पाठ: २ समालोचनात्मक चिन्तन
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) समालोचनात्मक चिन्तन भनेको के हो?
उत्तर:
"समालोचना" शब्द "सम" र "आलोचना" गरी दुई शब्दहरू मिलेर बनेको छ। यसरी गर्दा कुनै विषयवस्तु वा कार्यको राम्रा तथा नराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्यांकन गर्ने कार्यलाई समालोचनात्मक चिन्तन भनिन्छ।
विभिन्न विचारबीचको तार्किक सम्बन्ध बुझेर स्पष्ट र तर्कसङ्गत सोच्न सक्ने क्षमतालाई समालोचनात्मक चिन्तन भनिन्छ।
(ख) समालोचनात्मक चिन्तनअन्तर्गतका सिपहरूमध्ये तपाईंलाई कुन सबभन्दा महत्वपूर्ण लाग्छ? एक कारण दिनुहोस्।
उत्तर:
समालोचनात्मक चिन्तनअन्तर्गतका सिपहरूमध्ये मलाई विश्लेषण सिप सबभन्दा महत्वपूर्ण लाग्छ,
किनभने कुनै घटना, समस्या वा मुद्दासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्न, तिनलाई प्रशोधन गर्न तथा त्यसको प्रभाव वा नतिजाबारे विचार गर्न सक्ने क्षमतालाई विश्लेषण सिप भनिन्छ।
उदाहरणका लागि, यदि १० कक्षा पास गरेपछि कुन विषय पढ्ने भनेर समस्या छ भने, कुन विषय पढ्दा राम्रो हुन्छ? त्यसका लागि आवश्यक स्रोत-साधन के के चाहिन्छ? भन्नेबारे सूचना तथा तथ्याङ्क सङ्कलन गरी तिनको प्रभाव अनुमान गर्न सकिन्छ।
(ग) आत्मआलोचनालाई परिभाषित गर्नुहोस्।
उत्तर:
व्यक्तिले आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गरी भविष्यमा कमजोरी सुधारेर आफूलाई सबल र सफल बनाउन सहयोग पुर्याउने प्रक्रियालाई आत्मआलोचना भनिन्छ।
यस क्रममा व्यक्ति आफ्ना सबल तथा कमजोर पक्षहरूको समीक्षा गरी कमजोरी स्वीकार गरेर त्यसलाई सुधार गर्न पहल गर्छ।
(घ) आत्मआलोचना र स्वरूपान्तरणबीच के सम्बन्ध छ? छोटकरीमा लेख्नुहोस्।
उत्तर:
व्यक्तिले आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गरी कमजोरी सुधार्ने कार्यलाई आत्मआलोचना भनिन्छ। आत्मआलोचना गरेर मात्र मानिसले सफलता प्राप्त गर्न सक्छ।
त्यसका लागि आफ्ना कमजोरी हटाई आफू परिवर्तन हुनुपर्छ। आफैंमा सुधार गर्ने आवश्यक विचार, कार्य, तथा व्यवहार परिवर्तन ल्याउने प्रक्रियालाई स्वरूपान्तरण भनिन्छ।
(ङ) समालोचनात्मक चिन्तनको महत्वलाई पाँच वुँदामा लेख्नुहोस्।
उत्तर:
समालोचनात्मक चिन्तनको महत्व:
- कुनै मुद्दा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न मदत गर्छ।
- परिस्थितिको आकलन गर्न विभिन्न सिद्धान्त, परिभाषा, कानुन लगायतका कुराहरू निर्धारण गर्न सहायता गर्छ।
- व्यक्तिगत पक्षधरता, पूर्वाग्रहलगायत निष्कर्षमा प्रभाव पार्ने तत्वहरू हटाई उचित निष्कर्ष निकाल्न मदत गर्छ।
- सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरूलाई समेटेर असान्दर्भिक कुराहरू हटाउन सिकाउँछ।
- कुनै कुरा सत्य हो कि होइन भन्नेबारे प्रमाण खोज्ने सोचको विकास गर्छ।
(च) समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूको सूची बनाउनुहोस्।
उत्तर:
समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू निम्न छन्:
- विश्लेषण सिप: कुनै घटना, समस्या वा मुद्दासँग सम्बन्धित सूचना तथा तथ्याङ्क सङ्कलन गरी तिनलाई प्रशोधन गर्ने तथा त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप।
- अर्थ निर्माण सिप: सङ्कलित तथा प्रशोधित सूचना र तथ्याङ्कबाट अर्थ निकाल्ने क्षमता।
- निष्कर्ष अनुमान गर्ने सिप: उपलब्ध ज्ञान पर्याप्त र विश्वसनीय छ कि छैन मूल्यांकन गरी त्यसबाट प्राप्त हुने नतिजा अनुमान गर्ने सिप।
- व्याख्या गर्ने सिप: कुनै विचार, धारणा वा तथ्यलाई स्पष्ट रूपमा अरूलाई बुझाउने क्षमता।
- आत्मनियमन सिप: आफ्नो सोचाइको सही वा गलत परीक्षण गरी निरन्तर अनुगमन तथा नियमन गर्ने क्षमता।
- खुला सोचाइ सिप: आफ्नै विचार मात्र सही भन्ने पूर्वाग्रहबाट मुक्त भई अरूका विचार, भावना तथा चासोलाई ध्यानपूर्वक सुन्ने र स्वीकार्ने क्षमता।
- समस्या समाधान सिप: समालोचनात्मक चिन्तनको क्रममा अप्रत्याशित रूपमा आउने समस्याहरूलाई बुद्धिमत्तापूर्ण ढङ्गले समाधान गर्ने तथा विभिन्न प्रकारका द्वन्द्व व्यवस्थापन गर्ने क्षमता।
(छ) आत्मआलोचनाले व्यक्तिलाई कमजोर होइन, सबल बनाउँछ। यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर:
आत्मआलोचनाले व्यक्तिलाई कमजोर होइन, बरु सबल बनाउँछ, किनभने आत्मआलोचना गर्ने व्यक्तिले आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गरी भविष्यमै सुधार गर्न सक्छ।
यसले व्यक्तिलाई अरूको दृष्टिकोणबाट आफ्नो व्यवहारको समीक्षा गर्न मदत गर्छ।
त्यसैले आत्मसचेतना विकास गराएर व्यक्तिलाई समस्याको जरासम्म पुग्न र त्यसको समाधान पत्ता लगाउन सक्षम बनाउँछ।