पाठ: ४ - दैनिक जीवनमा दर्शनको उपयोगिता
तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) दर्शन बौद्धिक साथै प्रयोगात्मक विद्या पनि हो कसरी? कारण उल्लेख गर्नुहोस्।
उत्तर: दर्शन बौद्धिक साथै प्रयोगात्मक विद्या पनि हो। दर्शन भनेको केवल पठनपाठन मात्र गर्ने र दैनिक जीवनमा प्रयोग नभएको कुरा होइन। दर्शनमा चिन्तन पद्धतिका साथै जीवन पद्धतिका लागि पनि मार्गनिर्देशन पाइन्छ। त्यसैले दर्शनको उपयोगिता बौद्धिक विचार विमर्श एवं प्राज्ञिक चिन्तनका साथै व्यवहारिक जीवनमा पनि रहेको छ।
दर्शनमा मानव जीवनका व्यवहारिक पक्षसँग जोडिएका विज्ञान, अनुभव र अनुभूति पनि सरोकारका विषयवस्तु हुन्। दर्शनको उदय र विकास मानवका जीवन मागबाट नै भएको हो। दर्शन अन्तर्गत विश्लेषण गरिने विषयवस्तुले मानव जीवनका विविध पक्षलाई थप उजागर गर्छन्।
दर्शनको अध्ययनले मानव जीवनको महत्त्व, कर्तव्य र लक्ष्यबारे स्पष्टता आउँछ। त्यसैले दर्शनको अध्ययनले दैनिक जीवनमा गरिने क्रियाकलापहरूमा समेत प्रभाव पारिरहेको हुन्छ। थाहा पाएर वा नपाएर प्रत्येक व्यक्ति कुनै न कुनै दर्शनको मान्यता अनुसार दृष्टिकोण, मान्यता एवम् धारणा बनाइरहेको हुन्छ।
दर्शनको व्यवस्थित अध्ययन नहुँदासम्म आफ्नो जीवन दर्शनबारे स्पष्टता नहुँदा व्यक्ति कतिपय अवस्थामा अन्योलमा रमाउन सक्छ। दर्शनको व्यवस्थित अध्ययनले तथ्यको पहिचान, तर्कको प्रयोग र समालोचनात्मक विचार गर्न सक्ने क्षमता विकास हुन्छ। यसरी आफ्नो जीवन दर्शन के हो भन्ने राम्रो ज्ञान भयो भने दैनिक जीवनमा गरिने क्रियाकलापहरू तथा समस्याको समाधानका लागि गरिने निर्णयहरू सुसंगत, व्यवस्थित एवम् नैतिक हुने सम्भावना बढी हुन्छ।
(ख) दैनिक जीवनका क्रियाकलापसँग दर्शन कसरी सम्बन्धित हुन्छ?
उत्तर: दैनिक जीवनमा दर्शनको सान्दर्भिकतालाई विभिन्न आयामबाट हेर्न सकिन्छ। सामान्य दैनिक व्यवहारका लागि पनि आवश्यक ज्ञानको स्रोत नै दर्शन हुन सक्छ। अन्य मानिसहरू, अन्य प्राणीहरू तथा प्रकृतिप्रति गरिने व्यवहारको आधार पनि जीवन दर्शन हो। जस्तो जीवन दर्शन हुन्छ, उस्तै विचार र व्यवहार हुन्छ भन्ने मान्यता छ।
दैनिक जीवनमा विभिन्न सवालमा ठीक र बेठीक, सही र गलतको निर्णय गर्नका लागि दृष्टिकोणको निर्माण आफ्नै मार्गनिर्देशक दर्शन अनुसार नै हुन्छ।
(ग) दैनिक जीवनमा दर्शनको उपयोगिताका केही उदाहरणहरू दिनुहोस्।
उत्तर: दैनिक जीवनमा दर्शनको उपयोगिता मुख्यत: सामान्य समस्या समाधानमा प्राप्त हुने ज्ञान तथा सोचसँग जोडिएको छ। दर्शनको अध्ययनले विभिन्न विकल्पहरूमध्ये बढी उपयुक्त विकल्प छनोट गर्न तथा सचेत भई निर्णय गर्न सक्ने क्षमता विकसित हुन्छ। सञ्चार दक्षता, अभिप्रेरणात्मक क्षमता र लेखन दक्षता पनि दर्शनका कारणले अभिवृद्धि हुन्छ।
व्यावहारिक प्रयोगात्मक क्षेत्रहरू पनि दर्शनसँग सम्बन्धित छन्। कुनै विषयमा मात्र केन्द्रित भएर अध्ययन गरेका विद्यार्थीहरूको तुलनामा दर्शनशास्त्रसहित अध्ययन गर्ने विद्यार्थीहरू उच्च शिक्षा तथा रोजगारीका लागि लिइने परीक्षाहरूमा बढी सफलता हासिल गरेको विभिन्न अनुसन्धानहरूबाट देखिएको छ। दर्शनको अध्ययनबाट सिकाइएका विधि तथा पद्धतिहरूलाई व्यवहारिक जीवनमा प्रयोग गर्न सकिन्छ। दर्शनको अध्ययनले उच्च शिक्षा तथा रोजगारीमा थप अवसर प्राप्त गराउँछ।