पाठ : २ नेपालमा सहरकरण
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्:
(क) नेपालको सहरकरणका मापदण्डको सूची बनाउनुहोस्।
उत्तर: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले संविधान बमोजिम स्थापना भएका नगरपालिकाहरू, उपमहानगरपालिका र महानगरपालिकालाई नगरपालिका भनेको छ। विभिन्न समयमा जारी भएका ऐन, नियमावली र कार्यविधिहरूले नगरपालिकाका लागि जनसङ्ख्याको आकार, पूर्वाधार विकास, वार्षिक खर्च आदिलाई भौगोलिक अवस्थिति अनुसार फरक-फरक मापदण्डमा तोकेको देखिन्छ।
(ख) नेपालमा सहरकरण वृद्धिको उल्लेख गर्नुहोस्।
उत्तर: नेपालमा सहरकरणको वृद्धिदर अन्य देशको तुलनामा निकै कम देखिन्छ। प्राचीनकालमा नेपालमा बस्तीहरू अत्यन्तै पातला र छरिएका थिए। त्यसबेला धेरै ठाउँमा सहरको विकास भएको थिएन। नेपालमा सहरको सुरुवात काठमाडौंबाट भएको मानिन्छ। काठमाडौं उपत्यका व्यापारिक मार्गसँग जोडिएको थियो।
काठमाडौं उपत्यका बाहिर पहाडी क्षेत्रहरूमा धर्म, गढी, किल्ला, कोटहरू लगायतका संरचनाहरू ठूला प्रशासनिक र व्यापारिक केन्द्रका रूपमा परिणत हुँदै गए। नेपालको एकीकरणपछि गौण तथा खल्गा जस्ता स्थानहरू प्रशासनिक केन्द्र बन्दै गए, जसले सहर विकासलाई गति दियो।
नेपालमा सहरकरणको जग कृषि अर्थतन्त्र र खानी बचतमा आधारित देखिन्छ। प्राचीन सहर विकासमा गैरकृषि व्यवसाय, मजदुरी विभाजन, सैनिक तथा प्रशासनिक सेवाको विस्तारले योगदान दिएको पाइन्छ।
प्राचीनकालमा सहरहरू डाँडामा तथा मुख्य आवतजावत गर्ने बाटो तथा व्यापारिक मार्गहरूमा विकसित भएका थिए। चतर, भीमफेदी, गाइघाट, बुटवल, कोइलावास आदि व्यापारिक मार्गमा बसेका प्राचीन सहरहरू हुन्।
यसपछि भारतीय रेलमार्ग विस्तार भएसँगै तराई क्षेत्रमा विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी आदि स्थानहरूमा बस्ती विस्तार हुँदै सहरहरू विकसित भए। यी सहरहरू नेपाल-भारत व्यापारको परिवहन विच्छेदन बिन्दुका रूपमा विस्तार भए।
सन् १९५० देखि १९६० को बीचमा औलो निर्मूल भएपछि पहाडबाट तराईमा बसाइँसराइले तीव्रता पायो। यसले नेपालमा सहरकरण प्रक्रियालाई गति दियो। प्रारम्भमा पूर्वी तराईबाट सहरकरण सुरु भएको थियो। यसपछि चितवन र लुम्बिनी क्षेत्रहरूमा पनि सहरकरण हुँदै गयो।
सन् १९७० को दशकमा पूर्व-पश्चिम राजमार्ग बनेपछि नेपालको सहरकरणमा नयाँ आयाम थपिएको देखिन्छ। पूर्व-पश्चिम राजमार्ग तथा अन्य मुख्य यातायात मार्गहरू निर्माण भएपछि नयाँ सहरहरू विकसित भए, जस्तै काकडभिट्टा, बिराटमोड़, दमक, इटहरी, बुटवल, अत्तरिया आदि।
हिमाली क्षेत्रका हवाई यातायातसँग जोडिएका स्थानहरू तथा जिल्ला सदरमुकामहरूमा साना सहरहरू विकास भएका छन्। कतिपय स्थानहरूमा जिल्ला सदरमुकाम स्थानान्तरण भएपछि पनि सहरहरू विस्तार भएका छन्। यातायात सञ्जाल, हवाई सेवा, अन्तर्राष्ट्रिय नाका आदिले गर्दा नेपालमा सहरकरणको वृद्धिदर अझै बढ्दो क्रममा छ।
(ग) यातायातको पूर्वाधार विकासले सहरकरणमा ल्याएको परिवर्तनको समीक्षा टिप्पणी गर्नुहोस्।
उत्तर: दिनानुदिन मानिसका आवश्यकताहरू बढ्दै जानु निरन्तर चलिरहने प्रक्रिया हो। विकासका लागि यातायात पूर्वाधार एक मुख्य आवश्यकता हो, जसले लामो दूरी सहज, सरल र छिटो बनाउँछ। यातायात सञ्जालमा पूर्वाधार विकासले गति लिनु नै सहरकरणको कारक तत्व हो।
उदाहरणका लागि, पूर्व-पश्चिम राजमार्ग बनेपछि नेपालको सहरकरणमा नयाँ आयाम थपिएको देखिन्छ। पूर्व-पश्चिम राजमार्गका मुख्य यातायात मार्गहरूसँगै नयाँ सहरहरू विकास भएका छन्। जस्तै, काकडभिट्टा, विराटमोड़, दमक, इटहरी, लहान, हेटौंडा, भरतपुर, बुटवल, कोहलपुर, अत्तरिया आदि सहरहरू राजमार्गसँगै निर्माण भएका हुन्।
यसैगरी, रेलमार्ग विस्तारसँगै सहरहरू विस्तार भएका छन्। जसका कारण आधारभूत आवश्यकतामा वृद्धि भई व्यापार-व्यवसाय मौलाउन थालेको छ, जसले रोजगारीका अवसरहरू सिर्जना गराएको छ।
त्यसैले, यातायात पूर्वाधारको विकासले नेपालमा सहरकरणमा दिनानुदिन परिवर्तन ल्याइरहेको छ।