पाठ: ९ शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका
१. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
(क) प्राविधिक शब्दको छोटो परिचय दिनुहोस्।
उत्तर: प्राविधिक भनेको टेक्निकल लेखनको एक विशेष रूप हो। अनुसन्धानको प्रस्तावना तथा प्रतिवेदनमा प्रयोग गरिएका प्राविधिक शब्दहरूको परिभाषा उल्लेख गर्नुपर्छ। यस्ता शब्दहरूको सूचीलाई साहित्य पुनरावलोकनभित्र राख्न सकिन्छ।
(ख) पादटिप्पणी तथा अन्त्यटिप्पणीमा के फरक छ?
उत्तर: कुनै विषयवस्तुलाई थप जानकारी दिन वा प्रमाण अधिकारसम्बन्धी जानकारी दिन पृष्ठको तल दिइने विवरणलाई पादटिप्पणी (Footnote) भनिन्छ। यसका लागि मूलपाठमा भएका शब्दको पछाडि Superscript मा अङ्क दिइन्छ भने त्यही अङ्क पृष्ठको तलमा लेखी त्यसको पछाडि आवश्यक विवरण लेखिन्छ।
त्यस्तै, कुनै विषयवस्तु बारे थप जानकारी दिन प्रस्तावना, प्रतिवेदन वा लेखरचनाको अन्तमा दिइने विवरणलाई अन्त्यटिप्पणी (Endnote) भनिन्छ। यसका लागि मूलपाठमा भएका शब्दको पछाडि Superscript मा रोमन अङ्क (i, ii, iii ……) दिइन्छ भने त्यही रोमन अंक लेखरचनाको सन्दर्भ सूचीपछि लेखी त्यसको पछाडि आवश्यक विवरण राखिन्छ।
(ग) छोटो रूपको सूचीको परिचय दिई यसलाई तयार गर्दा ध्यान दिनुपर्ने तीन कुराहरू लेख्नुहोस्।
उत्तर:
अनुसन्धानको प्रस्तावना, प्रतिवेदन तथा लेखरचनामा शब्दावलीहरू पटक-पटक दोहोरिन्छन्, तिनलाई दोहोरिन नदिन शब्दावलीको छोटो रूप (Abbreviation) प्रयोग गर्नुपर्छ। त्यही छोटो रूपको शब्दावलीलाई छोटो रूपको सूची भनिन्छ।
छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूर्ण रूप र त्यसको पछाडि कोष्ठभित्र छोटो रूप राखिन्छ।
उदाहरण: पाठ्यक्रम विकास केन्द्र (पावके), निर्वाचन आयोग (निआ), त्रिभुवन विश्वविद्यालय (त्रिवि) आदि।
यसपछिको लेखाइमा मात्र छोटो रूप प्रयोग गर्न सकिन्छ, जसले लेखको लम्बाइ छोटो पार्न मद्दत गर्छ।
छोटो रूपको सूची तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू:
- छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूर्ण रूप लेखेर त्यसको पछाडि कोष्ठभित्र छोटो रूप राख्नुपर्छ। त्यसपछि मात्र छोटो रूप मात्र प्रयोग गर्नुपर्छ।
- लामो खालका लेखरचना (जस्तै: अनुसन्धानको प्रस्तावना, प्रतिवेदन आदि) मा छोटो रूपको छुट्टै सूची राख्नुपर्छ।
- यस्तो सूचीलाई तालिकाहरूको सूची (Table of Tables) र चित्रहरूको सूची (Table of Figures) भन्दा पछाडि राख्नुपर्छ।
- यी नभएको अवस्थामा विषयसूची (Table of Contents) पछि राख्न सकिन्छ।
- अंग्रेजी तथा नेपाली दुवै भाषामा छोटो रूप प्रयोग गरिएको भए, पहिला एउटा भाषाको सूची पूरा गरेपछि मात्र अर्को भाषाको सूची बनाउनुपर्छ।