पाठ: ६ - संबेग व्यवस्थापन
(क) संबेग भन्नाले के बुझिन्छ?
उत्तर: कुनै वस्तु वा परिस्थितिप्रतिको चैतन्यपूर्ण मानसिक प्रतिक्रिया नै संबेग हो। प्रायः यस्ता मानसिक प्रतिक्रियासँगै शरीरका अन्य अङ्गहरू तथा व्यक्तिको व्यवहारमा पनि परिवर्तन आउँछ।
सुख, खुशी, उत्साह आदि सकारात्मक संबेगहरू हुन् भने दुःख, पीडा, रुष्टता आदि चुनौतीपूर्ण वा नकारात्मक संबेगहरू हुन्।
(ख) संबेग व्यवस्थापन भनेको के हो?
उत्तर: सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संबेगप्रति सचेत रहनु तथा तिनलाई रचनात्मक तरिकाले परिचालन गर्न सक्ने क्षमतालाई संबेग व्यवस्थापन भनिन्छ।
नकारात्मक संबेग ल्याउने सक्ने परिस्थितिप्रति आफ्नो संबेगलाई नियन्त्रण वा समायोजन गरी सकारात्मक तरिकाले अन्त्य गर्नुपर्छ।
झगडा हुन सक्ने परिस्थितिलाई प्रारम्भमै नियन्त्रण गर्नुपर्छ र यदि भइहाल्यो भने पनि सकेसम्म छिटो समाधान गर्नुपर्छ।
त्यस्तै, सकारात्मक संबेगलाई पनि नियन्त्रण गर्न आवश्यक छ, ताकि अति खुशी वा उत्साहित भएर हडबडीका कारण गल्ती नगरियोस्।
उदाहरणका लागि, कुनै खेलमा विजय प्राप्त गर्दा खुशी हुनु स्वाभाविक हो, तर अति उत्साहित भएमा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ र अर्को पटक पराजय हुन सक्ने सम्भावना बढ्छ।
संबेग व्यवस्थापन जीवनका लागि अत्यन्तै महत्वपूर्ण जीवनोपयोगी सीप हो।
(ग) किशोरावस्थामा सहपाठी समूह महत्त्वपूर्ण किन हुन्छ?
उत्तर: संबेग व्यवस्थापनका लागि मुख्यतः सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संबेगलाई नियन्त्रण गर्नुपर्छ र नकारात्मक संबेग ल्याउने परिस्थितिलाई पनि व्यवस्थापन गर्नुपर्छ।
यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छः
- अरूप्रति माया, दया भाव राख्ने।
- अरूले आफू प्रति गरेको कुनै पनि राम्रो कार्यका लागि कृतज्ञता व्यक्त गर्ने।
- अरूको अति आलोचना गर्नबाट जोगिने।
- आफूमा नकारात्मक सोच आएमा त्यसलाई चुनौती दिने र प्रमाण खोज्ने।
- आफूलाई मन पर्ने वा आफूले गर्न सक्ने काममा संलग्न हुने।
- आफ्ना वरपर भएका घटनाहरूलाई स्वाभाविक रूपमा स्वीकार गर्ने।
- जीवनका नकारात्मक पक्षहरूभन्दा सकारात्मक पक्षहरूमा ध्यान दिने।
(घ) योगाभ्यासमा के-के पर्छन्?
उत्तर: ध्यान तथा योगाभ्यासले कुनै वस्तु वा विचारमा ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ।
योगाभ्यासमा प्राणायाम, आसन तथा आराम गर्ने तरिकाहरू समावेश गरिन्छ भने ध्यानमा कुनै एक कुरामा ध्यान केन्द्रित गरिन्छ।
योगाभ्यास अन्तर्गत अनुलोम-विलोम, भ्रस्त्रिका, कपालभाति जस्ता प्राणायाम तथा भुजङ्गासन, मकरासन, धनुरासन, वज्रासन आदि आसन पर्दछन्।
(ङ) संबेग व्यवस्थापन गर्न पाँच वटा उपाय लेख्नुहोस्।
उत्तर: संबेग व्यवस्थापनका उपायहरू निम्नानुसार छन्:
- संबेगसँग सम्बन्धित कार्यहरू ठिक वा बेठिक छुट्याएर आफू योग्य वा अयोग्य भएको थाहा पाउनु।
- नियमित रूपमा आफ्नो भावनालाई अवलोकन गर्ने र क्रोधलाई आक्रमणमा जानबाट रोक्न प्रयास गर्ने।
- नियमित रूपमा शारीरिक व्यायाम गर्ने।
- एकान्तमा बसिरहनेभन्दा अरूसँग कुराकानी गर्ने र समूहमा रमाउने।
- आफूलाई मन पर्ने वा आफूले गर्न सक्ने काममा संलग्न हुने।
- आफ्ना वरपर भएका घटनाहरूलाई स्वाभाविक रूपमा स्वीकार गर्ने।
- कोठाभित्र बसिरहनेभन्दा केही समय बाहिर बिताउने बानी बसाल्ने।
- सम्भव भए जति महत्वाकाङ्क्षा मात्र राख्ने, अति महत्वाकाङ्क्षा नराख्ने।
(च) किशोरावस्थामा संबेग नियन्त्रणका लागि योगाभ्यास विषयमा एक सम्पादकीय लेख्नुहोस्।
उत्तर:
सम्पादकीय
जनसा भट्टराई
योग तथा ध्यानले किशोरावस्थाको संबेग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ।
योगाभ्यासमा प्राणायाम, आसन तथा आराम गर्ने तरिकाहरू सिकाइन्छन् भने ध्यानमा कुनै एक कुरामा ध्यान केन्द्रित गरिन्छ।
अनुलोम-विलोम, भ्रस्त्रिका, कपालभाति जस्ता प्राणायाम तथा भुजङ्गासन, मकरासन, धनुरासन, वज्रासन आदि आसनहरू उपयोगी मानिन्छन्।
ध्यान तथा योगाभ्यास गर्दा निम्न फाइदाहरू प्राप्त हुन्छन्:
- ध्यान तथा योगाभ्यासले कुनै वस्तु वा विचारमा ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ।
- शारीरिक तथा मानसिक सतर्कता बढाउँछ।
- चिन्ता, रुष्टता जस्ता नकारात्मक संबेगहरूलाई कम गर्छ।
- दिमागलाई शान्त बनाई स्मरणशक्ति बढाउँछ।
- अनुशासित र नम्र बनाउँछ।
- आत्मबोध गर्ने क्षमता बढाउँछ।
- श्वास-प्रश्वास प्रक्रियालाई सामान्यीकरण गरी नियमित बनाउँछ।
- अक्सिजनको अधिकतम उपयोग गराउँछ।
- शरीरलाई बढी लचकदार बनाउँछ।
- शरीरको कार्यक्षमता बढाउँछ।
त्यसैले, किशोरावस्थामा संबेग नियन्त्रणका लागि योगाभ्यास अत्यन्तै महत्वपूर्ण छ।