पाठ: ४ लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष
१. तलका प्रश्नहरूको अत्यन्त छोटो उत्तर दिनुहोस्:
(क) बौद्धिक चोरी भन्नु भनेको के हो?
उत्तर: बौद्धिक चोरी भन्नु भनेको एउटा कपटपूर्ण कार्य हो, जहाँ कसैले अरूको काम (लेखहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू आदि) को नक्कल गर्छ र तिनलाई आफ्नो दाबी गर्छ। यस्ता चोरी गर्नेहरू प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन्। इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताको कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन्।
(ख) मानिसहरूले बौद्धिक चोरी गर्ने दुई कारणहरू लेख्नुहोस्।
उत्तर:
- शिक्षकहरूले विद्यार्थीहरूलाई गृहकार्य गर्दा इन्टरनेटको प्रयोग गर्न प्रोत्साहन गर्दा विद्यार्थीहरूले copy and paste गर्दा चोरी हुन्छ।
- शिक्षकहरूले उचित निगरानी नगर्नु तथा बिना जाँच यसलाई स्वीकार गर्नु।
(ग) जानाजानी गरिएको बौद्धिक चोरीका दुई उदाहरण दिनुहोस्।
उत्तर:
- अरूको कामलाई आफ्नो भनी प्रकाशित गर्नु।
- बजारबाट लेखरचना किनेर विद्यालय/विश्वविद्यालयमा बुझाउनु।
(घ) बौद्धिक चोरी गर्ने व्यक्तिलाई कस्तो कारबाही हुन्छ? एक उदाहरण दिनुहोस्।
उत्तर:
बौद्धिक चोरी गर्ने व्यक्तिलाई कडा कारबाही गरिन्छ। उदाहरणका लागि, एक विश्वविद्यालयको क्याम्पसमा प्राध्यापकहरू माथि बौद्धिक चोरीको उजुरी परेको थियो। त्यसपछि अनुसन्धान गर्न विश्वविद्यालयले एक वरिष्ठ प्राध्यापकको नेतृत्वमा अनुसन्धान टोली गठन गर्यो। छानबिन गर्दा केही उपप्राध्यापकहरूले आफ्नो लेखमा एक जना विदेशी अनुसन्धानकर्ताले गरेको अनुसन्धानको हुबहु नक्कल गरेको पाइयो।
अनुसन्धान टोलीले आफ्नो प्रतिवेदन बुझाएपछि विश्वविद्यालयको कार्यकारी समितिले आरोपीहरूलाई दुई वर्षसम्म कुनै अनुसन्धानगत गतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगायो। साथै, भविष्यमा यस्ता क्रियाकलाप दोहोरिएमा उनीहरूको प्राप्त गरेको शैक्षिक उपाधि खोसिने तथा विश्वविद्यालय सेवाबाट निष्कासन गरिने चेतावनीसमेत दिइयो।
(ङ) बौद्धिक चोरी एक अपराध हो। यस भनाइलाई उदाहरणसहित एक अनुच्छेदमा व्याख्या गर्नुहोस्।
उत्तर:
बौद्धिक चोरी एक अपराध हो, जहाँ कसैले अरूको काम (लेखहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू आदि) को नक्कल गर्छ र तिनलाई आफ्नो दाबी गर्छ। यस्तो चोरी गर्नेहरू प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन्। यो बौद्धिक सम्पत्तिको अधिकारको उल्लङ्घन हो। इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताको कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन्। कसैको मेहनत वा बौद्धिकतालाई अपहेलना गरी अरूको प्रतिभालाई आफ्नो दाबी गर्नु, लापरवाहीपूर्वक लेख्नु— यी सबै अरूको बौद्धिक सम्पत्तिको उल्लङ्घन हुन्। त्यसैले, बौद्धिक चोरी एक अपराध हो।
(च) बौद्धिक चोरीबाट बच्नका पाँच उपायहरू उल्लेख गर्नुहोस्।
उत्तर:
बौद्धिक चोरीबाट बच्न पाँच उपायहरू निम्नानुसार छन्:
-
उचित तरिकाले स्रोत उल्लेख गर्ने: अरूको बौद्धिक सम्पत्ति हामीले प्रयोग नगर्न पाउने होइन। यदि कुनै पुस्तक, इन्टरनेट, लेखक वा प्रकाशनबाट सूचना वा तथ्याङ्क लिइएको हो भने त्यसको स्रोत उल्लेख गर्नुपर्छ।
-
प्रूफरेडिङ (सम्पादन) गर्ने: आफैंले तयार गरेको प्रस्तावना, प्रतिवेदन वा लेख आफ्ना गुरु वा अन्य जानकारहरूलाई पढ्न दिएर उनीहरूको सुझावअनुसार सुधारेर मात्र विद्यालय वा कलेजमा बुझाउनुपर्छ। यसो गर्दा बौद्धिक चोरी हुने सम्भावना कम हुन्छ।
-
उद्धरण गर्ने: कुनै स्रोतबाट सूचना लिँदा उनीहरूको भनाइ जस्ताको तस्तै राख्नुपरेमा उद्धरण चिह्न (“...”) प्रयोग गरी उचित तरिकाले स्रोत उल्लेख गर्नुपर्छ। यसो गर्दा बौद्धिक चोरी मानिँदैन।
-
पुनर्लेखन गर्ने: अरूको भनाइ वा सूचना प्रयोग गर्दा सधैं उद्धरण चिह्न प्रयोग गर्नु राम्रो मानिँदैन। त्यसैले, त्यस्ता कुराहरूको मुख्य आशयलाई आफ्नै शब्दमा पुनर्लेखन गर्न सकिन्छ। तर, यस्तो गर्दा पनि स्रोत उल्लेख गर्नुपर्छ।
-
सन्दर्भ सामग्रीको सूची लेख्ने: आफ्नो लेख, प्रस्तावना वा प्रतिवेदनको अन्त्यमा सन्दर्भ सामग्रीहरूको सूची उल्लेख गर्नुपर्छ।