पाठ: ५ समाजमा आएका परिवर्तन र सामाजिक रूपान्तरण
तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) सूचना समाज भन्नाले के बुझिन्छ?
उत्तरः सूचनाको उत्पादन, प्रशोधन, भण्डारण तथा वितरण सम्बन्धी कार्य गर्छ, सूचना आधारित काममा प्रधानता हुन्छ, जसलाई सूचना समाज मानिन्छ। सूचनाको उत्पादन तथा वितरण नै समाज विकासका लागि निर्णायक शक्ति बनेका आधारमा वर्तमानका केही अवस्थालाई सूचना समाजका रूपमा नामाकरण गरिएको देखिन्छ।
सूचना समाजमा ज्ञान नै अर्थतन्त्रमा मूल तत्व रहन्छन्, जहाँ सचेत नागरिक रहन्छन्। त्यसगरी सूचना समाजमा विभिन्न ज्ञानवर्द्धक पढ्न, सुन्न र हेर्न सकिने सामग्री उत्पादन तथा वितरणलाई प्राथमिकता दिइन्छ।
सूचना समाजको परिप्रेक्ष्यमा डिजिटल प्रविधि तथा विद्युतिय उपनिवेशवादका सवाल पनि खडा भएका छन्। यसरी अन्त्यमा सूचना तथा सञ्चार प्रविधिमा बढी पहुँच भएका देशका धनी नागरिकको शक्ति झन् बढ्ने र त्यसमा कम पहुँच भएका देशका नागरिक पछाडि पर्ने भएकाले विभेद बढ्ने सम्भावनाप्रति चिन्ता गरिएको पनि एक सूचना समाजको विशेषता हो।
(ख) बसाइसराइले सामाजिक विविधतामा पार्ने प्रभावहरू विश्लेषण गर्नुहोस्।
उत्तरः बसाइसराइले ग्रामीण समाजको सामाजिक सम्बन्धमा प्रभाव पार्छ। यसले संयुक्त परिवार प्रणालीलाई कमजोर बनाउँछ। एकल परिवार बसाइ सरलीकरण गर्दै शहरमा स्थायी बसोबासका लागि जान्छन्। शहरका विभिन्न जाति र क्षेत्रका मानिसहरूका बीच आपसी सम्बन्धले नयाँ मूल्य मान्यता र मानसिकताको विकास गराउँछ भने पुराना मूल्य मान्यता तथा ग्रामीण रीति-थितिलाई विस्तारै परिवर्तन गर्दै जान्छ।
गाउँमा बुढापाका, महिला, तथा बालबालिकाहरू बसोबास गर्छन्। बच्चाको शिक्षा, स्वास्थ्य, वृद्ध आमाबुबाको स्वास्थ्य तथा इच्छाका कारणले विदेश गएका व्यक्तिका परिवार शहर वा सहरोन्मुख बस्तीहरूमा बसाइ सर्ने प्रवृत्ति बढ्न गई गाउँका जमिन बाँझो रहने, जनशक्तिको अभाव रहने जस्ता आर्थिक असमानता बढाउने समस्याहरू निम्तिन सक्छन्।
(ग) प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पार्ने सकारात्मक प्रभाव र नकारात्मक असर विश्लेषण गर्नुहोस्।
उत्तरः प्रविधिको प्रत्यक्ष प्रभाव दैनिक जीवन र समष्टिगत समाजमा पनि पर्छ। वर्तमान युगमा प्रविधिको प्रयोग अपरिहार्य छ। नयाँ प्रविधिमा पहुँच हुनु वा नहुनु अवस्थाले शिक्षा, रोजगारी तथा व्यक्तित्व विकासमा ठूलो अन्तर पार्छ।
कोरोना भाइरसका कारण लकडाउन तथा निषेधाज्ञाको समयमा प्रविधिमा पहुँच भएकाहरूले भर्चुअल पठनपाठन गरे भने प्रविधिमा पहुँच नभएकाहरू शैक्षिक क्रियाकलापबाट वञ्चित हुन पुगे। खुला विद्यालय तथा खुला विश्वविद्यालयको विकास प्रविधिका कारण सम्भव भएको छ। टेलीमेडिसिन पनि प्रविधिको सदुपयोगको अत्यन्त महत्वपूर्ण क्षेत्र हो। प्रविधिमाथिको निर्भरताले धेरै क्षेत्रमा श्रमिक जनशक्तिको आवश्यक सङ्ख्या कटौती गरेको छ। प्रविधिका कारण भविष्यमा रोजगारी गुम्ने र बेरोजगारहरूको सङ्ख्या बढ्ने चिन्ता पनि गरिन्छ।
नयाँ प्रविधिको प्रयोगसँगै परिवार, नातागोता तथा समाजका सम्बन्धहरू पनि नयाँ तरिकाले संरचित हुँदै गएका छन्। प्रविधिले धेरै क्षेत्रमा सहजता ल्याएको छ भने मानिसहरूका बीच प्रत्यक्ष संवाद तथा अन्तरक्रिया घटाएको छ। प्रविधिका कारणले मानिसहरू एकआपसमा सञ्चार गर्न र सामाजिक सञ्जालमा आबद्ध हुनसक्ने अवस्था बनेको छ।
एकातिर वास्तविक समाज छ भने अर्कोतिर भर्चुअल समाज पनि छ। एक व्यक्ति वास्तविक समाज र भर्चुअल सञ्जालमा रहने अवस्था पहिले थिएन। प्रविधिको विकाससँगै पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्ध तथा विश्व सम्बन्धमा आउने परिवर्तन कस्तो हुन्छ भन्ने अझै स्पष्ट हुन बाँकी छ। प्रविधिका कारण समाजमा आएका परिवर्तन र सामाजिक रूपान्तरणका अनेक आयाम छन्।