पाठ: ५ सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन
१. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
(क) समस्या पहिचान भन्नाले के हो?
उत्तर: समस्या पहिचान भन्नाले कुनै पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक र उपयुक्त कुनै अवधारणा पहिचान गर्नुलाई बुझिन्छ। हाम्रो समाजमा अनगिन्ती समस्या, घटना र अवधारणाहरू रहेका छन्। समस्या निर्माण गर्दा ती समस्याहरू शैक्षिक रूपमा अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् कि छैनन् भनेर निर्धारण गर्नुपर्छ।
(ख) समस्या पहिचान गर्दा कुन-कुन कुरामा ध्यान दिनुपर्छ?
उत्तर: समस्या पहिचान गर्दा ती समस्याहरू शैक्षिक रूपमा अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् कि छैनन् भनेर निर्धारण गर्नुपर्छ। अनुसन्धान गर्ने समस्या बिल्कुलै नयाँ हुनुपर्छ। अरू कसैले पहिल्यै गरेको कार्य दोहोरिनु हुँदैन। पहिल्यै गरिएको कार्य दोहोर्याउन परेमा अध्ययन विधि, समय र परिस्थिति मध्य कुनै वा सबै फरक गर्नुपर्छ।
(ग) परिमाणात्मक अध्ययन पद्धति भन्नाले कस्तो विधि हो?
उत्तर: प्राप्ताङ्क, तौल, उमेर आदि संख्यात्मक सूचनाहरू सङ्कलन गरि विश्लेषण गर्दा तथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिने अनुसन्धान विधिलाई परिमाणात्मक अध्ययन पद्धति भनिन्छ। परिमाणात्मक अनुसन्धानमा सबैभन्दा प्रचलित विधि सर्वेक्षण हो।
(घ) क्षेत्र अवलोकन भन्नाले कस्तो विधि हो?
उत्तर: कुनै व्यक्ति, संस्था वा प्रक्रियालाई लामो समयसम्म हेरेर तथ्याङ्क सङ्कलन गर्ने विधिलाई अवलोकन भनिन्छ भने अवलोकनकर्ता आफैं उक्त प्रक्रियामा सहभागी भएर तथ्याङ्क सङ्कलन गर्ने विधिलाई क्षेत्र अवलोकन भनिन्छ।
(ङ) तपाईंको विद्यालय वा समुदायमा अनुसन्धान गर्न सकिने दुई समस्याहरू पहिचान गर्नुहोस्। ती समस्याहरू किन अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन्? कारण दिनुहोस्।
उत्तर:
हाम्रो विद्यालयमा अनुसन्धान गर्न सकिने समस्याहरू:
१) विद्यार्थीहरू बीच कक्षा छोड्ने प्रवृत्ति।
२) मातृभाषाका कारण नेपाली भाषामा पढ्न अप्ठेरो हुने समस्या।
यी समस्याहरू प्रायः सरकारी विद्यालयहरूमा देखिन्छन्। अभिभावकहरूमा सचेतना र शिक्षाको कमीका कारण छोराछोरीलाई नियमित रूपमा विद्यालय नपठाउनु, भविष्यको बारेमा चिन्ता नलिनु जस्ता कारणहरूले विद्यार्थीहरूले पढाइ छोड्ने प्रवृत्ति देखिन्छ। अशिक्षा, गरिबी, विद्यालयको टाढा स्थान आदि कारणहरूले पनि विद्यार्थीहरू पढाइ छोड्न बाध्य हुन्छन्। त्यसैले विद्यार्थीहरूलाई नियमित शिक्षामा आकर्षित गर्न, प्रोत्साहन गर्न र विद्यार्थी-मित्र वातावरण सिर्जना गर्न अनुसन्धान आवश्यक छ।
त्यस्तै, भाषाको समस्या मधेसी क्षेत्र, आदिवासी जनजातिहरूको अध्ययन क्षेत्रमा बढी देखिन्छ। मातृभाषाको प्रभावका कारण विद्यार्थीहरूले पढाएको कुरा नबुझ्ने, अलमलिने, माथिल्लो तहमा गए पनि सिकाइ उपलब्धि कम हुने, शिक्षकले पनि बुझाउन गाह्रो हुने जस्ता समस्याहरू देखिन्छन्। त्यसैले विद्यार्थी-मित्र शिक्षा प्रणालीको उपलब्धताको लागि अनुसन्धान गर्न जरुरी छ।
(च) परिमाणात्मक, गुणात्मक र मिश्रित अध्ययन पद्धतिबीच के फरक छ?
उत्तर:
परिमाणात्मक:
(१) परिमाणात्मक अध्ययन पद्धति प्राप्ताङ्क, तौल, उमेर आदि संख्यात्मक सूचनाहरू सङ्कलन गर्न र विश्लेषण गर्न तथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गर्ने अनुसन्धान विधि हो।
(२) परिमाणात्मक अध्ययन पद्धतिमा सबैभन्दा प्रचलित विधि सर्वेक्षण हो। यसको अर्को विधि डिजाइन विधि पनि हो।
गुणात्मक:
(१) गुणात्मक अध्ययन पद्धति मानिसको भावना, विचार, व्यवहार जस्ता कुराहरूको सूचना सङ्कलन गर्ने विधि हो भने ती सूचना संख्यात्मक रूपमा उल्लिखित गर्न सकिँदैन।
(२) गुणात्मक अध्ययन पद्धतिको महत्त्वपूर्ण विधि अन्तर्वार्ता विधि हो। यसमा दुई व्यक्तिबीच प्रत्यक्ष कुरा गरेर सूचना सङ्कलन गरिन्छ। अन्तर्वार्तामा विभिन्न प्रश्नहरू गरी सूचना सङ्कलन गरिन्छ। अन्तर्वार्ता गर्ने व्यक्तिले आवश्यक ठानेका प्रश्नहरू गरी सूचना सङ्कलन गर्छ।
मिश्रित:
(१) मिश्रित अध्ययन पद्धति परिमाणात्मक र गुणात्मक दुवै विधि प्रयोग गरेर अनुसन्धान गर्ने विधि हो।
(२) मिश्रित अध्ययन पद्धतिमा परिमाणात्मक र गुणात्मक अध्ययन पद्धतिमा प्रयोग गरिने विधिहरूको प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिन्छ।