल
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) नेपालमा राणाकाल अघिको, राणाकालको, र राणाकाल पछिको कानुनी अवस्थाको समीक्षा गर्नुहोस्।
उत्तर:
एकीकरणपछि नेपालको शासन व्यवस्थामा अपराध गर्नेलाई मृत्युदण्ड, अङ्गभङ्ग, र जल सजाय दिइन्थ्यो। बहादुर शाहले कानुनी गुरु, परोहित, धर्माधिकारी, धर्मशास्त्र पढेका पण्डित, भारदार, भलाद्मी, र महाजन राखी धर्मशास्त्र तथा दशा, काल, परिस्थिति हेरि ताम्रपत्रमा लेखी राख्न भनी आदेश दिएका थिए। यसअनुसार न्याय सम्पादन गर्न अदालतमा जतिजना विचारशील आवश्यक पर्छ, त्यति जना राख्न सकिने व्यवस्था गरिएको थियो।
जङ्गबहादुरले युरोप भ्रमणबाट फर्किएपछि कानुनी शासन गर्नु आवश्यक छ भन्ने बुझेर वि.सं. १९१० मा मुलुकी ऐन जारी गरे। सो ऐनमा केही सुधार गरी वि.सं. २०२० मा राजा महेन्द्रले मुलुकी ऐन २०२० जारी गरे। सो ऐन समय सापेक्ष नभएको कारण नेपाल सरकारले वि.सं. २०७५ भदौ १ देखि लागू हुने गरी मुलुकी ऐन २०७४ जारी गर्यो। यस अन्तर्गत मुलुकी देवानी संहिता र फौजदारी संहिता रहेका छन्।
यसरी, नेपालमा प्रजातन्त्र प्राप्तिपछि वि.सं. २००७ साल को नेपालको अन्तरिम संविधान जारी भयो। सो अन्तर्गत राज्यलाई आवश्यक विभिन्न प्रकारका कानूनहरू निर्माण गरी कार्यान्वयनमा ल्याइयो। सर्वोच्च अदालतको स्थापना भयो। पञ्चायतकालमा जिल्ला तथा अञ्चल अदालतहरूको स्थापना गरियो।
यसरी देशमा कानुनी शासन पद्धतिको सुधार भयो, तर सर्वोच्च अदालतले दिएको न्यायप्रति चित्त नबुझे श्री ५ मा निवेदन हाल्न सक्ने र सर्वोच्च अदालतको निर्णय बदर गर्न सक्ने व्यवस्था थियो। पछिल्लो समय नेपालको सबैभन्दा ठुलो उपलब्धि भनेको नेपालको संविधान हो, जसले नेपाल र नेपाली जनताको राजनीतिक, कानुनी, आर्थिक, तथा सामाजिक मार्गदर्शन गर्छ।
(ख) नेपाली संस्कृतिमा आएको बदलाव र यसको सुधारका लागि भएका प्रयासहरू उल्लेख गर्नुहोस्।
उत्तर:
नेपालमा प्राचीनकालदेखि नै धार्मिक सहिष्णुता कायम थियो। शाह राजाहरू हिन्दू धर्मावलम्बी तथा आर्य संस्कृतिका अनुयायी थिए। मध्यकालमा विभिन्न मठ-मन्दिरहरूको निर्माण तथा जीर्णोद्धार गरिएका थिए। नेपाल हिन्दू अधिराज्यको रूपमा विश्वसामु चिनिन्थ्यो। वि.सं. २०६३ जेठ ४ को प्रतिनिधिसभाको घोषणापछि नेपाल धर्मनिरपेक्ष राज्य बन्न पुग्यो।
त्यस्तै, विभिन्न कुप्रथाहरू जातप्रथा, छुवाछुत, बोक्सी प्रथा, सती प्रथा, दास प्रथा आदि अन्त्य गरियो। सती पठाउनलाई मृत्युदण्ड दिने कडा कानुनी व्यवस्था गरियो। मान्छे किनबेच गरेर निशुल्क श्रममा लगाउने अमानवीय प्रथाको पनि अन्त्य गरियो।
सामाजिक व्यवहार सुधार ऐन २०३२ द्वारा विवाह लगायतका संस्कारमा फजुल खर्च, दाइजो, तडकभडक आदि नियन्त्रण गर्ने प्रयास गरिएको थियो। मुलुकी संहितामा परिमार्जन गर्दै आएको परिवर्तनअनुसार नेपालमा परम्परादेखि चलिआएका जात, धर्म, क्षेत्रअनुसारका चाडपर्व, जात्रा, नाच, गान, भाषा तथा भेषभूषाको प्रचलन अझै पनि पाइन्छ।
समयअनुसार केही परिवर्तन भए पनि सबैलाई आ-आफ्नो संस्कृतिको पालन गर्न र मौलिक पहिचान कायम राख्न स्वतन्त्रता प्राप्त छ।
(ग) नपाली कलामा परवतन शीषकमा एक लख तयार पानहोस ।
नेपाली कलामा परिवर्तन
नेपालमा परम्परागत वास्तुकला, चित्रकला, र संगीतकला निरन्तरता पाउँदै आएको थियो। लिच्छवि कालदेखि मल्लकालसम्म नेपाली कलाको उत्कृष्ट विकास भएको पाइन्छ। पृथ्वीनारायण शाहले हनुमान ढोका दरबार, नुवाकोट दरबार जस्ता संरचना परम्परागत शैलीमा निर्माण गर्न लगाएका थिए।
राणाकालमा भने युरोपेली वास्तुकला र भारतीय संगीतकला नेपाल भित्रिएको देखिन्छ। राणाहरूले सिंहदरबार, शीतल निवास, नारायणहिटी दरबार जस्ता भवनहरू युरोपेली शैलीमा निर्माण गराएका थिए। उनीहरूको दरबारमा मिथिला, हिन्दू, तथा उर्दू संगीतमा आधारित नृत्य र नाटकहरू प्रदर्शन गरिन्थ्यो।
वि.सं. २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि नेपाली गीत-संगीतको पुनः उत्थान भएको देखिन्छ। पञ्चायतकालमा स्थापना भएका नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानहरू नेपाली भाषा, साहित्य, र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान दिएका थिए।
हाल विश्वव्यापीकरणको प्रभावका कारण आधुनिक चित्रकला, संगीतकला, मूर्तिकला, र वास्तुकलाको अभ्यासले नेपाली मौलिक कला संकटमा परेको देखिन्छ।
नेपाली कला परम्परागत रूपमा मौलिकता बोकेको छ, तर आधुनिक प्रविधि र विश्वव्यापी प्रभावका कारण यसमा परिवर्तन आएको छ। नेपाली कलाको संरक्षण र संवर्द्धन आवश्यक छ ताकि यसले भविष्यमा पनि आफ्नो मौलिकता गुमाउन नपरोस्। नेपाली कला-संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सरकार, समाज, र नागरिक सबैको भूमिका महत्वपूर्ण छ।