पाठ: ५ अन्तरप्रादेशिक सम्बन्धका आयामहरू
तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) अन्तरप्रदेशको अवधारणा स्पष्ट पार्नुहोस्।
उत्तर: नेपाल विविधतालमा भरिपूर्ण देश हो। नेपालको प्रदेशहरू प्राकृतिक स्रोत, वातावरण, सामाजिक-सांस्कृतिक तथा आर्थिक आधारमा अन्तरसम्बन्धित छन्। एक प्रदेशबाट अर्को प्रदेशमा व्यक्तिको आवागमन, यातायात सञ्चालन र वस्तु तथा सूचना सञ्चारका लागि कुनै बाधा वा अवरोधको अवस्था रहँदैन। नेपालमा प्रदेशहरू प्राकृतिक स्रोत, वातावरण, सामाजिक-सांस्कृतिक, आर्थिक, यातायात र सञ्चारका आधारमा अन्तरसम्बन्धित छन्।
प्रदेशहरूको सीमांकन नदी र जलाधार क्षेत्रका आधारमा गरिएको छ। यसले प्रदेशको भौगोलिक, पर्यावरणीय र सामाजिक-सांस्कृतिक विशेषतालाई स्पष्ट पारेको छ। कतिपय प्रदेशको एउटै साझा नदी छ। नदीको पानी उपयोग गर्ने सवालमा प्रदेशबीच विवाद उत्पन्न हुन सक्छ। एक प्रदेशबाट अर्को प्रदेशमा सहज रूपमा यातायात र वस्तु निकासीमा अवरोध आउन सक्छ। त्यसैले यी समस्याहरूलाई सम्बोधन गर्न अन्तरप्रादेशिक सम्बन्ध आवश्यक पर्छ। यही कारण अन्तरसम्बन्धको अवधारणा स्थापित गरिएको हो।
(ख) नेपालमा अन्तरप्रादेशिक सम्बन्धमा भएको कानुनी व्यवस्थाको औचित्य पुष्टि गर्नुहोस्।
उत्तर: नेपालको संविधानको भाग ५ मा राज्यको संरचना र राज्य शक्तिको बाँडफाँट तथा भाग २० मा सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धको व्यवस्था गरिएको छ। संविधानको धारा २३२ मा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने उल्लेख छ। राष्ट्रिय महत्वका विषयमा नेपाल सरकारले संविधान र सङ्घीय कानुन बमोजिम आवश्यक निर्देशन दिन सक्छ, र त्यसको पालना गर्न सम्बन्धित प्रदेशको कर्तव्य हुने व्यवस्था गरिएको छ।
नेपालको संविधानले प्रदेश-प्रदेशबीचको सम्बन्धका लागि निम्न कानुनी व्यवस्थाहरू गरेको छ:
(अ) एक प्रदेशले अर्को प्रदेशको कानुनी व्यवस्था वा न्यायिक एवम् प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नुपर्नेछ।
(आ) एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितका विषयमा सूचना आदान-प्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य र अध्ययनका बारेमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्नेछ।
(इ) एक प्रदेशले अर्को प्रदेशका बासिन्दालाई आफ्नो प्रदेशको कानुन बमोजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनुपर्नेछ।
(ग) प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग नीतिका मुख्य बुँदा उल्लेख गर्नुहोस्।
उत्तर: प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोगका नीतिहरू निम्नानुसार छन्:
- हरियाली जोगाउन कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्राङ्गारिक कृषि उत्पादन, पर्यटन, जडीबुटी तथा जलविद्युतलाई अघि सार्न सकिन्छ।
- गण्डकी प्रदेशमा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न अतिथि सत्कार गृह सञ्चालन गर्न सकिन्छ।
- बागमती प्रदेश र प्रदेश नं. १ मा तरकारी तथा पोल्ट्री व्यवसायको विस्तार र प्रवर्द्धन गर्न सकिन्छ।
- प्रदेश नं. २ र लुम्बिनी प्रदेशमा मत्स्यपालन व्यवसायबाट तुलनात्मक लाभ लिँदै वातावरण संरक्षण र संवर्द्धन गर्न सकिन्छ।