पाठ: ७ तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण
१. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
(क) तथ्याङ्क तयारी भन्नाले के हो?
उत्तर: तथ्याङ्कलाई सफा तथा व्यवस्थित गर्न अनावश्यक तथा त्रुटियुक्त तथ्याङ्क हटाउने र शङ्कास्पद तथ्याङ्क पुनः परीक्षण गर्ने चरणलाई तथ्याङ्क तयारी भनिन्छ। विभिन्न उत्तरदाता वा स्रोतबाट प्राप्त तथ्याङ्क तथा सूचनालाई तालिका, सूची आदिमा प्रस्तुत गरी तथ्याङ्क प्रशोधनका लागि तयार पारिन्छ।
(ख) तथ्याङ्क विश्लेषण चरणलाई किन सबैभन्दा महत्वपूर्ण चरण भनिएको हो?
उत्तर: तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरूको विश्लेषण गरी त्यसको अर्थ निकाल्ने कार्य यस चरणमा गरिन्छ। तथ्याङ्कका नतिजा आफैंले मात्र कुनै अर्थ दिन सक्दैनन्, तसर्थ तिनीहरूको अर्थ र अनुसन्धान प्रश्नहरूसँगको सम्बन्धको आधारमा अनुसन्धानको निष्कर्ष निकाल्न आवश्यक हुन्छ। अनुसन्धानकर्ताले अत्यन्तै सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ। प्राप्त निष्कर्षका आधारमा योजना निर्माण लगायतका कार्यहरू गरिन्छ, त्यसैले यस चरणलाई अति महत्वपूर्ण मानिएको हो।
(ग) दुई गणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्प्युटर सफ्टवेयरको नाम उल्लेख गर्नुहोस्।
उत्तर:
- ATLAS.ti
- Nvivo
(घ) शाब्दिक प्रस्तुतीकरण भन्नाले के हो?
उत्तर: जानकारीलाई शब्द, वाक्य तथा अनुच्छेदमा प्रस्तुत गर्ने प्रक्रिया शाब्दिक प्रस्तुतीकरण हो। यस प्रकारको प्रस्तुतीकरणमा लेखकले जानकारीहरूलाई व्याख्या गर्न, पुष्टि गर्न र निष्कर्ष निकाल्न सक्छन्, त्यसैले यो निकै प्रचलित छ।
(ङ) तथ्याङ्क सङ्कलनपछि गरिनुपर्ने कार्यहरू अति महत्वपूर्ण हुन्छन्। यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस्।
उत्तर: तथ्याङ्क सङ्कलनपछि गरिनुपर्ने कार्यहरू अत्यन्तै महत्वपूर्ण हुन्छन् किनभने अनुसन्धान वा खोजका क्रममा सूचना तथा तथ्याङ्क सङ्कलन मात्र पर्याप्त हुँदैन। सङ्कलित सूचना तथा तथ्याङ्क सबै अनुसन्धानमा प्रयोगयोग्य नहुन सक्छन्। त्यसैले, प्राप्त गरिएका सूचना तथा तथ्याङ्कलाई सर्वप्रथम तयारी गरिन्छ, त्यसपछि प्रशोधन गरिन्छ, प्रशोधनपछि विश्लेषण गरी अनुसन्धान प्रश्नहरूको उत्तर निकालिन्छ। सम्पूर्ण कार्य सकेपछि तथ्याङ्क भण्डारण गरिन्छ र अन्त्यमा लक्षित समूहलाई तथ्याङ्कसम्बन्धी जानकारी दिन विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ।
(च) शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउन पाँच उपायहरू उल्लेख गर्नुहोस्।
उत्तर: शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउन पाँच उपायहरू निम्नानुसार छन्:
- लक्षित पाठकको दक्षता, आवश्यकता र चासोलाई ध्यानमा राखी उनीहरूलाई बुझ्न सजिलो हुने भाषा प्रयोग गर्नुपर्छ।
- जानकारीलाई बढी स्पष्ट पार्न लेखकले आफ्ना भावना तथा पक्षधरता देखाउने शब्द वा भाषा प्रयोग गर्नु हुँदैन।
- तथ्याङ्क तथा सङ्ख्या वा प्रतिशत प्रस्तुत गर्दा गल्ती हुन सक्ने भएकाले पुनरवलोकन गरी सच्याउनुपर्छ।
- लामो व्याख्या वा वर्णन गर्दा पाठकलाई मुख्य कुरा बुझ्न कठिन हुन सक्ने भएकाले सकेसम्म सरल र संक्षिप्त व्याख्या गर्नुपर्छ।
- एउटै बुँदालाई पटक–पटक दोहोर्याउँदा पाठकलाई दिक्क लाग्न सक्छ, त्यसैले अनावश्यक दोहोर्याइ नगर्नुपर्छ।
(छ) चित्रात्मक प्रस्तुतीकरणका पाँच प्रकारहरू उल्लेख गरी प्रत्येकको एक–एक फाइदा लेख्नुहोस्।
उत्तर: जानकारीलाई चित्र, चार्ट, ग्राफ आदि दृश्य माध्यममा प्रस्तुत गर्ने प्रक्रियालाई चित्रात्मक प्रस्तुतीकरण भनिन्छ। यसका पाँच प्रकारहरू निम्नानुसार छन्:
-
चार्ट
- (क) फ्लो चार्ट
- (ख) सङ्गठन चार्ट
- (ग) वृत्त चित्र
फाइदा: चार्टहरू शाब्दिक प्रस्तुतीकरणभन्दा कम स्थान र समयमै धेरै जानकारी देखाउन सक्षम हुन्छन्।
-
ग्राफ
- (क) स्तम्भ चित्र
- (ख) रेखा चित्र
फाइदा: ग्राफहरू परिमाणात्मक तथ्याङ्कलाई देखाउन मद्दत गर्छन्, जसले तुलना गर्न सजिलो हुन्छ।
-
तालिका (Table)
फाइदा: ठूलो मात्रामा परिमाणात्मक तथ्याङ्कलाई शाब्दिक रूपमा प्रस्तुत गर्दा बुझ्न कठिन हुन सक्छ, त्यसैले तालिकाले तथ्याङ्क व्यवस्थित र स्पष्ट रूपमा देखाउन मद्दत गर्छ।