पाठ: ५ आत्मबोध
१. तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्:
(क) आत्मबोध भन्नाले के हो?
उत्तरः आत्मबोध भन्नाले आफूमा ध्यान दिएर आफ्ना विचार, भावना तथा कार्यहरू आफ्ना आन्तरिक मूल्य–मान्यताहरू संग मेल खान्छन् कि खाँदैनन् भन्ने मूल्यांकन गर्नु बुझिन्छ। आत्मबोध गर्न सक्ने व्यक्तिले अरूको दृष्टिकोणबाट आफूलाई हेरर आफ्ना विचार, भावना र कार्यहरूको उचित मूल्यांकन गर्छ। त्यसका आधारमा आफ्ना स्वभावलाई नियन्त्रण गर्न र तीलाई आफ्ना मूल्य–मान्यतासँग मिलाएर समायोजन गर्न सक्छ।
(ख) आत्मबोधको महत्व दुई वाक्यमा लेख्नुहोस्।
उत्तरः आत्मबोध नभएको व्यक्ति कुनै पनि समूह, संस्था वा संगठनको असल नेतृत्वकर्ता हुन सक्दैन। असल नेतृत्वकर्ता बन्नका लागि आत्मबोध गर्न आवश्यक छ। आत्मबोधको महत्व निम्नानुसार छन्:
- आफूले के राम्रो गर्न सक्छ र के सुधार गर्न आवश्यक छ भन्ने बुझ्न मद्दत गर्छ।
- आफ्ना विचार र कार्यलाई आफ्नो आदर्शसँग मिलाएर खुशी जीवन जिउन सहयोग गर्छ।
- आफ्ना स्वभाव पहिचान गर्न तथा आफूलाई कम मन पर्ने कामहरू कम गरेर तनाव कम गर्न मद्दत गर्छ।
(ग) आत्ममूल्यांकन भन्नाले के बुझिन्छ, लेख्नुहोस्।
उत्तरः आफ्ना व्यक्तिगत कार्य र तिनको परिणामलाई व्यवस्थित रूपमा अवलोकन र विश्लेषण गरी तिनलाई मूल्यांकन गर्ने प्रक्रियालाई आत्ममूल्यांकन भनिन्छ। यो प्रायः औपचारिक रूपमा गरिने भएकाले लेखित रूपमा गर्ने चलन छ। यसलाई व्यक्तिगत तथा संस्थागत रूपमा गर्न सकिन्छ। यसमा व्यक्तिलाई संस्थाको स्थापित लक्ष्य प्राप्तिमा उसको सफलता, कार्यदक्षता र कार्यसम्पादनको स्तर निर्धारण गर्न लगाइन्छ। आत्ममूल्यांकन व्यक्तिका लागि आफ्ना कमी–कमजोरी थाहा पाउन तथा तिनलाई सुधार गर्न महत्त्वपूर्ण अवसर हो। यसका लागि व्यक्तिमा आत्ममूल्यांकन गर्ने क्षमता वा दक्षता हुनुपर्छ।
(घ) आत्मबोधका तरिकाहरूबारे छोटकरीमा लेख्नुहोस्।
उत्तरः व्यक्तिले आत्मबोध सीप विकास तथा अभ्यास गर्नका लागि मुख्य रूपमा निम्न लेखिएका उपायहरू अपनाउन सक्छ:
- ध्यान गर्ने: योगाभ्यास तथा ध्यान गर्दा मानिसले आफूलाई मूल्यांकन गर्ने मौका पाउँछ। ध्यानको समयमा "मेरो लक्ष्य के हो?" "के मेरा क्रियाकलाप मेरो लक्ष्य प्राप्तिमा सहयोगी छन्?" जस्ता प्रश्नहरूमा आफ्नो मस्तिष्कलाई केन्द्रित गर्नुपर्छ। दैनिक रूपमा केही समय ध्यान गर्न वा एकान्तमा बस्दा आत्मबोध गर्न सजिलो हुन्छ।
- लेख्ने: आफ्ना मुख्य योजनाहरू र प्राथमिकताहरू एउटा डायरीमा लेख्ने तथा समय समयमा त्यसलाई समीक्षा गर्दा आफ्ना सबल पक्ष र कमजोरी पक्ष पत्ता लगाउन सकिन्छ। डायरीमा लेख्दा आफ्ना योजनाबारे सचेत हुन सकिन्छ।
- मनोमापन परीक्षण गर्ने: आफ्नो आत्मबोधको स्तर नाप्नका लागि सङ्ख्यात्मक तथा शब्दात्मक परीक्षण गराउँदा आत्मबोधको स्तर पत्ता लगाई सुधार गर्न मौका पाइन्छ।
- विश्वासिला साथीहरूलाई सोध्ने: आफ्ना सबै कमी–कमजोरीहरू आफैँले पत्ता लगाउन गाह्रो हुन्छ। यस्तो अवस्थामा आफ्ना विश्वासिला साथीहरू तथा आफूभन्दा वरिष्ठ व्यक्तिबाट प्रतिक्रिया लिनुपर्छ।
(ङ) आत्ममूल्यांकनको महत्व पाँच वाक्यमा लेख्नुहोस्।
उत्तरः आत्ममूल्यांकन गर्दा व्यक्ति तथा संस्थालाई फाइदा हुन्छ। यसले व्यक्तिका कमजोरी पत्ता लगाई तिनलाई सुधार गर्न मद्दत गर्छ, जसले कार्यसम्पादन वृद्धि गर्न मद्दत गर्छ। आत्ममूल्यांकनको महत्व निम्नानुसार रहेका छन्:
- व्यक्तिलाई आफूलाई मूल्यांकन गर्न सहयोग गर्छ, जसले उसलाई आत्मबोध गराउँछ।
- आफ्नो अनुगमन आफैँ गर्न सक्ने भएकाले उच्च मनोबलका साथ कार्य गर्न मद्दत गर्छ।
- व्यक्तिको कार्यदक्षता सुधार गर्न सहयोग गर्छ।
- संस्थाका कर्मचारीहरूबीच एक–आपसबाट सिक्ने बानीको विकास गर्न मद्दत गर्छ।
- सहकार्यात्मक कार्यप्रति उत्प्रेरणा जगाउन मद्दत गर्छ।
- कर्मचारीहरू नयाँ विधि तथा प्रविधिको खोजी गर्न र प्रयोग गर्न प्रेरित हुन्छन्।
(च) आत्ममूल्यांकनले व्यक्तित्व विकासमा कसरी सहयोग पुर्याउँछ?
उत्तरः आत्ममूल्यांकनले व्यक्तित्व विकासमा निम्न तरिकाबाट सहयोग पुर्याउँछ:
- आफ्नो अनुगमन आफैँ गर्न सक्ने भएकाले उच्च मनोबलका साथ कार्य गर्न सहयोग गर्छ, जसले व्यक्तित्व विकासमा मद्दत गर्छ।
- संस्थाका कर्मचारीहरूबीच एक–आपसबाट सिक्ने बानीको विकास गर्न सहयोग गर्छ, जसले व्यक्तित्व विकासमा योगदान गर्छ।
- आफूले नयाँ विधि तथा प्रविधिको खोजी गर्छ, जसले व्यक्तित्व विकासमा सहयोग गर्छ।
- आफ्ना कमजोरीहरूप्रति कठोर भएर सत्य पत्ता लगाउन आत्ममूल्यांकनले सहयोग गर्छ।