पाठ: ४ समानुभूति
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस्
(क) समानुभूतिको अर्थ के हो?
उत्तर: समानुभूति शब्द "सम" र "अनुभूति" दुई शब्द मिलेर बनेको छ। यसको अर्थ "बराबर" र "अनुभूति" भन्नाले "अनुभव वा महसुस गर्नु" भन्ने बुझिन्छ। त्यसैले, समानुभूति भन्नाले अरूले भोगिरहेका भावनात्मक अनुभवलाई पहिचान गर्नु, बुझ्नु, र सो महसुस गरेर आफूले पनि त्यस्तै भावनात्मक अनुभव वा अनुभूति गर्न सक्ने क्षमतालाई बुझाउँछ।
(ख) समानुभूतिको दुई फाइदा लेख्नुहोस्।
उत्तर: समानुभूतिको फाइदाहरू निम्नानुसार छन्:
- समानुभूति भएका मानिसहरू बाल्यकालदेखि नै समाजमा मिलनसार हुन्छन्, जसले गर्दा साथीहरू, परिवार, तथा समाजमा सबैसँग राम्रो सम्बन्ध बनाउन सक्छन्।
- समानुभूति भएका व्यक्तिहरू कार्यस्थलमा पनि सकारात्मक प्रभाव पार्छन्। यसले कर्मचारी तथा व्यवस्थापकबीचको सम्बन्ध सुधार्न मदत गर्छ।
(ग) संज्ञानात्मक समानुभूतिको दुई उदाहरण दिनुहोस्।
उत्तर: संज्ञानात्मक समानुभूति भन्नाले अरूको भावनात्मक अनुभवलाई पहिचान गरी बुझ्ने क्षमतालाई जनाउँछ।
उदाहरणहरू:
- कसैको अनुहारमा आँसु देखेर ऊ दुःखी छ भन्ने बुझ्न सक्नु संज्ञानात्मक समानुभूति हो।
- कसैको हाँसो देखेर ऊ रमाइरहेको छ भन्ने थाहा पाउनु संज्ञानात्मक समानुभूति हो।
(घ) समानुभूतिको दुई तत्व उल्लेख गर्नुहोस्।
उत्तर: अमेरिकी लेखक Daniel Goleman का अनुसार समानुभूतिको मुख्य तत्वहरू निम्नानुसार छन्:
- अरूलाई बुझ्न सक्ने क्षमता:
- अरू व्यक्तिहरूको कुरा तथा गैरशाब्दिक सञ्चार (Non-verbal communication) लाई बुझ्ने क्षमता।
- उनीहरूको दृष्टिकोण बुझ्न, संवेदनशीलता देखाउन, र आवश्यक अनुसार सहयोग गर्न सक्ने क्षमता।
- अरूलाई विकास गर्न सक्ने क्षमता:
- अरूको आवश्यकताअनुसार सहयोग पुर्याउने।
- उनीहरूको क्षमताको विकासमा मदत गर्ने, आवश्यक सुझाव तथा जिम्मेवारी दिने।
(ङ) समानुभूतिको तत्वहरूको सूची बनाई दुई तत्वको परिचय दिनुहोस्।
उत्तर: समानुभूतिको तत्वहरू निम्नानुसार छन्:
- अरूलाई बुझ्न सक्ने क्षमता
- संवेदनशीलता देखाउने क्षमता
- अरूलाई विकास गर्न सक्ने क्षमता
- सामाजिक चेतना
- विविधताको सम्मान गर्न सक्ने क्षमता
दुई तत्वको परिचय
(i) अरूलाई बुझ्न सक्ने क्षमता:
अरूको कुरालाई ध्यानपूर्वक सुन्नु, उनीहरूको दृष्टिकोण बुझ्नु, संवेदनशीलता देखाउनु, र आवश्यक सहयोग गर्नु समानुभूतिको एक प्रमुख तत्व हो।
(ii) अरूलाई विकास गर्न सक्ने क्षमता:
अरूको आवश्यकताअनुसार सहयोग गर्ने, उनीहरूको सम्भावनालाई पहिचान गरी आवश्यक जिम्मेवारी दिने तथा प्रेरित गर्ने क्षमतालाई बुझाउँछ।
(च) संवेदनात्मक समानुभूति र दयालु समानुभूतिको उदाहरणसहित परिचय दिनुहोस्।
उत्तर:
- संवेदनात्मक समानुभूति: अरूको भावनात्मक अनुभव देखेर आफैं पनि त्यस्तै अनुभव गर्नु नै संवेदनात्मक समानुभूति हो।
- उदाहरण: चलचित्रमा कुनै पात्र दुःखी भएको देखेर आफू पनि दुःखी महसुस गर्नु।
- दयालु समानुभूति: अरूको भावनात्मक अनुभव बुझेर मात्र होइन, आवश्यक परेको अवस्थामा सहयोग गर्न सक्ने क्षमता दयालु समानुभूति हो।
- उदाहरण: भूकम्प प्रभावित क्षेत्रका पीडितहरूको दुःख महसुस गरी राहत सामग्री वितरण गर्नु।
(छ) समानुभूतिको विकास गर्न सकिने पाँच उपाय उल्लेख गर्नुहोस्।
उत्तर: समानुभूतिको विकास गर्न निम्न उपायहरू अपनाउन सकिन्छ:
- अन्य व्यक्तिहरूका विचार, चासो, संस्कृति आदिको जानकारी राख्ने।
- नयाँ व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने, नयाँ स्थान भ्रमण गर्ने।
- आफ्नो व्यवहारबारे परिवार, साथी तथा सहकर्मीहरूबाट प्रतिक्रिया लिने र आवश्यकतानुसार सुधार गर्ने।
- कुराकानी गर्दा अरूलाई सम्मान गर्ने, उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने।
- कथा, उपन्यास, समाचार लगायतका साहित्य अध्ययन गर्ने बानी बसाल्ने।